गाउँ नै शोकाकुल

दमौली, ८ जेठ । लमजुङको मध्यनेपाल नगरपालिका–५ तामाखानीस्थित तारेभिरबाट गत बिहीबार साँझ बस दुर्घटनामा परी ११ जनाको मृत्यु भएपछि जिताकोट गाउँ पूरै सन्नाटा छाएको छ । एउटै गाउँका ११ जना व्यक्तिको ज्यान जाने गरी भएको उक्त दुर्घटनाले पूरै गाउँमा सन्नाटा छाएको हो ।

तनहुँको दमौलीबाट २४ यात्रु बोकेर दुईपिप्ले, सोतीपसल हुँदै जिताकोट तान्द्राङतर्फ जाँदै गरेको ना ६ ख ४१३६ नंको बस कच्ची सडकबाट २ सय मिटर तल खसी दुर्घटना हुँदा ती व्यक्तिको मृत्यु भएको हो । घटनास्थलमै ९ जना र २ जनाको मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो । मृतक सबैको सनाखतपछि आफन्तले परीक्षण गरी शव बुझिसकेका छन् । शव बुझी दाहसंस्कारका लागि लैजाने क्रममा शुक्रबार परिवारजन र आफन्तमा रुवाबासी चलेको थियो । मृतकका परिवारलाई सान्त्वना दिन दमौली अस्पताल पुग्ने सबैका आँखाबाट आँसु रसाएको थियो । ले. देवबहादुर गुरुङले पनि सो घटना निकै दर्दनाक रहेको बताए ।

सो घटनाले लमजुङको जिताकोट तान्द्राङ टक्सारका साथै मध्यनेपाल नगरपालिका क्षेत्र नै शोकमा डुबेको बताइएको छ । पूरै गाउँ नै क्षति हुने गरी भएको सो घटनाले सबैमा सन्नाटा छाएको गाउँलेको भनाइ छ । सोही दुर्घटनामा परी घाइते भएका ७ जनाको मणिपाल शिक्षण अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । बसचालक तनहुँको क्यामिन घर भएका सुरेश विकलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको छ ।

यसैबीच तनहुँको व्यास नगरपालिका–५ कुमालटारीस्थित नरबहादुर थापाको गोठमा शुक्रबार राती एक्कासि आगलागी हुँदा ८ वटा बाख्रा मरेका छन् । आगलागीबाट जलेर गोठ खरानी हुँदा ८ वटा चौपाया मरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । गोठमा आगो लाग्नुको कारण भने खुल्न सकेको छैन । रातमा आगलागी भएकाले समयमा आगो निभाउन नसक्दा उक्त क्षति भएको पीडित परिवारले जनाएको छ ।

प्रतिक्रिया