बहसमा किराती सौन्दर्यशास्त्र

नेपालको बहुसांस्कृतिक चरित्रका सन्दर्भमा हाम्रो सौन्दर्य चिन्तनको विविधता हामी नेपालीको सम्पत्ति पनि हो । यसर्थ किराती सौन्दर्यशास्त्र जस्ता विविध सौन्दर्यशास्त्रले हामीलाई विखण्डन गर्ने, टुक्रयाउने होइन बरु यसले हामी नेपाली सौन्दर्य चिन्तनमा पनि धनी छौँ भनेर गर्व गर्ने र संसारभर हाम्रो मौलिक सौन्दर्य चिन्तनको चिनारी दिने अवसरका रूपमा गर्व गर्नुपर्दछ । किराती सौन्दर्यशास्त्रको कुरा गर्ने साथ जातिवादी भयो भनेर नाक खुम्च्याउने खास गरेर माक्र्सवादी चिन्तकहरूले यसलाई सकारात्मक रूपमा हेर्न आवश्यक छ । 

dhan-prashad-subediकवि जसराज किराती अध्यक्ष र भूपाल राई कावा अध्यक्ष रहेको किरात एकेडेमी नेपालले किराती सौन्दर्यशास्त्रको अवधारणा नामको पुस्तिका प्रकाशित गरी सौन्दर्यशास्त्रका क्षेत्रमा नयाँ बहसको आरम्भ गरेको थियो । पूर्व संस्कृति मन्त्री तथा माओवादी केन्द्रका नेता गोपाल किरातीको पहलमा ०६६ असारमा स्थापना गरिएको र सामान्यतः माओवादी पार्टी नजिकका सर्जकहरूको संलग्नता रहेको किरात एकेडेमीद्वारा प्रस्ताव गरिएको हुनाले प्रस्तुत किराती सौन्दर्यशास्त्रको अवधारणाका बारेमा माओवादी वृत्तभित्र र बाहिर यसका पक्ष र विपक्षमा चर्चा भएको पाइन्छ । माक्र्सवादी सौन्दर्यशास्त्रलाई मार्गदर्शक मान्ने माओवादी पार्टी सम्बद्ध सर्जकहरूबाटै किरात जस्तो जाति विशेषको सौन्दर्यशास्त्रको वकालत गरिनाले पार्टीभित्र अनौठो ठानिनु स्वाभाविक देखिन्छ भने विशुद्ध जातीय सौन्दर्यशास्त्रका पक्षधरहरूले भने यसलाई राजनीतिक चालबाजीका रूपमा लिन सक्ने पनि देखिन्छ । साथै सौन्दर्यशास्त्र भनेको निरपेक्ष र सार्वभोम ठान्नेहरूका लागि भने किराती सौन्दर्यशास्त्रको कुरा वाहियात र बेकामको बहस ठानेको देखिन्छ भने जातीय कुरा उठाउनै हुँदैन, जातीय कुरा उठ्यो कि चौपट भयो भन्ठान्नेहरूका लागि भने यसप्रकारको बहसबाट विखण्डन र जातीय द्वन्द्व निम्त्याउने खेलका रूपमा लिने गरेको समेत देखिन्छ । यी बाहेक सौन्दर्यशास्त्रलाई समाज, युग, जाति र वर्ग सापेक्ष हुन्छ भनेर बुझ्नेहरूका लागि र नेपालको परिवर्तित सन्दर्भलाई नजिकबाट बुझ्ने र परिवर्तनलाई आत्मसात् गर्न चाहनेका लागि भने यस अवधारणाबाट उत्साहित बनाएको देखिन्छ ।

