फेरि उठ्नेछ नेपाल

Nepathya copy2काठमाडौं, २ जेठ । सामान्यतया राजधानीमा केकस्ता सांगीतिक कार्यक्रम भए भन्ने कुरामा जनसाधारणको खासै चासो हुन्न । तर, यसपटक आइतबाट जुधेका २ कार्यक्रमबारे भने निक्कै चर्चा परिचर्चा भए । यी कार्यक्रम हुन अगावै सोनाक्षी भर्सेस नेपथ्य भनियो र सँगै भारतीय नायिकाको प्रस्तुति विरुद्ध नेपाली रक ब्यान्ड नेपथ्य ।

भारतीय नायिकाद्वय सोनाक्षी सिन्हा र मलाइका अरोरालाई केन्द्रमा राखेर गरिएको ‘अमर पंक्षी’ले नेपाली मिडियामा त राम्रै कभरेज पायो । तर, एउटा तहमा ‘फेरि उठ्ने छ नेपाल’ले जति सहानुभूति र समर्थन पायो, त्यो स्तरको लोकप्रियता अहिलेसम्म नेपालमा भएका ‘सेलिब्रेटी ओरिअन्टिेड’ कार्यक्रमले सायदै पाएको थियो । ‘फेरि उठ्नेछ नेपाल’मा जान नपाएका युवाहरू भन्दै थिए, ‘जान नपाए पनि त्यहाँ मेरो मुटु छ ।’ यस्ता शब्द औपचारिकताका लागि भनिएका किमार्थ होइनन् । ‘मेरो नैतिक समर्थन छ’ यसमा उनीहरूको राजनीति थिएन, तर राष्ट्रियता थियो ।

दुबै कार्यक्रमको समाप्तिपछि धेरै युवाले सामाजिक सञ्जालमा विचार पोखे, ‘फेरि उठ्ने छ नेपाल नै राम्रो ।’ शनिबार जावलाखेल ग्राउन्डमा आयोजना भएको कन्सर्टमा गायक अमृत गुरुङ नेतृत्वमा रहेको नेपथ्य ब्यान्डले जोडदार प्रस्तुति दियो । २ घन्टा चलेको कन्सर्टमा नेपथ्यले थुप्रै युवाहरूलाई कतिखेर नचायो र कतिखेर रुवायो भन्ने पत्तो सहभागीहरूले पाउन सकेनन् ।

Nepathya copy‘गतवर्ष गएको विनासकारी भूकम्पबाट हामीले धेरै दुःख पायौँ,’ गायक अमृत गुरुङले भने, ‘विभिन्न भाषा र संस्कृतिले सम्पन्न हामी नेपालीले दुःखमा एकले अर्कालाई सहयोग गरेर अघि बढ्यौँ । नेपालीको परिचय यही हो ।’

भूकम्पपीडितको सहयोगार्थ आयोजित च्यारिटी कन्सर्टबाट उठेको रकम सानो पाइला, ऐश्वर्य चिल्ड्रेन होम, वर्क फर कज नेपाल र राइज अफ होप नेपाललगायत संस्थालाई प्रदान गरिनेछ । ‘गतवर्ष भूकम्प जाँदा अस्ट्रेलियामा सांगीतिक कार्यक्रम गरिरहेका थियौँ । नेपालको अवस्था सुनेर भावुक भएको थिएँ,’ कन्सर्टकै दौराना गायक गुरुङले भने ।

‘गतवर्ष हामी नेपालीहरूले धेरै दुःख पाएका थियौँ । भूकम्पबाट पीडित बनेका हामीहरू नाकाबन्दीको मारमा परेका थियौँ । यो सबै पीडाहरूलाई बिर्सिएर सकारात्मक सोच लिएर अब अघि बढ्नुपर्छ भन्ने सन्देश लिएर कन्सर्टको आयोजना हुन गरेका हौँ,’ नेपालयका अर्पण शर्माले भने, ‘२ घन्टा चलेको कन्सर्टमा नेपथ्यले नयाँ र पुराना गीतहरू प्रस्तुत गरेको थियो ।’ नेपालयले सांगीतिक नेपाली ब्यान्ड नेपथ्यको कन्सर्टहरू व्यवस्थापन गरिरहेको छ ।

यसअघि नेपथ्यले सन् २०१३ मा पाटन दरवार क्षेत्रमा सांगीतिक कार्यक्रमको आयोजना गरेको थियो । नेपथ्यले ‘मेरो देश’, ‘भेडाको ऊनजस्तो’, ऐना झ्याल’ लगायत एल्बम सार्वजनिक गरिसकेका छन् ।

नेपाली मौलिक संगीतका कारण युवा पुस्तामा चर्चित नेपथ्य, २ दशकभन्दा बढी नेपाली संगीतमा सक्रिय भएको ब्यान्ड हो । गाउँगाउँमा लोप हुँदै गएको लोक भाकालाई आधुनिकीकरण गरेर छुट्टी पहिचान बनाउन नेपथ्य सफल छ ।

कन्सर्टमा सांगीतिक नेपाली ब्यान्ड नेपथ्यले ‘जोमसोममै बजार’, ‘भेडाको ऊनजस्तो’, ‘तालको पानी’, ‘छेक्योछेक्यो’, ‘रेशम’, ‘आमा’ र ‘यो जिन्दगानी’लगायत गीतहरू प्रस्तुत गरेको थियो ।

आइतबारै काठमाडौँको टुडिँखेलमा भारतीय अभिनेत्रीद्वय सोनाक्षी सिन्हा र मलाइका अरोराले थुप्रै आइटम गीतहरू पस्किए । तर न त उनीहरूको प्रस्तुतीले नेपालीहरूलाई भावूक बनाउन सक्यो । न उनीहरूसँगै कम्मर मर्काएका नेपाली नायिकाहरू प्रियंका कार्की, ऋचा शर्मा, सुष्मा कार्की , रेखा थापा, केकी अधिकारीलगायतले मौलिक प्रस्तुति नै दिन सके । ‘अमरपन्छी’ को चर्चा भयो त केवल नेपाली सेनाका जर्णेलहरूले सोनाक्षीलाई गरेको स्वागतको ।

प्रतिक्रिया