अबको लक्ष्य आर्थिक समृद्धिको : राष्ट्रपति

bidhya bhandari1काठमाडौं, १४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवस २०७३ का अवसरमा राष्ट्रिय एकताका जगमा शान्त, समुन्नत, समृद्ध, सन्तुलित र समावेशी संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको विकासमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेकी छन् ।

पहिलो पटक संविधानसभाबाट नेपालको संविधान २०७२ जारी भएको र यसको कार्यान्वयनका सुरु भइरहेको उल्लेख गर्दै राष्ट्रपतिले सन्देशमा ऐतिहासिक संविधानले लामो समयको राजनीतिक द्वन्द्व र संक्रमणको विधिवत् अन्त्य गरी नेपाली जनतालाई पूर्ण सार्वभौम बनाएको उल्लेख गरेकी छन् ।

राजनीतिक अधिकार सुनिश्चित भएको वर्तमान परिप्रेक्ष्यमा सिंगो मुलुक आन्तरिक स्रोत र साधनको अत्याधिक सदुपयोग, कृषिको आधुनिकीकरण, पर्यटन विकास, वातावरण संरक्षण, बृहत्तर विकासका पूर्वाधार निर्माण, आधुनिक उद्योगधन्दाको स्थापना र रोजगारीको प्रवद्र्धनमा केन्द्रित हुनुपर्ने राष्ट्रपति भण्डारीले सन्देशमा उल्लेख गरेकी छन् ।

यसै उपलक्ष्यमा उपराष्ट्रपति नन्दबहादुर पुनले अबको ध्यान देशको प्रत्येक कुनाका नागरिकले प्रत्यक्ष अनुभूत गर्ने गरी आर्थिक, सामाजिक रूपान्तरणसहितको समुन्नत र समृद्ध नेपाल निर्माणमा केन्द्रित हुनुपर्ने बताएका छन् ।

उनले अब संविधान कार्यान्वयन, समृद्धि र राष्ट्र निर्माण सब नेपालीको साझा कार्यभार बन्नुपर्ने उल्लेख गरेका छन् । मुलुकलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपाल घोषणा गरिएको नौ वर्ष पुगेका उपलक्ष्यमा स्वदेश तथा विदेशमा शनिबार गणतन्त्र दिवस मनाइँदै छ ।

जनआन्दोलन ०६२÷६३ को जगमा भएको निर्वाचनबाट गठित संविधानसभाको पहिलो बैठकले ०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो । २ सय ३८ वर्ष लामो शाहवंश राजपरम्पराको अन्त्यको घोषणा भएको उक्त दिनलाई प्रत्येक वर्ष गणतन्त्र दिवसका रूपमा मनाउन थालिएको छ ।

राष्ट्रपति गणतन्त्र दिवसका अवसरमा सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने विशेष समारोहमा सरिक हुने छिन् । गणतन्त्र दिवस मूल समारोह समितिद्वारा बिहान आयोजना हुने उक्त समारोहमा उपराष्ट्रपति र प्रधानमन्त्री पनि सहभागिता रहने छ ।

राष्ट्रपतिले नवाँै गणतन्त्र दिवसको उपलक्ष्यमा शनिबार नै राष्ट्रपति भवन शीतल निवासमा स्वागत समारोह एवं जलपान समारोहको आयोजना गरेकी छन् ।

विदेशस्थित नेपाली राजदूतावास, नियोग तथा वाणिज्य दूतावासमा पनि गणतन्त्र दिवसका विभिन्न कार्यक्रम हुने छन् । रेडियो नेपाल लगायत विद्युतीय सञ्चारमाध्यमले गणतन्त्र दिवससँग जोडेर विभिन्न कार्यक्रम सञ्चालन गर्ने छन् ।

गणतन्त्र दिनकै अवसर पारेर प्रत्येक वर्ष १५ जेठ नै आगामी आवको आयव्ययको विवरण (बजेट) प्रस्तुत गर्ने संवैधानिक व्यवस्था छ । संसद्को शनिबारको अपराह्न ४ बजे बस्ने बैठकमा अर्थमन्त्रीले आगामी आवको बजेट प्रस्तुत गर्नेछन् ।

प्रतिक्रिया