साथीहरूले बनाएको गायक जितु

jitu-copyकाठमाडौं, ८ असोज । देशका विभिन्न सांगीतिक कार्यक्रमहरूको स्टेजमा दर्शकहरूको इच्छा र चाहाना अनुसारको गीत गाउन सिपालु गायक हुन् जितु श्रेष्ठ । बाल्यकालमा खासै गीतसंगीतमा रुचि नराख्ने उनी गाउन भन्दा पनि बढी सुन्न मनपराउने थिए ।

सिन्धुपाल्चोकको थाङगालचोक–७ मा जन्मेका उनको पुख्र्यौली थलो काठमाडौंमा नै रहेको थियो । दुर्गम ठाउँमा जन्मेका उनी लेकाली हावापानीसँग राम्रै भिजेका बताउँछन् । प्रावि तह घर नजिकै पढेको भए पनि निमावि तथा मावि तहका लागि निकै कष्टका साथ पढेको उनको भोगाइ रहेको छ ।

०५७ सालमा एसएलसी उत्तीर्ण गरेर पहिलोपटक काठमाडौं आएका उनलाई संगीतको भन्दा पनि अरू नै विषय प्यारो थियो त्यो बेला । कलेज पढ्ने क्रममा विद्यार्थीबीच भइरहने विविध खाले कार्यक्रमहरूका गीत सुन्दै आएका उनले बाथरुम सिंगरको रूपमा बिस्तारै गाउन थालेका थिए । प्लस टु पढ्ने क्रममा साथीहरूको करमा उनले एउटा गीत सुनाएका थिए रे योगेश्वर आमात्यको ‘पानी मुनी ढुंगामा लेउ लाग्यो’

संगीतमा लाग्न त्यति रहर थिएन तर अजा र बुबाले नेवारी भजन गाउने गरेकाले चासो भने रहेको उनको भनाइ छ । जितुका अजाहरूले नेवारी भजन राम्रै गाउने बुबाले पनि उस्तै गाउने भएकाले पछिल्लो समय आपूmले पनि गायनमै जोडिनु पर्ने रहेको उनको कथन छ । पछि प्लस टु सकिएपछि बिए पढ्ने क्रममा साथीहरूको उक्साहट अझ बढी नै भए पनि उनले राम्रै गीतहरू सुनाउन थालेको अनुभव सुनाउँछन् । भेटघाट जमघटमा गीत सुनाउने क्रम जारी भए पनि संगीतको कखराविना नै उनले ‘गाउँकी छोरीलाई नक्कली मोरीलाई’ बोलको गीतसम्म रेकर्ड गराएको बताएका छन् । ‘अहिले हेर्दा खास गीत गाइएनछ त्यो बेला’ उनले भने ।

यसपछि भने उनलाई संगीत सिक्न रहर पलाएको बताउँछन् । ‘संगीतको भूत कताबाट सवार भयो म सिक्न जान थालँे’ उनले विगत सम्झन थाले ‘काठमाडौंको डोरेमी संगीत पाठशालामा मैले संगीत सिक्न थालेँ । सुरुमा २÷३ महिना सिकी हेर्नुपर्ला भनेर क्लास जान थालेको त्यहाँ पसेपछि थाहा भो संगीत के हो भन्ने ? म त्यो महासागरमा हाम फालेको रहेछु जहाँ पसेपछि मैले पौडी नखेली धरै पाइनँ ।’ उनले लगातार ३ वर्ष डोरेमीमा रविन्द्र दास र भानुभक्त ढकालबाट संगीत तथा गायन विधा सिकेका सुनाउँछन् ।

यसै क्रममा ०६५ सालमा एकल एल्बम ‘उमंग’ लिएर संगीतको बजारमा पसेका थिए । प्रायः दिनेश पुरीको शब्दहरूमा संगीत भर्ने र गाउने गरेका उनले यसपछि भने संगीतलाई आफ्नो यात्राको प्रस्थान विन्दु बनाएका छन् ।

आँखाबाट नरोकिने आँशु बगेर के भो, पग्लिएको छ मेरो मनलगायत गीतहरू लगातार गाउन थालेका उनले सुनाए । योसँगै बिस्तारै पुराना कलाकाहरूको गीतहरू समेत गाउन थालेका उनले जयन शर्माको पहिलो फिल्म ‘पुनर्जन्म’ गाउने अवसर पाएका थिए । योसँगै अन्य २ वटा फिल्ममा समेत स्वर दिएका थिए तर दुर्भाग्य फिल्म रिलिज नभएकाले यसै भन्ने ठाउँ नरहेको उनको गुनासो रहेको छ ।

गायनका अलवा संगीत भर्ने र शब्द लेखनमा समेत उत्तिकै पोख्त उनले आउन लागेको चलचित्र प्रिन्समा काम गर्न लागेको समेत जानकारी दिएका छन् । हाल काठमाडौंको व्यस्त सहरमा गीतसंगीतको खेतीले नै बाँचिरहेको उनले अन्त्यमा भने, ‘संगीतविनाको जीवन त निरस नै पो हुँदो रहेछ त ।’

प्रतिक्रिया