काठमाडौं, ९ जेठ । राप्रपाका वरिष्ठ नेता पशुपति शम्शेर राणाले मधेस आन्दोलनलाई समाधान गर्न आफ्नो पार्टीले त्यस क्षेत्रमा २ प्रदेश बनाउनुपर्ने माग गरेको बताएका छन् ।
दरबारमार्गस्थित अन्नपूर्ण होटलको परिसरमा सञ्चालनमा ल्याइएको अन्तर्राष्ट्रिय मापदण्डको कपाल काट्ने सैलुन ‘अन्नपूर्ण सैलुन’को उद्घाटन गर्दै उनले मुलुकमा विद्यमान समस्या समाधानका लागि सरकार संवेदनशील नभएको बताए ।
उनले संविधान कार्यान्वयनका लागि दलबीच समन्वय हुनु जरुरी रहेको औँल्याउँदै तत्काल राष्ट्रिय सरकार गठन हुने सम्भावना भने नरहेको प्रस्ट पारे । नेता राणाले सेवाग्राहीको मागअनुसार अत्याधुनिक सेवा सुविधा उपलब्ध गराउन सैलुनका सञ्चालकलाई आग्रह गरे ।
आइतबारदेखि सञ्चालनमा आएको सो सैलुनमा फेसियल, हेड मसाज, हात खुट्टाका नङ काट्ने, कपाल रङरोगन गर्नेलगायत सुविधा उपलब्ध गराइएको छ । सैलुनमा कपाल काट्ने तथा ब्युटिसियनको क्षेत्रमा उच्च तालिम हासिल गरेका विशेषज्ञले महिला तथा पुरुष दुवैलाई सेवा उपलब्ध गराउनेछन् । सैलुनका सञ्चालक विजय ठाकुरले उच्च घराना तथा विदेशीलाई लक्षित गरी सो सैलुन सुरु गरिएको जानकारी दिँदै सेवाग्राहीको मागअनुसार सुविधा उपलब्ध गराउँदै जाने प्रतिवद्धता व्यक्त गरे ।
प्रतिक्रिया