काठमाडौं, ४ असोज । राजधानीका विभिन्न ९ निजी विद्यालयमा बम राख्ने २ अभियुक्तलाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । स्कुलमा बम बिष्फोट गराएको आरोपमा रामेछाप डिमीपोखरी–६ घर भएका शंकर लाखे र सिन्धुली लम्पाङटारका चन्द्रबहादुर तामाङलाई प्रहरीले सार्वजनिक गरेको हो । बम राख्ने प्रमुख योजनाकार मीन देवकोटा र संलग्न सुमन श्रेष्ठको खोजी जारी रहेको प्रहरीले जनाएको छ ।
बम बिष्फोटमा संलग्न भएको आरोप लागेका लाखे र तामाङ गत ६ साउनमा पक्राउ परेर साधारण तारिखमा छुटेका थिए । माओवादी शान्ति प्रक्रियामा आएपछि हतियारसहित भागेका लडाकूहरूले पार्टी बनाएर आपराधिक क्रियाकलापमा संलग्न भएको प्रहरीले बताएको छ । शैक्षिक व्यवस्था सुधारका नाममा योङ कम्युनिस्ट फोर्स नेपाल तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी केन्द्रले मंगलबार विहान राजधानीका झन्डै १ दर्जन विद्यालयमा बम आतंक मच्चाएका थिए । तात्कालीन माओवादीले जनयुद्धताका चन्दा असुलीका लागि अपनाएको गुरिल्ला शैलीमा यी संगठनले २ स्कुलमा बम बिष्फोट गराए पनि अन्य ९ स्थानमा राखिएका बिष्फोटकजन्य वस्तुलाई सेनाले निष्क्रिय पारेको छ ।
राजधानीका २ विद्यालयमा बम बिष्फोट गराइए पनि अन्य ७ विद्यालयमा बम भनिएर राखिएका बस्तुलाई सेनाले डिस्पोज गरेको हो । जोरपाटीस्थित आकाशदीप इंग्लिस स्कुल र मनकामना उच्च माविमा सानो ग्यास सिलिन्डरलाई इम्प्रोभाइज गरि पड्काइएको छ । यी सँगै फोर्स र केन्द्रले जोरपाटीकै माउन्ट युराल रिडर्स एकेडेमीमा सुतली बम, बौद्ध नारायणटारस्थित इस्टपोल एकेडेमीमा सुतली बम, एम्बेस्डर एकेडेमीमा सुतली बम, बौद्ध महांकलस्थित बाल सञ्चार एकेडेमीमा सुतली बम, महाराजगञ्जस्थित कान्तिपुर इंग्लिस बोर्डिङ स्कुलमा सुतली बम, डल्लुस्थित कञ्चनजंघा स्कुलमा प्रेसरकुकर बम र बौद्धमा राई स्कुलमा शंकास्पद वस्तु राखेका थिए । सुतली र प्रेसर कुकरमा इम्प्रोभाइज गरेर बम बनाएको फेला परेपछि सेनाको डिस्पोजल टोलीले सबै डिस्पोज गरेको थियो ।
बम बिष्फोटपछि आकाशदीपको गेट र मनकामनाको पर्खालमा सामान्य क्षति हुन पुगेको छ । त्यसैगरी यही समूहले पाटनस्थित रेडियन्ट स्कुलमा समेत प्रेसर कुकरलाई इम्प्रोभाइज गरी बम बनाएर राखेका थिए । यसलाई पनि सेनाले डिस्पोज गरेको छ ।
विद्यालयमा बम राख्ने क्रियाकलापलाई विद्यालय संघ, संगठनले आतंकारीको संज्ञा दिएका छन् । उनीहरूले संयुक्त विज्ञप्तिमार्फत सरकारले सुरक्षाको भरपर्दो व्यवस्था नगरे विद्यालय बन्द गर्ने चेतावनी दिएका छन् । यसैगरी विभिन्न विद्यार्थी संगठनले पनि घटनाको विरोध गर्दै दोषीलाई कडा कारवाही गर्न माग गरेका छन् ।
प्रतिक्रिया