किरात एकेडेमीबाट प्रस्तुत गरिएको किराती सौन्दर्यशास्त्रको अवधारणा कवि भूपाल राई संयोजकत्वमा तयार पारिएको छ । सो अवधारणामा किराती सौन्दर्यशास्त्रलाई माक्र्सवादी सौन्दर्यशास्त्रकै एउटा अभिन्न अंग भनिएको छ । यसमा किरातीहरू प्रकृति र पितृप्रति आस्थावान् रहने, श्रममा सौन्दर्य देख्ने, किरात समुदायमा रहेको लैंगिक विभेद र जातीय विभेद नरहेको जस्ता विशेषताले गर्दा किराती समुदायको सौन्दर्य चेतना वैज्ञानिक र भौतिकवादी प्रकारको भएको र यो माक्र्सवादी सौन्दर्यशास्त्रको नजिक रहेका उल्लेख गरिएको छ । यसमा किरात समुदायको प्राचीन ग्रन्थ मुन्धुम, कृषिकार्य तथा प्रकृतिको अनुकरण गरेर नाचिने सिलीलाई किरात सौन्दर्यशास्त्रको आधारका रूपमा लिइएको छ । यसमा राज्यको पुनर्संरचना हुँदा किरात गणराज्यको स्थापना हुने र त्यस गणराज्यको आफ्नै प्रकारको मौलिक सौन्दर्यशास्त्र पनि आवश्यक हुने उल्लेख गरिएको छ । यसमा किरात गणराज्य वर्णाश्रममा आधारित विशुद्ध जातीय गणराज्य हुँदैन, त्यस गणराज्यभित्र बसोबास गर्ने सबै जाति, भाषा, संस्कृति सबैको समान र समावेशी अधिकारको प्रत्याभूति हुने गरी किराती राष्ट्रियताको आधार निर्माण गरिने उल्लेख गरिएको छ । यसमा बाह्य रूपमा देखापर्ने साम्राज्यवाद र विस्तारवादसँग लड्ने र आन्तरिक रूपमा देखापर्ने आन्तरिक विस्तारवाद, सामन्तवाद, दलाल पूँजीपति र एकल जातीय अहंकारका विरुद्धमा उभिएर समग्र जातीय मुक्तिको शंखघोष गर्ने सिद्धान्त, मूल्य र मान्यता नै किराती सौन्दर्यशास्त्रको भाव र सार रहने उल्लेख गरिएको छ । यसमा किराती सौन्दर्य चेतनालाई संघीय गणतान्त्रिक नयाँ नेपालको चेतनाका रूपमा परिभाषित गरिएको छ । यसमा किराती सौन्दर्य चेतनामा अवैज्ञानिक, असान्दर्भिक र अव्यावहारिक पुराना मान्यताहरू खारेज गर्नुपर्ने, नयाँ उत्पादन शक्तिको विकास गरेर नयाँ उत्पादन–सम्बन्धहरू स्थापित गर्नुपर्ने, किराती सौन्दर्य चिन्तनका जनवादी र वैज्ञानिक मूल्यमान्यतालाई आत्मसात गर्दै अवैज्ञानिक र असान्दर्भिक मूल्य, मान्यताहरूको त्याग गरिनुपर्ने प्रस्ताव पनि गरिएको छ । यसप्रकार किराती जातिको आदर्श, मूल्य, मान्यता, संस्कार आदिमा रहेको सौन्दर्यमूल्यको अध्ययन गर्ने शास्त्रका रूपमा किराती सौन्दर्यशास्त्र नाम दिई यसलाई सौन्दर्यशास्त्रका प्रचलित सिद्धान्तमध्ये कुन चाहिँ सिद्धान्तको नजिक छ भन्ने कुराको छानबिन गरिएको छ ।

