डा. केसीको अनसन स्थगित

Dr.-Govinda-Kcकाठमाडौं, ३ असोज । त्रिवि शिक्षण अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ प्राडा गोविन्द केसीले आठौँपटकको अनसनमा सरकारसँग भएका सहमति पनि कार्यान्वयन नभएको भन्दै सोमबार पत्रकार सम्मेलन आयोजना गरे । उनले नवौँ अनसन घोषणा गर्न सक्ने भनिए पनि १० असोजसम्मलाई स्थगित गरे । पत्रकारहरूसँग कुराकानी गर्दै डा. केसीले आफूसँग भएको सहमति अनुसार सरकारले केही विषय अगाडि बढाएकाले अनसन एक हप्ताका लागि स्थगित गरिएको बताए । मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धीविधेयक फिर्ता लिने, चिकित्सा शिक्षा नीति नबन्दासम्म नयाँ मेडिकल कलेजको सम्बन्धन नदिने, चिकित्सा शिक्षा विधेयक संसद्मा पेस गर्ने निर्णय गरेको र मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान (न्याम्स) ले किन्ने प्रकिया अगाडि बढाएको जानकारी आएको केसीले बताए । केसीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउने विषयमा संसद्ले चासो नदिएको भन्दै त्यसका लागि १० असोजसम्मको अल्टिमेटम दिए । ‘सरकारले पटकपटक ढाँट्ने गरेको छ, यसपटक पनि सरकारको विश्वास त लागेको छैन’ उनले भने ।

सोमबार फेरि अनसन सुरु गर्ने कि नगर्ने भन्ने विषयमा डा. केसी दोधारमा थिए । त्यसैले उनले पत्रकार सम्मेलनका लागि २ वटा विज्ञप्ती लिएर आएका थिए । एउटामा एक हप्ता अल्टिमेटम दिने विषय थियो भने अर्कोमा अनसन सुरु गर्ने विषय थियो । सरकारले आफ्नो माग पूरा गर्न अघि बढाएको कामबारे लिखित जानकारीसहितको पत्रको प्रतिक्षामा रहेका डा. केसीले पत्रकार सम्मेलन सुरु हुने बेलासम्म स्वास्थ्य मन्त्रालयका अधिकारीसँग टेलिफोनमा कुराकानी गर्दै थिए । सरकारी पक्षबाट पत्र ढिलो आउने खबर पाएपछि उनले त्यसको प्रतिक्षा नगरी एक हप्ते अल्टिमेटम दिएर अनसन स्थगित गरेका हुन् । डा. केसीले काठमाडौंमा आफूसँग भएका यसअघिका सहमति कार्यान्वयनसहित १० वर्षसम्म नयाँ मेडिकल कलेजको सम्बन्धन दिन नहुने, मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक फिर्ता लिनुपर्ने, मनमोहन विज्ञान प्रतिष्ठानका संरचना राष्ट्रिय चिकित्सा विज्ञान प्रतिष्ठान(न्याम्स) ले किन्ने प्रकिया तत्काल अगाडि बढाउनुपर्ने माग गरेका छन् । त्यस्तै चिकित्सा शास्त्र अध्ययन संस्थानमा वरीयताको क्रममा तत्काल डिन नियुक्त गर्नुपर्ने र संसद्बाट अख्तियार प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग प्रक्रिया अघि बढाउनुपर्ने माग राखेका छन् ।

प्रतिक्रिया