शृंखलाबद्ध बम विस्फोटमा ६९ को मृत्यु

बग्दाद, ५ जेठ । इराकको राजधानी बग्दाद र छिमेकी इलाकाहरूमा अवस्थित बजार र रेस्टुराँमा मंगलबार भएको शृंखलाबद्ध बम आक्रमणमा परी कम्तीमा ६९ व्यक्तिको मृत्यु भएको छ ।

४ छुट्टाछुट्टै इलाकामा आत्मघाती बम विस्फोटलगायतको बम आक्रमणहरू भएको थियो । उक्त विस्फोटमा परी अरू दर्जनौँ व्यक्ति घाइते भएका छन् । मंगलबार अपराह्न सो विस्फोटहरू भएको थियो ।

सिया मुसलमान समुदायको बलियो प्रभाव रहेको इलाकाहरूमा गरिएको यस आक्रमणको इस्लामिक स्टेट (आइएस) लडाकू समूहले आफ्नो बेवसाइटमार्फत जिम्मा लिएको छ । मारिनेहरूमा अधिकांश सर्वसाधारण परेका छन् । उनीहरूलाई आइएसका लडाकूले निशाना बनाएको समाचारमा उल्लेख छ ।

राजधानीमा आइएसका लडाकूले व्यस्त बजारमा आफैँमाथि बम विस्फोट गराएर आत्मघाती हमला गरेका जनाइएको छ । इराकको राजधानी र यसको नजिकका नगरहरूमा पछिल्लो समयमा हत्याको शृंखला बढेको छ ।

आत्मघाती हमलाकारी महिला रहेको इराकी प्रहरीले जानकारी दिएको थियो । इराकमा पछिल्लो समयमा आइएसले हमला गर्ने गरेको छ ।

इराकमा पछिल्लो समयमा फेरि हिंसा भड्किएको छ । इराकको राजधानी सहर बग्दाद र वरपरका सहरहरूमा गतहप्ता भएको आतंककारी आक्रमणहरूमा २ सयभन्दा बढी व्यक्तिको मृत्यु भएको थियो ।

केही समययतादेखि त्यहाँ हिंसा थप भड्किएको समाचारमा जनाइएको छ । गत शनिबार भएको ट्रकबम विस्फोटमा परी २४ व्यक्तिको मृत्यु हुनको साथै अन्य ३८ जना गम्भीररूपमा घाइते भएका थिए । सन् २०१४ को जुन महिनादेखि इराकको उत्तरी र पश्चिमी क्षेत्रमा इस्लामिक स्टेटका लडाकूहरूले कब्जा जमाएपछि इराक पुनः एकपटक हिंसाको चपेटामा फसेको छ ।

प्रतिक्रिया