‘छायाँ’ र ‘पशुपति प्रसाद’ वर्षको विशेष चलचित्र

pashupati-prasadकाठमाडौं, ७ जेठ । चलचित्र विकास बोर्डले २ वटा नेपाली चलचित्रलाई वर्षको विशेष चलचित्र घोषणा गरेको हो । बोर्डले ‘पशुपति प्रसाद’ र ‘छायाँ’लाई विशेष चलचित्र घोषणा गरेको हो ।

विकास बोर्डले शुक्रबार आयोजित कार्यक्रममा ०७२ वैशाख १ गतेदेखि ०७२ चैत मसान्तभित्र केन्द्रीय चलचित्र जाँच समितिबाट जाँच पास भएका नेपाली चलचित्रहरूलाई विशेष चलचित्र छनोटको लागि आवेदन आव्हान गरेको थियो उक्त सूचनाका आधारमा आवेदन पर्न आएका चलचित्रहरूमध्येबाट विशेष चलचित्र छनोट कार्यविधि, ०७२ को मापदण्ड अनुसार यी २ वटा चलचित्रलाई विशेष घोषणा गरेको बोर्डले जनाएको छ ।

‘पशुपति प्रसाद’लाई टुकी आर्टस् प्रालिको ब्यानरमा दिपेन्द्र के खनालले निर्देशन गरेका हुन् । यो चलचित्रमा खगेन्द्र लामिछानेको मूख्य अभिनय छ । बाल आवाजद्वारा निर्मित ‘छायाँ’का निर्देशक मनोज पण्डित हुन् । यो चलचित्रमा अनुप बराल, साइब्रत आचार्यलगायतको मुख्य अभिनय छ ।

यसैगरी विकास बोर्डले नियमित रूपमा प्रकाशन गर्दै आएको ‘चलचित्र मञ्च’ नामक पुस्तक पनि विमोचन गरेको छ । यस अंकको आकर्षणमा बोर्डबाट हालसम्म सम्पादित मुख्यमुख्य कामहरू, बोर्डले ०६२ सालदेखि ०७२ सम्म आयोजना गरेको राष्ट्रिय चलचित्र पुरस्कार तथा सम्मानसम्बन्धी विवरण, बोर्डबाट छात्रवृत्ति प्राप्त गर्ने विद्यार्थीहरूको नामावली, राष्ट्रिय चलचित्र नीति, ०७१, ०७२ सालमा सार्वजनिक प्रदर्शन भएका स्वदेशी तथा विदेशी चलचित्रहरूको विवरण, बोर्ड स्थापनादेखि हालसम्मका कार्यसमिति पदाधिकारीहरूको नामावली, विदेशी चलचित्र निर्माताले नेपालमा चलचित्र छायांकनसम्बन्धी विवरण आदि समावेश गरिएको छ ।

शुक्रबार आयोजित कार्यक्रममा चलचित्र विकास बोर्डले बोर्डको १६औँ वार्षिकोत्सवका अवसरमा यही १६ असार ०७३ का दिन विगतका वर्षमा झैँ राष्ट्रिय चलचित्र पुरस्कार तथा दीर्घ साधना कार्यक्रमका लागि तयारी सुरुआत गरेको जानकारी दिएको छ । स्नातक तहमा चलचित्रसम्बन्धी विषयमा अध्ययनरत विद्यार्थीहरूलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको बताउँदै कार्यक्रममा बोर्डका अध्यक्ष राजकुमार राईले नेपालमा चलचित्रसम्बन्धी विभिन्न विषयहरूमा स्नातक तहमा अध्यापन गराउने एक मात्र कलेज ओस्कार इन्टरनेसनल कलेज (कलेज अफ फिल्म स्टडिज) लाई निरन्तरता दिएको बताए ।

काठमाडौंमा अध्ययन गर्ने विद्यार्थीलाई विगत ०६१ सालदेखि हालसम्म चलचित्र विकास बोर्डबाट निरन्तररूपमा छात्रवृत्तिको व्यवस्था गर्दै आएकोमा यसवर्ष खुलातर्फ ५ जना विद्यार्थी, र आरक्षणतर्फ ५ जना विद्यार्थी (महिलातर्फ) २ जना विद्यार्थी, आदिवासी जनजाति, मधेसी र दलिततर्फ (३ जना विद्यार्थी ) गरी वार्षिक १० जना विद्यार्थीलाई छात्रवृत्ति रकम बोर्डले उपलब्ध गराउने भएको छ । चलचित्र विकास बोर्डबाट ०६१ सालदेखि हालसम्म आइपुग्दा करिब ५६ जना विद्यार्थी लाई छात्रवृत्ति रकम उपलब्ध गराइसकिएको छ ।

प्रतिक्रिया