ओबामाले देखेको त्यो सपना

obamaसन् २००९ को अप्रिल ५ मा अमेरिकी राष्ट्रपति बाराक ओबामाले दिनुभएको शान्तिसम्बन्धी सम्बोधनले ठूलो चर्चामात्र पाएन उनलाई नोवेल शान्ति पुरस्कारसम्म नै पु¥यायो । उनले आफूले परमाणु शक्ति बिनाको अर्थात् निशस्त्र विश्वको कल्पना गरेको बताएका थिए । उनको यो धारणामाथि ससंसारका नागरिकले आ–आफ्ना धारण बनाए । के सम्भव छ त निशस्त्र संसार ? या के अमेरिकी अगुवाइमा संसार त्यति शान्त र सौम्य बन्न सक्ला ? यस्तै कौतुहलतापूर्ण धारणाले सन् २००९ भरि छायो संसारमा । र उनको यही विचारोत्तेजक भाषणले नै सायद उनलाई नोवेल शान्ति पुरस्कारको दाबेदार पनि बनायो ।

त्यसको तीन महिनामात्र अघि उनले अमेरिकाको राष्ट्रपति पदमा बहाली गरेका थिए । चेक रिपब्लिकको प्रागमा गरेको त्यो सम्बोधन नै उनी राष्ट्रपति भएपछिको पहिलो अन्तर्राष्ट्रिय सम्बोधन थियो । त्यसै वर्ष अर्थात् सन् २००९ मा नै उनी नोवेल शान्ति पुरस्कारका लागि चयन पनि भए, र पुरस्कार प्राप्त गरे ।

यसपछि झन् उनको शान्तिप्रतिको प्रतिबद्धतामा संसारमा थप भरोसा पलायो । विभिन्न आतंकवादी सञ्जालको त्रासका साथै अशान्ति भड्किँदै गरेको संसारलाई आणविक शक्तिबिनाको विश्व अमेरिकी अगुवाईमा स्थापना हुने आशाको सञ्चार संसारमा भयो । तर, सोचेजस्तो शान्ति छाएन संसारमा । कहिले अरबमा बसदको नाममा त कहिले कुनै नयाँ नामहरुमा आन्दोलनका रुपहरु जन्मिए र तिनले ल्याएका सामान्य वा असामान्य परिवर्तनहरुले स्थायित्व ल्याउन सकेन । अथवा ती परिवर्तन नै परिवर्तित भएर बस्न सकेनन् वा चाहेनन् । जसको पछिल्लो बिकसित रुप भनौँ वा अशान्तिको नयाँ नामका रुपमा आइएसजस्ता हिंसामा जन्म लिएको छ ।

यतिखेर संसार ७ वर्षअघि राष्ट्रपति ओबामाले प्रागमा दिएको सम्बोधनको भन्दा खासै फरक केही छैन । बरु त्यस ताकाका सुन्दर र शान्त ठाउँमा समेत हिंसाको बिजारोपण भएको देखिन्छ । धेरै बढी नभएर दशकमात्र अघिसम्मको सुुन्दर, शान्त र समृद्ध मानिने युरोप यतिखेर सम्भावित आक्रमणको त्रासमा बाँचेको छ । फ्रान्स, बेल्जियम, डेनमार्कलाई यसले सातो लिइसकेको छ भने बारम्बारको प्रयासबाट बेलायत बच्नमात्र सकेका खबरहरु स्वयं सरकार नै सार्वजनिक गर्दैछ ।

यता कोरियाली प्रायद्वीपलाई आणविक अश्त्रको आडम्बरले छोडेको छैन । कहिले कुन तथा कहिले कुन रुप र नामका आणविक परीक्षणहरु उत्तर कोरियाको बाटो भएर संसारैभरिक फैलिएको सुनिन्छ । समाचार सुन्दा लाग्छ के अब यी आणविक सश्त्रास्त्रले तेस्रो विश्वयुद्धलाई आमन्त्रण त गरिरहेका छैनन् ? उत्तरको यो धम्की र बाँकी विश्वको नडराउने प्र्रतिउत्तरले दुर्घटना कहाँनेर भेटिने हो भन्नेजस्तो त्रास कुनाकाप्चासम्म नै पुगेको सुनिन्छ ।

त्यस समय संसारकै लगभग सबैभन्दा शक्तिशाली पद मानिने अमेरिकी राष्ट्रपतिको पदमा पुगेको चौथो महिनामा प्रागमा पुगेर सम्बोधन गरेभएका राष्ट्रपति ओबामाको त्यस्तै अभिव्यक्ति र भावना दोहोरियो उनको कार्यकालको लगभग उत्तरराद्र्धमा । शुक्रबार उनले जापानको हिरोसिमा सहरमा दिएको सम्बोधनले पनि ७ वर्षअघिका ओबामालाई नै सम्झाउँछ । उनी शुक्रबार दोस्रो विश्वयुद्धको सबैभन्दा बढी क्रुरता खेपेको सहर हिरोसिमामा पुगे । त्यहाँ उनले व्यक्त गरेको भावनाले पनि निशस्त्र विश्वकै कल्पना गरेको थियो । हिरोसिमामा उनको भावनात्मक अभिव्यक्ति थियो– संसारमा शान्तिबाहेक अर्काे महत्वपूर्ण वस्तु केही छैन, यसैको प्राप्तिमा हामी सबैको जीवन सार्थक हुन सक्दछ ।

