धुर्मुस–सुन्तलीले ठड्याए ६५ वटै घर

giran-chourकाठमाडौं, ११ असोज । हास्यकलाकार जोडी सीताराम कट्टेल, कुञ्जना घिमिरे (धुर्मुस–सुन्तली)द्वारा निर्माणाधीन दोस्रो एकीकृत नमूना बस्तीका ६५ वटै घर ठडिएका छन् । बस्नका लागि तयार पारिएका ६५ वटा घर र सामुदायिक भवनको समेत संरचना निर्माणको काम सकिएको छ । करिब ३५ घरमा जस्ताको छानोसमेत लगाइसकिएको धुर्मुसले जानकारी दिए ।

घटस्थापनाका दिनसम्म हस्तान्तरण गर्ने योजनाअनुरुप काम भइरहे पनि दसैंअघि बस्ती हस्तान्तरण गर्न नसकिने धुर्मुसले बताएका छन् । उनले भने, ‘संरचनाको काम त सबै सकियो, ।’ जेठदेखि नै निरन्तर पानी परिरहेकाले वर्षाको असर बस्ती निर्माणमा परेको धुर्मुसको भनाइ छ । वर्षाका कारण कच्ची बाटो ग्राभेल गर्नु परेकाले २५ दिनसम्म बस्ती निर्माणको काम रोकिएको थियो भने बस्तीलाई पहिरो निरोधक बनाउने योजना अनुरूपको काम गर्दा पनि वर्षाले नै असर गरेपछि केही दिन काम स्थगित भएको थियो । निरन्तर वर्षा हुँदा घोलेका मसाला बगाउनेलगायत अन्य समस्याले गर्दा सोचेको समयमा बस्ती हस्तान्तरण गर्न नसकिने उनको भनाइ छ । घरका लागि संरचना तयार भए पनि उनीहरूले घोषणा गरेअनुरूपको बालमैत्री, अपांगमैत्री, वातावरण मैत्रीलगायत मापदन्डका लागि गर्नुपर्ने कामहरू बाँकी छन् । केही घरहरू भने बालमैत्री र अपांगमैत्रीका लागि तयार भइसकेका छन् । अपांगता भएका व्यक्तिले सबै घरभित्र ह्विलचियर गुडाएर जान सक्ने तथा बालमैत्री मापदन्डअनुसार संरचनामा बालबालिकाका लागि हुनुपर्ने न्यूनतम सुविधाहरू एकीकृत बस्तीमा हुनेछन् । बालबालिका र वयस्कका लागि छुट्टाछुट्टै धारा र बालबालिका खेल्नका लागि ‘चिल्ड्रन पार्क’ बनाउन बाँकी छन् । अहिले छानो लगाउने, रङरोगन गर्ने, भुइँ चिल्लो बनाउनेलगायतका काम तीब्र गतिमा भइरहेका छन् । यी काम केही दिनमै सकिएर विभिन्न मापदन्डअनुसारको बस्ती तयार पार्न दसैंमा पनि काममा खटिने धुर्मुसले बताए ।

‘करिब ८० प्रतिशत काम सकिएको छ,’ उनले भने, ‘दसैंअघिसम्म करिब–करिब सबै काम सकिन्छ । जेठदेखि परेको पानी अहिलेसम्म परी नै रहेको छ । यदि प्रकृतिले साथ दियो भने बस्तीका मानिसले तिहार नयाँ घरमा मनाउन पाउनेछन् । हामी क्षमायाचना माग्छौँ, जसले मनदेखि विश्वास गरेर यत्तिका दिनसम्म साथ दिनुभयो ।’

प्रतिक्रिया