काठमाडौं, १३ जेठ । भूकम्प र भारतीय नाकाबन्दीका कारण सन् २०१५ मा विदेशी पर्यटकको आगमन घट्यो । तर, पर्यटकबाट हुने कुल आम्दानी भने अघिल्लो वर्षको तुलनामा बढेको छ ।
नेपाल बस्ने पर्यटकले औसत खर्च बेसी गर्दा कुल आम्दानी बढेको हो । विभिन्न मुलुकबाट सन् २०१५ मा ५ लाख ३८ हजार ९ सय ७० जना पर्यटक नेपाल भित्रिए । जुन अघिल्लो वर्षको तुलनामा झन्डै साढे २ लाखले कम हो । सोही अवधिमा पर्यटकबाट ४८ अर्ब ६३ करोड ४१ लाख रूपैयाँ आम्दानी भएको छ । यो आम्दानी अघिल्लो वर्षको तुलनामा झन्डै २ अर्बले बढी हो ।
सन् २०१५ मा नेपाल भ्रमणमा आउने विदेशी पर्यटकको संख्या अघिल्लो वर्षको तुलनामा ३२ प्रतिशतले कम हो । अर्थमन्त्रालयले सार्वजनिक गरेको आर्थिक सर्वेक्षणअनुसार सन् २०१४ मा ७ लाख ९० हजार १ सय १८ पर्यटक नेपाल भित्रिएका थिए । यी पर्यटकबाट ४७ अर्ब १७ करोड ६९ लाख रूपैयाँ आम्दानी भएको थियो ।
सन् २०१५ मा पर्यटकको प्रतिदिन औसत बसाइँ दर र खर्च गर्ने दर बढेपछि पर्यटक घटे पनि आम्दानी बढ्न गएको हो । सर्वेक्षणअनुसार सन् २०१४ मा प्रतिपर्यटक प्रतिदिन खर्च ४६ दशमलव ४ अमेरिकी डलर थियो । यो दर हृवात्तै बढेर सन् २०१५ मा ७० डलर पुगेको छ । जुन अघिल्लो वर्षको तुलनामा २३ दशमलव ६ डलरले बढी हो ।
यो अवधिमा पर्यटकको औषत बसाइँ दर पनि बढेको देखिन्छ । अघिल्लो वर्ष प्रतिपर्यटक बसाइँ अवधी औसत १२ दशमलव ४४ दिन रहेकोमा गतवर्ष १३ दशमलव १ दिन पुगेको छ । यसलाई पनि सुधारको रूपमा लिनुपर्ने पर्यटन व्यवसायी बताउँछन् । नेपाल भ्रमणमा आएका अधिकांश विदेशी पर्यटकको उद्देश्य रमाइलो गर्दै बिदा मनाउने रहेको छ । सन् २०१५ को अवधिमा आएका कुल पर्यटकमध्ये ७१ दशमलव ६ प्रतिशत बिदा मनाउने उद्देश्यले नेपाल भ्रमण गरेका थिए ।
यसैगरी, २ दशमलव २ प्रतिशत पदयात्रा, २ दशमलव ८ प्रतिशत तीर्थयात्रा, ३ दशमलव ९ प्रतिशत व्यापार, २ दशमलव ८ प्रतिशत अध्ययन रोजगारी, १ दशमलव ७ प्रतिशत सभा र सम्मेलन, ४ प्रतिशत कार्यालयसम्बन्धी, ११ प्रतिशत अन्य उद्देश्यले नेपाल भ्रमणमा आएको सर्वेक्षणमा उल्लेख छ । विगत १० वर्षको पर्यटक आगमन हेर्दा बिदा मनाउन, मनोञ्जन गर्न, पदयात्रा, पर्वतारोहण तथा तीर्थयात्राको उद्देश्यले आउने पर्यटकको संख्या दुईतिहाईभन्दा बढी देखिएको छ ।
समीक्षा अवधिमा सबैभन्दा बढी पर्यटक भारतबाट आएका छन् । सन् २०१५ मा नेपाल भ्रमणमा आउने कुल पर्यटकमध्ये भारतीयको हिस्सा १४ प्रतिशत रहेको छ । दोस्रो नम्बरमा चीन रहेको छ । चिनियाँ पर्यटकको हिस्सा १२ प्रतिशत, अमेरिकन १० प्रतिशत, श्रीलंकन ८ प्रतिशत र थाईको ६ प्रतिशत रहेको छ ।
यी ५ वटा देशबाट आएका पर्यटकको हिस्सा कुल पर्यटकको ४८ प्रतिशत हुन आउँछ । भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनी नेपालको मुख्य पर्यटकीय गन्तव्य बनेको छ । सन् २०१५ मा ७ लाख ४८ हजार २ सय ९४ जनाले लुम्बिनी भ्रमण गरेका थिए । जसमध्ये ४ लाख ८८ हजार ८ सय ५२ नेपाली, १ लाख ३० हजार २ सय ६२ भारतीय र १ लाख २९ हजार १ सय ८० जना तेस्रो मुलुकका पर्यटक रहेका छन् ।
प्रतिक्रिया