ताम्तीमा ट्र्याक्टर पुग्यो

जुम्ला । जिल्लाको दुर्गम गाविस ताम्तीमा पहिलोपटक ट्र्याक्टर पुगेपछि यहाँका स्थानीयवासी खुसीले दंग परेका छन् । सदरमुकाम जुम्लाबाट ४१ किलामिटर टाढा रहेको ताम्ती गाविसको टोप्ला गाउँमा गत बुधबार ट्र्याक्टर पुगेको थियो । घरआँगन अगाडि गाडी पुग्दा स्थानीयवासीले खुसी हुँदै त्यसको भव्य स्वागत गरेका थिए ।

पुस्तौँदेखि गधा झँै भारी बोक्दै आएका थियौँं, घन्टौंँ हिँडेर घर पुग्ने दिन अब सकिने भए, खुसी मुद्रामा स्थानीयवासी मानबहादुर शाहीले भने ।

त्यसैगरी, ताम्ती–७ डुंग्रीका स्थानीयवासी लालबहादुर शाहीले यति चाँडै घर अगाडि गाडी पुगेर सस्तोमा समान पाउँला भन्ने नचिताएको बताए । शाहीले भने, ‘यसअघि हामीले प्रति केजी १० रूपैयाँमा ढुवानी गर्दै आएको समान अब ४ रूपैयाँ मात्र तिरेर खान पाइने भयो ।’

गाडी पुग्नुअघि ताम्तीवासीले खच्चर, घोडा र व्यक्ति स्वयंले खाद्यान्नलगायतका अन्य मालसमान ढुवानी गर्दै आइरहेका थिए ।
जिल्ला विकास समितिअन्तर्गत विकेन्द्रीत ग्रामीण पूर्वाधार तथा जीविकोपार्जन सुधार कार्यक्रम(ड्रिल्प)द्वारा कुडारी–ताम्ती–टोप्लासम्म २१ किलोमिटर ग्रामीण सडक निर्माण गरेको हो । (सौस)

प्रतिक्रिया