सञ्जय र मञ्जु सम्मानित

4काठमाडौं, ६ असोज । सञ्जय स्मृति प्रतिष्ठानले राष्ट्रिय भलिबल खेलाडीद्वय सञ्जय अर्याल र मञ्जु गुरुङलाई बुधबार सम्मान गरेको छ । प्रतिष्ठानको तर्फबाट नयाँ शक्ति नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले सम्मान गरे । दुवैलाई दोसल्ला, सम्मानपत्र र जनही २५ हजार नगद प्रदान गरियो ।

सञ्जय र मञ्जु राष्ट्रिय भलिबल टोलीको उपकप्तान हुन् । दुबै १ दशकभन्दा अघिदेखि राष्ट्रिय टोलीबाट भलिबल खेल्दै आएका छन् । घरेलु भलिबलमा सञ्जय नेपाल पुलिस क्लब र मञ्जुले पश्चिमाञ्चल विकास क्षेत्रबाट खेल्ने गर्छिन् ।

सम्मान कार्यक्रममा डा. भट्टराईले नेपाली खेलाडीलाई सम्मान गर्न पाउँदा गर्व महसुस भएको बताए । ‘देशले सोचेअनुसार प्रगति गर्न नसकेको बेला हाम्रा खेलाडीले जनतालाई खुसी दिएको छन्,’ डा भट्टराईले भने, ‘राजनीतिक मत भिन्नताले देश अप्ठयारो परेको बेला नेपाली खेलाडीले जनतालाई एकता, राष्ट्रियता र सहकार्यका लागी सन्देश दिएका थिए ।’ आफूलाई भलिबल खेल मनपर्ने बताउँदै डा भट्टराईले भने, ‘भलिबल, मलाई मन पर्ने खेल हो । नेपालको माटो सुहाउँदो खेल हो भलिबल ।’ उनले थपे, ‘खेल्न सहज, गाउँघरमा त भलिबल मानिसको जीवनसँग जोडिएको हुन्छ, हामीले अनुभव गरेको कुरा हो भलिबल नेपालको लोकप्रिय खेल हो ।’

डा भट्टराईले भने, ‘खेलाडी राष्ट्रको पहिचान हुन् । उनीहरूको सफलतामा राष्ट्रले गर्व महसुस गर्छ । उनीहरूलाई सम्मान र प्रोत्साहन जस्ता कार्यक्रम हुनु जरुरी छ । सम्मान गर्ने अवसर दिएकोमा प्रतिष्ठानलाई धन्यावाद ।’ भट्टराईले नेपाली खेलकुदमा थुप्रै सम्भावना भएपनि सकारात्मक रूपमा अगाडी बढे धेरै सफलता हासिल गर्न सकिने बताए । उनले भने, ‘म प्रधानमन्त्री भएको बेला खेलाडीको सफलताअनुसार सम्मान गर्नुपर्छ भनेर सम्मानको सुरुआत गरेको थिएँ । तर, पछि त्यसले निरन्तरता पाएन । थुप्रै कमजोरी छन् खेककुदमा तर हामी आसावादी भएर अगाडि बढनुपर्छ ।’
प्रतिष्ठानका

अध्यक्ष विश्व विजय जोशीले संस्थाले विगतदेखि नै खेलाडीलाई प्रोत्साहन गर्दै आएको बताए । ‘हामीले हरेकवर्ष स्व.सञ्जय मास्केको स्मृतिमा विभिन्न सामाजिक कार्यक्रम गर्दै आएका छौँ । सामाजिक विकास, खेल र खेलाडीलाई प्रोत्साहन गर्न विभिन्न कार्यक्रम गरेको छौँ । तर खेलाडीलाई सम्मान गर्न पाउँदा हामीलाई खुसी लाग्छ ।’

सम्मानित खेलाडी सञ्जय अर्यालले नेपालमा राष्ट्रियस्तरको खेलाडी भएर जीवन यापन गर्न कठिन अवस्था रहेको बताए । उनले भने, ‘यसो भन्दा हामीलाई दुःख लाग्छ, नेपालमा विभागीय क्लब नभएको भए नेपालको खेलकुदको स्तर कहाँ पुग्थ्यो ? खेलाडीले मैदानमा जति मिहिनेत गर्छन् संघका पदाधिकारीले सक्रिय भएर काम गरेको भए खेलाडीको थुप्रै समस्या समाधान हुने थिए ।’

प्रतिष्ठानकी संरक्षक निरोज मास्केले भविष्यमा पनि खेलाडीलाई सम्मान गर्ने कार्यक्रमलाई निरन्तरता दिने बताइन् । उनले भनिन्, ‘हामीले २ वर्षअघि २ खेलाडी सम्मान गरेको थियौँ । भलिबलको राष्ट्रियस्तरको प्रतियोगिता धेरै हुन्छन् तर खेलाडीलाई सम्मान र हौसला दिने कार्यक्रमको अभाव छ ।’ प्रतिष्ठानले २ वर्षअघि राष्ट्रिय भलिबल टोलीका कप्तान इम राना र महिला टोलीकी पूर्वकप्तान नीता शाहलाई सम्मान गरेको थियो । बुधबार सम्मानित भएकी मञ्जु गुरुङले भविष्यमा थप मिहिनेत र उपलब्धी हासिल गर्ने हौसला मिलेको बताइन् । उनले भनिन्, ‘सम्मान गरेकोमा प्रतिष्ठान परिवारलाई धन्यावाद । खेलाडीलाई यस्ता सम्मानले हौसला थप्छन् र खेलमा थप मिहिनेत गर्न प्रेरणा मिल्छ ।’

प्रतिक्रिया