आइओसीले इन्धनको मूल्य बढायो

nocकाठमाडौं, १९ जेठ । नेपाल आयल निगमले आयात गर्ने सबै प्ररकारको इन्धनमा भारतीय अयल कर्पोरेसन (आइओसी)ले मूल्य बढाएको छ । नेपाल आयल निगमका प्रवक्ता मुकुन्द घिमिरेका अनुसार विश्वबजारमा कच्चा तेलमा आएको मूल्य वृद्धि सँगसँगै आइओसीले पनि नेपालले आयात गर्न इन्धनको मूल्य बढाएको हो । आइओसीले निगमलाई पठाएको नयाँ मूल्यसूची अनुसार प्रतिलिटर पेट्रोलमा ३ रूपैयाँ ३८ पैसा, डिजेलमा ३ रूपैयाँ १९ पैसा, मट्टितेलमा ४ रूपैयाँ ३४ पैसा, हवाई इन्धनमा ४ रूपैयाँ १४ पैसा र ग्यासमा प्रतिसिलिन्डर ३५ रूपैयाँ ९५ पैसा बनाएको छ ।

आइओसीले इन्धनको मूल्य वृद्धि गरे पनि यसपटक उपभोक्ताले पाउने मूल्यमा भने वृद्धि नहुने घिमिरेले बताए । तर, बाहिर बजारमा सरकारले पेट्रोलियम पदार्थमा प्रतिलिटर ५ रूपैयाँ पूर्वधार कर लगाउने गरेको निर्णयसँगै मूल्यवृद्धि हुने हल्लाको समेत खण्डन गर्दै घिमिरेले अहिले तत्काल मूल्य नबढने स्पष्ट पारे ।

नयाँ मूल्यसूची आएसँगै नेपाल आयल निगललाई हुँदै आएको फाइदामा पनि कमी भएको छ । यसअघि प्रतिलिटर पेट्रोलमा १० रूपैयाँ ५३ पैसा नाफा रहेकोमा पूर्वधार कर लगाउन साथ निगमको फाइदा ५ रूपैयाँ ५३ पैसामा घटेको थियो । यो सँगै बुधबार आइओसीले नयाँ मूल्यसूची पठाउनका साथ निगमको फाइदा घटेर प्रतिलिटर ४ रूपैयाँ ४६ पैसामा घटेको छ ।

त्यस्तै, अब नियमलाई डिजेलमा प्रतिलिटर ५५ पैसामा मात्र नाफा रहँदै गर्दा मट्टितेलमा १८ रूपैयाँ ४० पैसा, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर ३ रूपैयाँ ९९ रूपैयाँ र अन्तर्राष्ट्रियमा भने १४ रूपैयाँ ३४ पैसा फाइदा रहेको घिमिरेले बताए । साथै एलपी ग्यासमा भने प्रतिसिलिन्डर ५ रूपैयाँ ७५ पैसा घाटा रहेको घिमिरेले बताए । अहिले तत्काल उपभोक्ताको मूल्य परिर्वतन नहुनुमा भने निगमले सरकारलाई तिर्न बाँकी रहेको ४ अर्ब रूपैयाँमध्ये ३ अर्ब पूँजी वृद्धिका लागि सरकारले छुट दिने गरेको निर्णयले पनि तत्काल मूल्य बढाउन नपर्ने अवस्था आएको घिमिरेले बताए ।

त्यस्तै, निगमले ऋण व्याजवापत लिँदै आएको प्रतिलिटर ५० पैसालाई पनि घटाएर २५ पैसामा झारेको उनले बताए । साथै ऋण भुक्तानीवापत प्रतिलिटर ४ रूपैयाँ उपभोक्तासँग लिँदै आएको रकम पनि बुधबारबाटै लागू गर्ने गरी २ रूपैयाँमा झार्दा तत्काल निगम घाटामा नगएको र सरकारले पनि उपभोक्तालाई तत्काल असर गर्ने गरी मूल्यवृद्धि नगर्न भनेको हँुदा पनि मूल्य नबढ्ने घिमिरेले बताए । अब नेपाल आयल निगमले आइओसीसँग पेट्रोल प्रतिलिटर ४५ रूपैयाँ ४४ पैसा, डिजेल ४४ रूपैयाँ ८० पैसा, मट्टितेल ४२ रूपैयाँ ४६ पैसा, हवाई इन्धन ४१ रूपैयाँ ५५ रूपैयाँ र एलपी ग्यास प्रतिसिलिन्डर ८ सय ६६ रूपैयाँ ९२ पैसामा खरिद गर्दै नेपाल सरकारले तोकेको कर तिरेर नेपाल ल्याउने गरेको उनले बताए । अहिले उपभोक्तालाई निगमले पेट्रोल प्रतिलिटर ९९ रूपैयाँ, डिजेल ७५ रूपैयाँ, मट्टितेल ७५ रूपैयाँ, हवाई इन्धन १ सय ९ रूपैयाँ र खाना पकाउने ग्यास प्रतिसिलिन्डर १४ सय रूपैयाँमा बिक्री गरिरहेको छ । त्यस्तै, निगमले पेट्रोलमा प्रतिलिटर ३६ रूपैयाँ ६३ पैसा, डिजेलमा प्रतिलिटर १८ रूपैयाँ ५५ पैसा, मट्टितेलमा २ रूपैयाँ ४२ पैसा, हवाई इन्धन आन्तरिकमा २० रूपैयाँ २३ पैसा, हवाई इन्धन अन्तर्राष्ट्रियमा ५ रूपैयाँ ५७ पैसा र एलपी ग्यासमा प्रतिसिलिन्डर २ सय ११ रूपैयाँ १५ पैसा रकम सम्पूर्ण सरकारी राजस्व एंव मूल्य अभिवृद्धि करवापत तिर्ने गरेको छ ।

प्रतिक्रिया