पार्टी कांग्रेसको पुच्छर नबनोस्

paris_danda-Maoकाठमाडौं, ११ असोज । प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण र त्यसपछिको विकसित राजनीतिक परिस्थितिलाई लिएर सरकारको नेतृत्व गरेको माओवादी केन्द्रभित्र गम्भीर मतभेद उत्पन्न भएको छ । कांग्रेसको सहयोगमा सरकार बनाएर भारत र कांग्रेसका योजना पूरा गर्दै जाँदा पार्टीको पहिचान नै समाप्त हुने बिन्दुमा पुगेको भन्दै केही नेताहरूले चर्काे अवाज उठाएका छन् ।

‘जे जे मुद्दा लिएर जनयुद्धमा गएका थियौँ, हजारौँ सपुतहरूको बलिदानीपछि तिनै मुद्दाको हत्यारा माओवादी नै बन्दै छ’ सोमबारको सचिवालय बैठकमा नेताहरूको भनाइ उद्धृत गर्दै सचिवालयका एक सदस्यले भने, ‘जनयुद्ध थाल्दा भारतका विरुद्ध जे भनेका थियौँ अहिले भारतको सबैभन्दा खेलौना हामी हौँ भन्ने कुरा स्थापित हुन खोजिरहेको छ । तपाईं नेताहरू प्रधानमन्त्री र मन्त्री त हुनुहुन्छ, अब जनतामा हामी हाम्रो पार्टीलाई वामपन्थी भनेर जान्छौँ कि विस्तारवादीको सहयोगी दक्षिणपन्थी ?’

सरकारको नेतृत्वमा आफू बसे पनि मुद्दागत रूपमा कांग्रेसले लिड गरेको र जनतामा जाँदा पार्टी निरुत्तर बन्ने स्थिति आएको उनीहरूको गुनासो थियो । ‘भारतीय नम्बर प्लेटका गाडी, चलाउन दिन हुँदैन, हिन्दी सिनेमा बन्द गरिनुपर्छ भनेर जनयुद्ध सुरु ग¥यौँ’ ती नेताले बैठकलाई उद्धृत गर्दै भने, ‘आज लाज ढाक्नै नसक्नेगरी नेपालको संविधान संशोधन गर्छौं भनेर भारतमा लिखत गरेर आउने हाम्रै नेतृत्व भयो, नेपालको परराष्ट्र नीति भारत अनुकूल चलाउने दस्तावेजमा सही गर्ने पनि हाम्रै नेतृत्व भयो । जनताले हामीलाई के भन्लान् ?’

पार्टीको राजनीतिक लाइन नै कोल्याप्स भएको र माओवादी पहिचानबिहीन हुने खतरा बढेको उनीहरूले औँल्याए । बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहालले भने परिस्थिति नयाँ हुँदै जाँदा नयाँ भूमिका निर्वाह गर्नुपर्ने बताएका थिए । उनले माओवादी आन्दोलनको रूपलाई सारमा बुझ्ने गल्ती गर्न नहुने बताए ।

बैठकले आगामी कात्तिक १० र ११ गते राष्ट्रिय सम्मेलन गर्ने निर्णय गरेको छ । पार्टीलाई चुस्त बनाएर चुनावमा सफलता हासिल गर्न सम्मेलन गर्न लागेको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् । काठमाडौंमा हुने सम्मेलनलाई कसरी व्यवस्थापन गर्नेभन्ने बारेमा छलफल भएको प्रवक्ता भुसालको भनाइ थियो । प्रवक्ता भुसालले भने प्रधानमन्त्री दाहालको भारत भ्रमण फलदायी भएको र २ देशबीचको सम्बन्धमा सुधार आएको निष्कर्ष निकालिएको बताइन् ।

प्रतिक्रिया