कांग्रेसलाई बाघसँग दाँजेका ओलीले २४ घण्टाभित्रै भैँसीसँग दाँजे

KP_Oli copyकाठमाडौं, ११ असोज । एमालेका अध्यक्ष केपी शर्मा ओलीले सबैभन्दा ठूलो दल कांग्रेसलाई कुँडो खाएर अघाएको भैँसीको संज्ञा दिएका छन् ।एमाले अध्यक्ष ओलीले मुलुकमा केही भएकै छैन जसरी चुपचाप वस्नुले कांग्रेस पार्टी कुँडो खाएर अघाएको भैँसीभन्दा फरक नदेखिएको बताए । एमालेको प्रदेश नम्बर ३ कमिटीको पहिलो बैठकको सोमबार ललितपुरमा उद्घाटनका क्रममा ओलीले नेपाली कांग्रेस अहिले कालिदासको नाटकमा शकुन्तला बेहोसी बनेजस्तै देखिएको बताए ।

उनले देशको सबैभन्दा ठूलो पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण, संविधान संशोधन, संविधान कार्यान्वयनलगायत विषयमा कुनै टिप्पणी नगर्नु आश्चर्यको विषय भएको बताए । एमाले अध्यक्ष ओलीले छिमेकी मुलुक भारतमाथि नेपालमा विकास हुन नदिने र अस्थिरता कायम गर्न डरलाग्दो खेल खेलिरहेको आरोप लगाए । विभिन्न संस्था र दलहरूलाई प्रयोग गरेर भारतले नेपालको विरुद्धमा षड्यन्त्र गरिरहेको ओलीको आरोप छ ।

एमाले अध्यक्ष ओलीले मधेशवादी दलहरूले यसअघि गरेको आन्दोलन र मधेशवादी दलहरूले अगाडि सारेका संविधान संशोधनका विषय प्रायोजित भएको भन्दै प्रायोजित विषयका पछाडि लाग्दा मुलुकको हित नहुने बताए ।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सत्तारूढ दल कांग्रेस माओवादीले सरकारमा बसेर मनपरी गर्दा पनि मौन भएको बसेको आरोप लगाएका छन् । प्रधानमन्त्री दाहाल नेतृत्वको सरकारले मनपरी गरे पनि पहिलो पार्टीसमेत रहेको कांग्रेस भने चुपचाप बस्नु आश्चर्यजनक भएको उनले बताए ।

प्रतिक्रिया