पत्र आए वार्तामा बस्छौँ : गठबन्धन

काठमाडौं, १४ जेठ । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चासहितको संघीय गठबन्धनले सरकारले औपचारिक पत्र पठाएको खण्डमा वार्तामा बस्ने संकेत गरेको छ ।

गठबन्धनमा आवद्ध दलका नेताको शुक्रबार बिहान संघीय समाजवादी फोरम नेपालको कार्यालयमा बसेको बैठकले वार्तामा बस्ने संकेत गरेको हो । बैठकले मोर्चाको नाममा लेखिएको पत्रका आधारमा वार्तामा नजाने निर्णयसहित वार्ताका लागि गठबन्धनका नाममा पत्र आउनुपर्ने सर्त राखेको छ ।

सरकारले गठबन्धनका नाममा पठाउने पत्रका आधारमा वार्ताका बारेमा ठोस निर्णय लिने बैठकमा सहभागी नेताहरूले बताएका छन् । गठबन्धनका प्रवक्ता परशुराम तामाङले वार्ताका लागि सरकारले अहिलेसम्म गठबन्धनलाई पत्राचार नगरेको र पत्राचार गरेको अवस्थामा गठबन्धनले यस बारेमा आवश्यक निर्णय लिने बताए । गठबन्धनको बैठकले काठमाडौं केन्द्रित आन्दोलनले पहाडे र मधेसी समुदायबीचको असमझदारी कम गरेको निष्कर्षसहित १७ जेठपछि आन्दोलनलाई देशव्यापीरूपमा विस्तार गर्ने निर्णय गरेको छ । बैठकले केन्द्र, प्रदेश र जिल्ला तहमा रिले अनसन र अन्य कार्यक्रम गर्ने तथा त्यसका लागि प्रदेश र जिल्लास्तरमा आन्दोलन परिचालन समिति गठन गर्ने निर्णय गरेको छ ।

प्रवक्ता तामाङले १७ जेठमा पोखरामा हुने सभामार्फत दोस्रो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने बताए । दोस्रो चरणका आन्दोलनका कार्यक्रम सडक अवरोध गर्ने खालका नहुने बरु विभिन्न राजनीतिक दल, उद्योगी व्यवसायी र विभिन्न पेसाकर्मीहरूसँग संवाद गर्ने खालका हुने गठबन्धनका नेताहरूले बताएका छन् ।

प्रतिक्रिया