‘प्रधानमन्त्री र लोकमानबीच के मिल्यो ?’

काठमाडौं, १० असोज । संसद्को आइतबार बसेको बैठकमा कांग्रेस र एमालेका सांसदले अख्तियार प्रमुख लोकमान सिंह कार्कीसँग कुरा मिलिसक्यो भनेर प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचार आरोपबाट उन्मुक्त हुन खोजेको भन्दै आपत्ति जनाएका छन् ।

बैठकमा बोल्ने क्रममा उनीहरूले उक्त अभिव्यक्तिबारे सरकारले स्पष्ट पार्नुपर्ने बताए । बैठकमा धारणा राख्दै कांग्रेस सांसद रामहरी खतिवडा, एमाले सांसद पशुपति चौलागार्इं र रेवतीरमण भण्डारीले अख्तियार प्रकरणबारे सरकारले वास्तविकता जानकारी गराउनुपर्ने माग गरेका थिए ।

विशेष समयमा बोल्दै एमाले सांसद चौलागार्इंले लोकमानसिंह कार्कीसँग कुरा मिलिसक्यो भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिले विधि र पारदर्शीताको पद्धतिलाई चुनौति दिएको आरोप लागाए । चौलागाईंले भने, ‘सर्वोच्च अदालतले अख्तियार प्रमुखको नियुक्तिको फाइल माग्नासाथ प्रधानमन्त्री र उहाँ निकटका जिम्मेवार मन्त्री र नेताहरूको भ्रष्टाचारको फाइल खुल्नु र तत्कालै प्रधानमन्त्रीले कुरा मिलिसक्यो भन्नुले गम्भिर आशंका पैदा गरेको छ । अख्तियारको फाइल अदालतले माग्दा हरायो भन्नु र अहिले फेरि भेटियो भनेर पठाउनुले धेरै शंका जन्माएकाले सरकारले यथार्थ जानकारी दिनुपर्छ ।’

कांग्रेस सांसद खतिवडाले शून्य समयमा बोल्दै प्रधानमन्त्रीले अख्तियार प्रमुखसँग सबै कुरा मिलिसक्यो भन्नुले धेरै प्रश्न उठाएको भन्दै संसद्लाई यथार्थै जानकारी गराउनुपर्ने माग गरेको थिए । खतिवडाले भने, ‘ठूलालाई चैन र सानालाई ऐन हुनु हुँदैन । अख्तियारले एन्फाको करोडौँ भ्रष्टाचारको फाइल लुकाएको छ । प्रधानमन्त्रीले कुरा मिल्यो भन्नुभएको छ । यो के हो प्रष्ट होस् ।’ बैठकमा नेमकिपाका प्रेम सुवाल र मालेका सिपी मैनालीले प्रधानमन्त्रीले भारतसँग गरेका सहमती खारेज गर्नुपर्ने माग गरेका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकु शिविरमा भएको भ्रष्टचार छानविन प्रक्रिया अगाडि बढेको कुरा केहि दिन अगाडि सार्वजनिक गरेको थियो । अख्तियारले उक्त कुरा बाहिर ल्याएको केही दिनमा प्रधानमन्त्री दाहालले पार्टीको बैठकमा अख्तियार प्रमुख लोकमानसँग कुरा मिलिसकेको भनाइ बाहिर आएको थियो ।

प्रतिक्रिया