चीनले बनायो केरुङमा ड्राईपोर्ट

काठमाडौं, ६ जेठ । चीनले चीन–नेपाल रेल सेवा सुरु भएको बताउँदै आएको छ । चीन सरकारको आधिकारिक न्युज पोर्टल नेसनल डेलीमा आएको समाचारलाई सबैजसो सञ्चार माध्यमले समाचार दिइरहेका छन् । चीन सरकारले नेपालमा सामान ढुवानी गर्नका लागि केरुङमा ड्राइपोर्ट अथवा सुख्खा बन्दरगाह बनाइसकेको छ । लान झाउबाट सिगात्सेसम्म रेल र त्यहाँबाट सडक मार्ग हुँदै केरुङ पुग्ने सामान राख्नका लागि बन्दरगाह (कन्टेनर पार्किङ गर्ने ठाउँ) बनाइएको हो ।

चिनियाँ भाषामा लेखिएको ब्यानरमा नेपाल–चीन रेल्वे सेवाले सफलतापूर्वक सञ्चालन भएको र नेपालमा सामान ढुवानी गर्ने कन्टेनरको लागि पार्किङ्स्वरूप बन्दरगाह निर्माण गरेको बताइएको छ । नेपालमा सामान ढुवानी गर्ने जिलोङ (केरुङ) बन्दरगाहमा हार्दिक स्वागत छ भनी लेखिएको छ । झन्डै ३ सय वटा कन्टेनर पार्किङ गर्न सक्ने स्थानलाई तारबार गरेर तयार गरिएको छ ।

केरुङ पुगेर फर्किएका रसुवागढी भन्सार कार्यालयका प्रमुख केदार पनेरुले सिगात्सेबाट आएका सामानहरू ओराल्ने र नेपाली कन्टेनरमा राख्ने काम भइरहेको बताए ।’ झन्डै ४ वटा रेलले ल्याएको सामान झार्ने ठाउँ तयार गरेको रहेछ’, उनले भने । लानझाउबाट गत बुधबार काठमाडौंका लागि रेल छुटेको समाचार पिपल्स डेलीले दिएको थियो । यी सामान १० दिनमा काठमाडौंमा पुग्ने उसले जनाएको थियो ।

‘१० वटा चिनियाँ ट्रकको सामान नेपाली ट्रकमा हाल्ने काम भइरहेको रहेछ’, बुधबार केरुङ पुगेका पनेरुले रसुवागढीबाट टेलिफोनमा भने, ‘चिनियाँ कन्टेनरबाट सामान निकाल्न स्टाइगर पनि राखिएको छ ।’ उनले केरुङमा व्यवसायीहरूले सामान नेपाली ट्रकमा लोड गरेर ल्याउन थालेको उल्लेख गर्दै अब प्रक्रिया अगाडि बढेको जानकारी दिए ।

पनेरुका अनुसार चीनबाट बुधबार मात्र ५९ वटा कन्टेनर नेपाल भित्रिएको छ । ‘सामान ट्रकमा आउने भएकाले रेलबाट ल्याएको सामान हो कि होइन भन्ने नै थाहा हुन्न’, उनले भने । परम्परागत रुटबाट सामान आउँदा ३५ दिन लाग्ने र अहिले १० दिनमा नेपाल आउने हुँदा ढुवानी खर्चकै कारण सामानको मूल्य बढ्ने समस्या अब नहुने उनले बताए । रसुवागढीबाट धुन्चे, नुवाकोटको बेत्रावती हुँदै धादिङको गल्छी भएर सामानहरू राजधानी भित्रिनेछ ।

प्रतिक्रिया