पाकिस्तानद्वारा मुल्लाह मारिएको पुष्टि

इस्लामावाद, १३ जेठ । अफगान सशस्त्र विद्रोही संगठन तालिवानका नेता मुल्लाह अख्तर मन्सुर पाकिस्तानमा भएको सैनिक कारबाहीमा मारिएको पाकिस्तानले पनि पुष्टि गरेको समाचार छ । उनको निधन भइसकेको तालिवान संगठनले पुष्टि गरेको एक दिनपछि बिहीबार पाकिस्तानले पनि सो समाचारको पुष्टि गरेको पाकिस्तानको राजधानी इस्लामावादबाट बिहीबार प्राप्त समाचारमा जनाइएको छ ।

पाकिस्तानी प्रधानमन्त्री नवाज सरिफका विदेश मामिलासम्बन्धी सल्लाहकार सरताज अजिजले मुल्लाह मारिएको पुष्टि गरेका हुन् । उनले बिहीबार राजधानी इस्लामावादमा सो जानकारी गराएका छन् । उनले भनेका छन्, पाकिस्तानमा अमेरिकी सेनाको कारबाहीका क्रममा तालिवानका नेता मुल्लाह अख्तर मारिएका छन् ।

अफगानस्तिानमा विगतका वर्षहरुदेखि सशस्त्र विद्रोह र हिंसा मच्चाइरहेको सो संगठनका मुख्य नेताको मृत्युको समाचार केही दिनयतादेखि विभिन्न सञ्चारमाध्यममा आएको थियो । तालिवानले बुधबार मात्र आफ्नो वेभसाइटमा सो समाचारको आधिकारिकताको समाचार राखेका छन् । उनीहरुले सो संगठनका प्रमुखको निधन भएको भन्दै उक्त स्थानमा अर्का नेताको चयन भएको समाचार पनि राखेका छन् ।

अमेरिकी सेनाको हवाई कारबाहीका क्रममा ती मुल्लाह पाकिस्तानमा मारिएका हुन् । उनको हत्याको समाचार अमेरिकी सेनाले दिएको थियो । यसअघि मुल्लाहको मृत्यु अफगानिस्तानमा शान्ति स्थापनाका लागि एक महत्वपूर्ण उपलब्धि भएको टिप्पणी अमेरिकाले पनि गरेको थियो ।

प्रतिक्रिया