फिलिपिन्स, ३ जेठ । फिलिपिन्सका नवनिवार्चित राष्ट्रपति रोड्रिगोे डुटेर्ते फिलिपिन्समा सन् २००६ मा खारेज गरिएको मृत्युदण्डको व्यवस्था पुनः फर्काउने जानकारी दिएका छन् । एक पत्रकार सम्मेलनमा उनले गत आइतबार सो कुरा बताएका हुन् । मृत्युदण्डको व्यवस्था फर्काउने कानुन बनाउनको लागि संसद्मा आवाज उठाइने र संसद्लाई यसको लागि तयार पारिने समेतले उनले बताएका छन् ।
यसैबीच उनले अपराधीलाई गोली हान्न पाउने अधिकार सुरक्षाकर्मीलाई दिइनेसमेत बताएका छन् । प्रहरीलाई शंकास्पद अपराधीहरूलाईसमेत गोली हान सक्ने अधिकारी दिइने उनले जानकारी दिएका छन् । त्यसैगरी रक्सीमा प्रतिबन्ध लगाउने, भवनहरूभित्र पनि धूमपान गर्न नदिइने जस्ता वाचा पनि उनले गर्ने बताइएको छ ।
मनिलामा अवस्थित राष्ट्रपति भवनलाई अस्पताल बनाइने जस्ता विवादास्पद वाचा पनि उनले गरेको बताइएको छ । यद्यपि, राष्ट्रपति डुटर्ते विवादास्पद अभिव्यक्तिको लागि चिनिनु हुन्छ । फिलिपिन्समा राष्ट्रपतिका लागि गत सोमबर भएको निर्वाचनमा रोड्रिगो डुटेर्ते विजयी भएका थिए ।
आफू राष्ट्रपति पदमा विजय भएपछि उनले अबका दिनमा अपराध नियन्त्रणका लागि प्रतिज्ञा गरेको समाचारमा जनाइएको थियो । डुटेर्ते आर्थिक सुधार र अपराध नियन्त्रणको मुद्दा लिएर चुनावी मैदानमा उत्रिएका थिए । उनी फिलिपिन्सको दक्षिणी सहर दाभाओको मेयरसमेत रहेका थिए । उनी उक्त दाभाओ सहरमा २२ वर्षसम्म मेयर भएका थिए ।
दाभाओ सहरको मेयर हुँदा पनि उनले अपराधविरुद्ध कडा कदम चालेको बताइन्छ । उनको कार्यकालमा सुरक्षाकर्मीहरूले १ हजारभन्दा बढी अपराधीलाई कारबाही स्वरूप गोली हानेको बताइन्छ । उनले ३९ प्रतिशत मत हासिल गरेका थिए भने उनको निकटतम प्रतिद्वन्द्वी म्यानुअल रोक्सासाले ३३ प्रतिशत मत हासिल गरी पराजय भएका थिए ।
फिलिपिन्समा सबैभन्दा बढी मत ल्याउने उम्मेदवारलाई विजयी घोषणा गर्ने कानुनी प्रावधान रहेको छ । राष्ट्रपतिका लागि सो देशमा ५० प्रतिशत मत ल्याउनुपर्ने कानुनी प्रावधान छैन । डुटेर्तेले राष्ट्रपति पदको शपथग्रहण आगामी जुन ३० मा मात्र हुने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया