नांगो पाखामा वृक्षरोपण

मुस्ताङ । मुक्तिनाथ गाविस वडा नं १, २ र ३ का स्थानीयवासीद्वारा मुक्तिनाथ मन्दिर प्रवेशद्वार नजिकै रहेको नांगो पाखामा वृक्षरोपण गरेका छन् । गाउँ मुखियाको अगुवाइमा ३ वटा वडाका ६५ घरधुरीका स्थानीयवासीले वृक्षरोपण गरेका हुन् । हिन्दू र बौद्ध धर्मालम्बीको आस्थाको धरोहरका रूपमा प्रसिद्ध मुक्तिनाथ मन्दिर वरपरका क्षेत्रमा हरियाली बनाउने उद्देश्यले वृक्षरोपण गरिएको गाउँ मुखिया सुरज गुरुङले जानकारी दिए ।

स्थानीयवासीले जेठ महिनादेखि नै हरेक महिनाको पहिलो शनिबार मुक्तिनाथ परिसर र मुक्तिनाथ बजार क्षेत्रमा सरसफाइ गर्ने अभियानको समेत थालनी गरेका छन् । गाउँले मिलेर करिब ७ सय बोट रोपण गरिएको गाउँ मुखिया गुरुङले बताए । ‘नियमित सरसफाइ र वृक्षरोपणले मुक्तिनाथ र हाम्रो गाउँको एकतालाई थप मजबुत बनाएको छ, यसलाई आगामी दिनमा निरन्तरता दिनेछौँ’, उनले भने । मुक्तिनाथ क्षेत्रमै रहेका भोटेपीपलका बिरुवा रोपिएको बताइएको छ । वृक्षरोपणमा स्थानीय आमा समूह र युवा क्लबले पनि सहयोग गरेका थिए । (सौस)

प्रतिक्रिया