थप ४ मुलुकसँग श्रम सम्झौता गरिने

काठमाडौं, २२ जेठ । सरकारले नेपाली कामदार कार्यरत रहेका चार रोजगारदाता मुलुकसँग श्रम सम्झौता गर्ने भएको छ । ठूलो संख्यामा नेपाली कामदार रोजगारीमा रहे पनि तिनले पाउने सेवा, सुविधा तथा पारिश्रमिकलगायतका विषयमा समस्या हुने गरेकाले तत्काल ४ मुलुकसँग श्रम सम्झौता हुन लागेको हो । श्रम तथा रोजगार मन्त्रालयका अनुसार मलेसिया, ओमन, लेबलान र जोर्डनसँग श्रम सम्झौताको तयारी भएको हो ।

यी मुलुकमा लामो समयदेखि नेपाली कामदार कार्यरत रहेको भए पनि समयमै श्रम सम्झौता नहुँदा विभिन्न समस्या आउने गरेका छन् । कामदारले पाउने न्युनतम पारिश्रमिक, करार अवधि र अन्य सेवा सुविधाका कुरा सम्झौतामा उल्लेख हुने गर्छ । यस पटक भने विगतको भन्दा वैज्ञानिक हिसाबले सम्झौता हुन लागेको जनाइएको छ । कामदारको हित हुने गरी सम्झौता गर्न अहिले सरोकारवाला पक्षसँग छलफल भइरहेको मन्त्रालयले जनाएको छ ।

अहिले मलेसियामा मात्र ८ लाखभन्दा बढी नेपाली कामदार कार्यरत छन् । यस्तै ओमान, लेवलान र जोर्डनमा समेत लाखौँ नेपाली कामदार कार्यरत छन् । श्रम सम्झौताको अभावमा ती कामदार विभिन्न समयमा पीडित हुँदै आएका छन् । मन्त्रालयका प्रवक्ता गोविन्दमणि भुर्तेलका अनुसार वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित गर्दै नेपाली कामदारको हितमा ऐन निमार्ण गर्ने सरकारी तयारी रहेकाले सोही अनुसार श्रम सम्झौता गर्न लागिएको हो । सरकारले भर्खरै प्रस्तुत गरेको बजेटमा पनि वैदेशिक रोजगारलाई सुरक्षित, व्यवस्थित र मर्यादित बनाउने उल्लेख गरेकाले पनि श्रम सम्झौता अपरिहार्य रहेको उनको भनाइ छ ।

प्रतिक्रिया