किराती सौन्दर्यशास्त्रको अवधारणा सार्वजनिक भएपछि सौन्दर्यशास्त्रका व्याख्याता र सौन्दर्यशास्त्री भनिनेहरू बीचमा तर्क, वितर्क र बहस सिर्जना भएको छ । यो अवधारणापत्रको पहिलो सार्वजनिकीकरणका प्रमुखअतिथि माक्र्सवादी सौन्दर्यचिन्तक चैतन्यले दलितको सौन्दर्यशास्त्र, महिलाको सौन्दर्यशास्त्र, कालाहरूको सौन्दर्यशास्त्र भए जस्तै किरातीहरूको पनि सौन्दर्यशास्त्र हुन्छ भनेर ठोकुवा गरिदिएकाले जात विशेषको अलग्गै सौन्दर्यशास्त्र हुँदैन भनेर भन्ने नैतिक आधार माक्र्सवादी सौन्दर्य चिन्तकमा रहन गएन देखिँदैन र माक्र्सवादले सौन्दर्यलाई निरपेक्ष र निर्वर्गीय वस्तु नमानी यसलाई सापेक्ष र वर्गीय मान्ने हुनाले कुनै पनि माक्र्सवादीले जाति विशेषको अलग्गै सौन्दर्य चिन्तन हुन्छ भन्ने कुरालाई इन्कार गर्न मिल्दैन । नेपाल जस्तो जातीय विविधता र जातीय उत्पीडन रहेको समाजमा स्वपहिचान र अस्तित्वका लागि कुनै जाति विशेषले आफ्नो हक, अधिकार र सौन्दर्यमुल्यको खोजी र स्थापित गर्ने काममा आफूलाई माक्र्सवादी क्रान्तिकारी भन्ने जोसुकैले सक्रिय सहयोग गर्न आवश्यक देखिन्छ । यसरी हेर्दा किराती सौन्दर्यशास्त्रको अवधारणा सार्वजनिक हुनु कुनै पनि माक्र्सवादीका लागि खुसीको विषय हुने देखिन्छ । यसमा कुनै जातिका सौन्दर्य चिन्तनमा रहेका असान्दर्भिक, अवस्तुवादी, अव्यवहारिक र प्रतिगामी विषयमा भने माक्र्सवादी सौन्दर्य चिन्तकहरूले खबरदारी गर्नु पर्दछ तर कुनै उत्पीडित जाति, समुदाय, वर्गका सौन्दर्य चिन्तनलाई निरुत्साहित गर्ने, माक्र्सवादका नाममा सौन्दर्य चिन्तनको बनिबनाउ र यान्त्रिक सूत्र प्रस्तुत गर्ने गरियो भने त्यो सच्चा माक्र्सवादी हुँदैन । आफूलाई माक्र्सवादी सौन्दर्य चिन्तक ठान्नेहरूको हाल बहसमा रहेका किराती सौन्दर्यशास्त्र, दलित सौन्दर्यशास्त्र आदिका बहसका सन्दर्भमा खेल्नु पर्ने भूमिका भनेको यस्ता बहसलाई निषेध गर्ने होइन, तिनलाई वैज्ञानिक र वस्तुवादी बनाउने प्रेरकका रूपमा रहुन आवश्यक देखिन्छ । किरात एकेडेमीले प्रस्तुत गरेको किराती सौन्दर्यशास्त्रको अवधारणाका बारेमा विभिन्न क्षेत्रका विद्वानहरूले बहस र अन्तक्र्रिया गरेका छन् । चैतन्य, निनु चापागार्इं, घनश्याम ढकाल, जगदीशचन्द्र भण्डारी, माणिकलाल प्रधान, ईश्वरचन्द्र ज्ञवाली, विजय सुब्बादेखि लिएर वैरागी काइँला, अभि सुवेदी, गोन्दिराज भट्टराई, कृष्ण धरावासीलगायतले यसका विषयमा बहस गरेका छन् । यीमध्ये अधिकांशले किराती सौन्दर्यशास्त्र नामको अलग्गै सौन्दर्यशास्त्र हुन्छ भन्ने स्वीकार गरेका छन् र केहीले भने जातीय नाममा अलग्गै सौन्दर्यशास्त्र हुने कुराको सोझै विरोध नगरे पनि सौन्दर्य चिन्तन भनेको सार्वभौम हो, त्यो जातीय आधारमा विभाजित हुन सक्तैन भन्ने आशयसहित यसप्रकारको जातीय कुराले नेपाली समाज र साहित्य–कलामा विखण्डन र पृथकतावादी सोच ल्याउने आशंका व्यक्त गरेका छन् ।

