मध्यमाञ्चल टिम च्याम्पियन

sport_1-copyकाठमाडौं, असोज ५ गते । मध्यमाञ्चलले प्रथम युथ तथा जुनियर राष्ट्रिय एथलेटिक्स च्याम्पियनसिपको उपाधि सोमबार जितेको छ । ११ स्वर्ण, ५ रजत र ६ कांस्यसाथ मध्यमाञ्चल टिम च्याम्पियन बन्यो ।

नेपाल एथलेटिकस संघद्वारा आयोजित प्रतियोगितामा ६ स्वर्ण, ७ रजत र ७ कांस्यसाथ पश्चिमाञ्चल दोस्रो भयो । तेस्रो स्थानमा चित्त बुझाउन बाध्य मध्यपश्चिमाञ्चलले ६ स्वर्ण, ७ रजत र २ कांस्य हात पा¥यो ।

प्रतियोगिताको अन्तिम दिन युथतर्फ महिला ८ सय मिटर दौडमा मध्यमाञ्चलकी सुनिता श्रेष्ठ पहिलो भइन् । सुनिताले निर्धारित दुरी २ मिनेट ४३ दशमलव १७ सेकेन्डमा पूरा गरिन् ।

पुरुष लङजम्पमा पश्चिमाञ्चलका विकासकुमार साह पहिलो भए । उनले ६ दशमलव ०४ मिटर हामफाले । सोही स्पर्धाको महिलामा पश्चिमाञ्चलकै विपना परियार ५ दशमलव ०६ मिटर हामफाल्दै शीर्ष स्थानमा रहिन् । पुरुष ८ सय मिटर दौडमा पश्चिमाञ्चलका रोहित अधिकारी पहिलो भए । उनले दौड पूरा गर्न २ मिनेट ०४ दशमलव ५३ सेकेन्ड समय लगाए ।

युथको ४ गुणा १ सय मिटर रिलेमा मध्यमाञ्चल पहिलो, पश्चिमाञ्चल दोस्रो र पूर्वाञ्चल तेस्रो भए । सो स्पर्धाको महिलामा पश्चिमाञ्चल प्रथम, मध्यपश्चिमाञ्चल द्वितीय तथा पूर्वाञ्चल तृतीय भए ।

जुनियरतर्फ पुरुष ज्याभ्लिन थ्रोमा मध्यमाञ्चलका वीरेन्द्र चौधरीले स्वर्ण जिते । उनले ४७ दशमलव ५४ मिटर थ्रो गरे । उक्त स्पर्धाको महिलामा २८ दशमलव ४७ मिटर थ्रो गर्दै सुदूरपश्चिमाञ्चलकी खगेश्वरी ठगुन्ना पहिलो भइन् ।

पुरुष लङजम्पमा ६ दशमलव २७ मिटरसाथ मध्यमाञ्चलका भूवन महतो पहिलो बने । त्यसै स्पर्धाको महिलामा ४ दशमलव ७७ मिटरसाथ मध्यपश्चिमाञ्चलकी प्रमिला थारू शीर्ष स्थानमा रहिन् । पुरुष ८ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलका आशिष चौधरी पहिलो भए । निर्धारित दूरी तय गर्न उनले २ मिनेट ३८ दशमलव ४७ सेकेन्ड समय खर्चे । पुरुष २ सय मिटर दौड २३ दशमलवा ७० सेकेन्ड समय लगाउँदै मध्यमाञ्चलका खिलबहादुर कार्की पहिलो भए । पुरुष ४ सय मिटर दौडमा मध्यमाञ्चलका चन्देश्वर पटेल पहिलो भए । उनले ५२ दशमलव ५० सेकेन्ड समय निकाले । महिला २ सय मिटर दौड २८ दशमलव १० सेकेन्डमा पूरा गर्दै मध्यपश्चिमाञ्चलकी प्रमिला थारूले पहिलो स्थानमा दौड टुंगाइन् ।

विजेतालाई एथलेटिक्स संघका अध्यक्ष राजीवविक्रम शाह, एथलेटिक्स प्रमुख प्रशिक्षक अमिरीप्रसाद यादवलगायतले एक कार्यक्रमबीच पुरस्कार प्रदान गरे । २ दिने प्रतियोगितामा ५ विकास क्षेत्रबाट ७५ खेलाडीले विभिन्न २६ स्पर्धामा प्रतिस्पर्धा गरेका थिए ।

प्रतिक्रिया