प्रधानमन्त्रीले झुठ बोले : ‘मसँग सल्लाह भएको छैन’

Mahantha-Thakur copyकाठमाडौं, १२ जेठ । तराई–मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले प्रधानमन्त्रीले दाबी गरेजस्तै आफूहरूसँग सल्लाह गरेर सर्वदलीय बैठकको समय तय नभएको स्पष्ट पारेका छन् । ठाकुरले प्रधानमन्त्रीले झुठो बोलेर भ्रम छर्न खाजेको आरोपसमेत लगाए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान आह्वान गरेको सर्वदलीय बैठकमा संघीय लोकतान्त्रिक मधेसी मोर्चा अनुपस्थित भएपछि आफूसँग सल्लाह गरेर समय तय गरेर मोर्चाका नेताहरू बैठकमा नआएको आरोप लगाएका थिए । बैठकबाट बाहिरिँदै कानुनमन्त्री अग्नी खरेलले पनि सोही कुरा दोहो¥याएका थिए ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार प्रमोद दाहालले बैठकपछि जारी गरेको प्रेस नोटमा ‘९ बजे बोलाउने भनिएको बैठक ठाकुरको आग्रहमा साढे १० बजे सारिएको तर पछि मोर्चाका नेताहरू उपस्थित नभएको’ उल्लेख छ ।

मिडियामा यसबारे व्यापक चर्चा भएपछि सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतो र मधेसी जनाधिकार फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादव ठाकुरलाई भेट्न बुधबार दिउँसो उनको पार्टी कार्यालय पुगेका थिए । अनौपचारिक छलफलको क्रममा २ नेताले हिजोको बैठक र प्रधानमन्त्रीको दाबी बारे ठाकुरसमक्ष जिज्ञासा राखेका थिए । जवाफमा ठाकुरले प्रधामन्त्रीको दाबी गलत भएको नेताहरूसमक्ष कुरा राखेका थिए ।

प्रधानमन्त्रीले आह्वान गरेको बैठकमा नगएपछि अब मोर्चाको कदम के हुने भन्ने विषयमा पनि छलफल भएको तमलोपा स्रोतले बतायो । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष तथा संघीय गठबन्धनका संयोजक उपेन्द्र यादव बाहिर रहेको कारण उनी फर्किएपछि मोर्चाको बैठक बसेर थप निर्णय गरिने भएको छ । छलफलबारे सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोसँग बुझ्न खोज्दा उनले यसअघिझैँ कुनै छलफल गर्नभन्दा पनि ठाकुरको स्वास्थ्य स्थिति बुझ्न मात्र आफू तमलोपा कार्यालय पुगेको जवाफ दिए ।

यसैबीच गठबन्धनका संयोजक उपेन्द्र यादवले राज्यले अहिले पनि औपचरिक रूपमा वार्तमा नबोलाएको बताएका छन् । यादवले पत्रिकामा वार्ताको लागि निकालेको टेन्डरको भरमा वार्तामा नजाने अडान दोहो¥याएका छन् ।

भैरहवामा पार्टीले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै यादवले राज्य गैर जिम्मेवार तरिकाले प्रस्तुत भएको आरोप लगाए । ‘हामी वार्ताको विषयमा नकारात्मक छौँ, तर ३६ पटक वार्तामा बसिसक्दा पनि सरकारले चासो देखाएन’ यादवले भने, ‘हामी अहिले पनि वार्तामा बस्न तयार छौँ तर ओली सरकारले विश्वासको वातावरण बनाउनुप¥यो ।’

रूपन्देहीको धकधईमा पार्टीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्न आएका अध्यक्ष यादवले वार्ताको लागि पहिलो सर्त गठबन्धनका कार्यकर्तामाथि भएको धरपकड बन्द गर्नुपर्ने र थुनामा रहेका कार्यकर्तालाई निःशर्त छोडेर ओली सरकारले वार्ताको लागि विश्वासको वातावरण बनाउन आग्रह गरे ।

यसैगरी राज्यसँग यसअघि भएको सम्झौता कार्यान्वयनको प्रतिबद्धता र त्यसको थालनी गर्ने र प्रतिगामी संविधान र अधिकार खोसिएकाले हामीले उठाएका मुद्दाहरू समेट्दै संविधान पुनर्लेखन गर्ने प्रतिवद्धता भए मात्र वार्तामा बस्न सकिने उनले बताए ।

यसैगरी वर्तमान सरकारले स्थानीय निकायको चुनाव घोषणा गरेर संघीयता नै धरापमा पारेको उनले आरोप लगाए । स्थानीय निकायको चुनाव संघीय संरचना अनुसार फरकफरक प्रकृतिको हुनसक्ने भएकोले ओली सरकारले संक्रमणको मौका पारी स्थानीय निकायमा आफ्नो पकड बनाउन खोजेको उनको आरोप छ ।

उनले ओली सरकारले चुनाव गर्नै नसक्ने दाबी गरे । शाहीकालमा झै पेलेर चुनाव गर्न खोजे आफूहरूले त्यसको सशक्त प्रतिवाद गर्ने पनि उनले बताए ।

१५ जेठसम्म मात्र काठमाडौं केन्द्रित आन्दोलन रहेको त्यसपछि मौसम अनुकूल आन्दोलनका थप कार्यक्रमहरूको घोषणा गर्ने उनले बताए ।

प्रतिक्रिया