अधिकार लिएरै फर्कन्छौँ : महतो

Rajendra-Mahato-Indian-Dalaकाठमाडौं, ८ जेठ । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आफूहरू काठमाडौंबाट अधिकार लिएर मात्रै फर्कने बताएका छन् । थापागाउँस्थित पार्टी कार्यालयमा शनिबार पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष महतोले काठमाडौं केन्द्रित मधेसी मोर्चासहितको संघीय गठबन्धनको शान्तिपूर्ण आन्दोलनलाई थप प्रभावकारी बनाइने उल्लेख गरे ।

‘हामी त्यसै कर्मकाण्डी आन्दोलनका लागि काठमाडौं आएका हैनौँ, अधिकार प्राप्तिका निम्ति आएका हाँै । आन्दोलनलाई निर्णायक बनाइ अधिकार लिएर मात्रै फर्कन्छौँ’ उनले भने । महतोले काठमाडौंबाट खाली हात फर्कनु परे आफ्नै ठाउँ मधेसमा गएर आन्दोलनलाई झनै कठोर बनाउने र त्यो आन्दोलन नियन्त्रणबाहिर हुने दाबी गरे ।

अहिले पनि सरकारले गम्भीरता देखाए आफूहरूले वार्ताबाटै समस्याको समाधान चाहेको उल्लेख गर्दै उनले थपे ‘सरकारले वार्ताको वातावरण बनाउन मधेस आन्दोलनका क्रममा मारिएका व्यक्तिलाई सहिद घोषणा, पीडितलाई क्षतिपूर्ति र मुद्दा फिर्ता गर्नुपर्छ ।’

यसैबीच संघीय समाजवादी फोरम नेपाल आबद्ध मधेसी ट्रेड युनियन महासंघले औपचारिक रूपमा सद्भावना पार्टीमा आबद्ध भएको घोषणा गरेको छ । समाजवादी फोरमका केन्द्रीय सदस्यसमेत रहेका महासंघका अध्यक्ष पल्टन ठाकुरसहितका पदाधिकारीसहित सदस्यहरू सद्भावना पार्टीमा प्रवेश गरेका हुन् । अध्यक्ष ठाकुर, केन्द्रीय विभाग सदस्य अशोककुमार यादव, रोजगारी तथा श्रम विभाग सदस्य मधुमाया यादव, महिला फोरम सचिव डा. रिना यादव, विनोद विश्वकर्मा, सुरेश गुप्तासहितलाई सद्भावना अध्यक्ष राजेन्द्र महतोले टीका लगाएर पार्टी सदस्यता प्रदान गरे ।

महासंघ अध्यक्ष ठाकुरले फोरम समाजवादीले आफ्ना मागको सुनुवाइ नगरेको, एकीकरणको बहानामा आफ्नो दलको नामबाटै मधेसी शब्द उन्मूलन गरी मजदुरलाई मर्माहत तुल्याएकाले पार्टी आबद्धता अन्त्य गरी सद्भावना पार्टीको शुभेच्छुक संस्थाका रूपमा आबद्ध भएको विज्ञप्तिमार्फत घोषणा गरे । महासंघमा १५ वटा राष्ट्रिय संघ रहेका र जम्मा १ लाख ६५ हजार सदस्य रहेको बताइएको छ ।

प्रतिक्रिया