किराती सौन्दर्यशास्त्रको अलग्गै अस्तित्वलाई स्वीकार गर्ने विद्वानहरूमा त्यसको भाव र पक्षधरताका बारेमा भने फरक धारणा आएको पाइएको छ । यसमा मुख्यतः तीन थरी मान्यता देखिन्छ, (१) माक्र्सवादी मान्यता, जसअनुसार किराती सौन्दर्यशास्त्र उत्पीडित जातिको सौन्दर्यशास्त्र भएकाले यसको चरित्र माक्र्सवादसँग मिल्दोजुल्दो छ र यसमा रहेका अवैज्ञानिक चिन्तनको त्याग गर्दै यसका असल कुराको अनुसरण गर्नु पर्दछ भन्ने धारणा, (२) किराती सौन्दर्यशास्त्र केन्द्रभञ्जन अर्थात् केन्द्रको भत्काइपछि बन्ने अनेक केन्द्रका रूपमा लिँदै यो उत्तर आधुनिकतावादी भयो भन्ने धारणा र (३) विशुद्ध जातिवादी धारणा, यस अनुसार नेपालका आदिवासी जनजातिहरूले संस्कार, संस्कृति, धर्मको सौन्दर्य चिन्तनलाई अपरिवर्तित रूपमा प्रस्तुत गर्ने धारणा ।

उल्लिखित धारणाहरूमध्ये किरात एकेडेमीले प्रस्तुत गरेको अवधारणमा भने पहिलो (माक्र्सवादी) धारणा हो । नेपाल यतिबेला नयाँ सविधान जारी भई कार्यान्वयनको चरणमा छ । संविधानमा सबैलाई आफ्ना हक, अधिकार, पहिचान, मूल्य, मान्यता आदिको संरक्षण र संवद्र्धन गर्ने हक स्थापित छ । संविधानमा लेखिएर मात्र जनताका हक र अधिकार संस्थागत हुँदैनन् । यसका लागि जनता जागरुक हुनु पर्छ, भइरहनु पर्छ । यस सन्दर्भमा किराती सौन्दर्यशास्त्र जस्ता सौन्दर्य चिन्तन सम्बन्धी बहसलाई अस्वाभाविक भन्न मिल्दैन । यस प्रकारको बहस अन्य जाति, समुदायका बीचमा पनि हुन सक्छ । यसप्रकारको बहसले हाम्रो सौन्दर्य चिन्तन के हो भन्ने विषयलाई स्पष्ट पार्छ । नेपालको बहुसांस्कृतिक चरित्रका सन्दर्भमा हाम्रो सौन्दर्य चिन्तनको विविधता हामी नेपालीको सम्पत्ति पनि हो । यसर्थ किराती सौन्दर्यशास्त्र जस्ता विविध सौन्दर्यशास्त्रले हामीलाई विखण्डन गर्ने, टुक्रयाउने होइन बरु यसले हामी नेपाली सौन्दर्य चिन्तनमा पनि धनी छौँ भनेर गर्व गर्ने र संसारभर हाम्रो मौलिक सौन्दर्य चिन्तनको चिनारी दिने अवसरका रूपमा गर्व गर्नुपर्दछ । किराती सौन्दर्यशास्त्रको कुरा गर्ने साथ जातिवादी भयो भनेर नाक खुम्च्याउने खास गरेर माक्र्सवादी चिन्तकहरूले यसलाई सकारात्मक रूपमा हेर्न आवश्यक छ । यस्तो बहसलाई निषेध गरेर होइन, माओत्सेतुङले भने जस्तै सयौँ फूल फुल्न देऊको मान्यतालाई आत्मसात् गर्दै नेपाली मौलिक सौन्दर्यशास्त्रको निर्माण गर्दै त्यसलाई माक्र्सवादी सौन्दर्यशास्त्रसँग एकाकार गर्दा मात्र माक्र्सवादी सौन्दर्य चिन्तनको विकास हुन्छ भन्ने कुरा आफूलाई माक्र्सवादका पण्डित ठान्नेहरूले चाहिँ बुझ्नै पर्दछ ।

प्रतिक्रिया