मानवअधिकारको रक्षा गर्न सरकार प्रतिबद्ध

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार मानवअधिकारको रक्षा र संरक्षण गर्न प्रतिबद्ध भएको बताएका छन् । राष्ट्रिय मानवअधिकार आयोगको १७औँ स्थापना दिवसका अवसरमा बिहीबार आयोजित चियापानमा उनले मानवअधिकारको अवस्था अझ सुदृढ बनाउँदै लानुपर्छ, मानवअधिकारको रक्षाका लागि सरकार सदा समर्पित रहने बताए । प्रधानमन्त्री ओलीले बेलाबेलामा हुने गरेको राजनीतिक असहमतिका कारण पनि मानवअधिकारको हनन् हुने गरेको बताउँदै राजनीतिक दलबीचको समस्याको चाँडै समाधान खोज्ने बताए ।

आयोगका अध्यक्ष अनुपराज शर्माले मानवअधिकारको संरक्षण गर्नका लागि राजनीतिक दलबीच देखिएको असमझदारीलाई चाँडो सहमति गर्दै भूकम्पबाट घरबारविहीनलाई वर्षाअगावै आवास निर्माण गर्नुपर्नेमा जोड दिए । उनले आयोगले गरेका सिफारिसलाई कार्यान्वयन गर्न सरकारलाई गम्भीरतापूर्वक लिन आग्रह गर्दै मानवको स्वतन्त्रता, समानता, मर्यादा र सम्मानपूर्वक बाँच्न पाउने विषय मानिसको नैसर्गिक अधिकारका रूपमा लिनुपर्नेमा जोड दिए ।

सो अवसरमा ‘आयोगले गरेका महत्वपूर्ण सिफारिसको सँगालो–२०७३’ र गतिविधि समेटिएको ‘संवाहक’ पत्रिका सार्वजनिक गरिनाका साथै १५ वर्षदेखि निरन्तर सेवा गर्दै आएका आयोगका ६ कर्मचारीलाई सम्मान गरियो । आयोगले ‘दयाराम परियार मानवअधिकार स्मृति सम्मान, २०७२’ बाट जनकपुरका पत्रकार श्यामसुन्दर शशी र बेचबिखनमा परेका महिलाको उद्धार तथा पुनःस्थापना गर्दै आएकी चरिमाया तामाङलाई पनि सम्मान गरेको छ । (सौस)

प्रतिक्रिया