हिरोसिमा सहर दोस्रो विश्वयुद्धका क्रममा जापानमाथि अमेरिकाले गरेको क्रुर हमलाको एक उदाहरण हो । र, सायद यस पृथ्वीमा अणुबमका नाममा भएको वर्तमान विश्वको सबैभन्दा ठूलो क्रुरताका रुपमा पनि लिन सकिन्छ यो नरसंहारलाई । दोस्रो विश्वयुद्धका क्रममा सन् १९४५ को अगस्ट ६ मा अमेरिकी सेनाले हिरोसिमामा आणविक बम हमला गरेको थियो । दोस्रो विश्वयुद्धको यो नै सबैभन्दा क्रुर हमला थियो । अमेरिकाले खसालेको त्यो अणुबमको निशाना बनेको स्थानलाई त्यसैताका ग्राउन्ड जिरो नाम दिइएको थियो । यस हमलका क्रममा हिरोसिमा सहरका कम्तीमा पनि १ लाख ४० हजार जापानी नागरिकको ज्यान गएको थियो । त्यही नरशंहारको केन्द्रको नामाकरण गरिएको ग्राउन्ड जिरोमा शुक्रबार राष्ट्रपति ओबामा उभिँदा सायद उनीसँग बोल्नसक्ने र मिल्ने शब्दको अभाव भएको देखाउँथ्यो हाउभाउले ।

त्यो आक्रमणको करिब सात दशकपछि नै त्यस समयमा बम हमला गर्ने देश अमेरिकाकै राष्ट्रपतिका हैसियतमा र त्यो पनि आफू सत्तामा उक्लिएकै समयमा यस विश्वलाई निशस्त्र बनाउने कसम खाएर संसारकै सबैभन्दा प्रतिष्ठित पुरस्कारबाट सुशोभित व्यक्ति हिरोसिमामा उपस्थित हुदा कस्तो अनुभूति होला भन्ने आशयको अनुमान त सबैले लगाउन सक्छ नै । त्यसैले ओबामाको भ्रमणलाई संसारले एक प्रमुख चासोका रुपमा लिएको हो ।

ठीक त्यस्तै भयो राष्ट्रपति ओबामालाई । बोल्ने क्रममा उनले भने– आकासबाट मृत्यु खस्यो र संसारलाई पनि परिवर्तन गरिदियो । उनले अब त्यस्तो गल्ती संसारको कुनै पनि कुनामा र कहिल्यै दोहोरिनु हुँदैन भन्ने आसय बारम्बार दोहो¥याए । हिरोसिमाको त्यो नरसंहारबाट बाँचन सफल भएका उमेरले ८० नाघेका कैयौँ व्यक्ति उनको स्वागतमै त्यहीँ थिए । र, उनीहरुले राष्ट्रपतिसँग आँखामा आँखा जुधाएर उनले जस्तै अब संसारमा त्यस्तो कहिल्यै नहोस् भन्ने कामना गरिरहेका थिए ।

सन् १९४५ को अगष्ट ६ मा अमेरिकी विमान एनोला गेले हिरोसिमा सहरमा लिटिल ब्वाय नामको बम खसालेको थियो । सो बमले नै हिरोसिमा सहरको सुन्दरता मात्र नभई मानव सभ्यतामाथि नै धावा बोलेको हो । सो बमको विकिरणका कारण दशौँ हजार व्यक्तिले ज्यान गुमाएका थिए । यसको तीन दिनपछि पुनः अमेरिकाले जापानकै अर्काे सहर नागासाकीमा अर्काे बम हानेको थियो । सो बम लागेर नागासाकीमा पनि दशौँ हजार नागरिक मारिएका थिए । उनको कार्यकालको सातौँ वर्षमा हुन लागेको यस भ्रमणका क्रममा उनले हिरोसिमाको त्यस समयको क्रुरताबाट पाठ सिक्ने सन्देश दिन चाहेको बुझिन्छ ।

हिरोसिमा र मेमोरिएल पार्कको ऐतिहासिक भ्रमणपछि प्रतिक्रियाका लागि राखिएको हस्ताक्षर पुस्तिकामा राष्ट्रपति ओबामाले लेखे– ‘युद्धपश्चात् भएको पश्चाताप र संहारबारे अमेरिका अनभिज्ञ छैन् । अबका दिनमा सबै मिलेर यो विश्वलाई नै आणविक हतियाररहित र शान्तिक्षेत्र बनाउनुपर्छ, यसका लागि सबै सँगै जुटौँ ।’

जाने कि नजाने दुविधाबीच राष्ट्रपति ओबामा उक्त जापानी सहरमा पुगेका हुन् । अमेरिकी राष्ट्रपतिको हैसियतमा हिरोसिमाको भ्रमण गर्ने उनी नै पहिलो राष्ट्रपति बनेका छन् । सत्तरी वर्षपछिको यो ऐतिहासिक भ्रमणबाट विश्वमा शान्तिका लागि एक नयाँ सन्देश पनि पुगेको छ । हुन त हिरोसिमामा १ लाख ४० हजार मान्छे मारिए तर त्योभन्दा बढी सिरियामा गएका चार वर्षमा मारिएका छन् । तर, यसको नाम विश्वयुद्ध भने होइन । बिगतमा जे जस्तो भए पनि अबको विश्व निशस्त्र विश्व या आणविक शक्तिविहीन विश्व नै मानवकल्याणको सर्वाेत्तम उपाय हो ।

प्रतिक्रिया