एमाले अखिलको विस्तारित बैठक धुलिखेलमा

annfsu_flagबनेपा, २ जेठ । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको प्रथम विस्तारित बैठक काभ्रेपलाञ्चोकको धुलिखेलमा आइतबारदेखि सुरु भएको छ । बैठकको उद्घाटन एमाले महासचिव ईश्वर पोखरेलले गरेका छन् ।

उद्घाटन कार्यक्रममा उनले सरकारको वर्तमान समीकरण भत्काएर मुलुकमा अस्थिरता र अराजकता ल्याउने कोशिस भएको जिकिर गर्दै सरकारको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयन हुन नदिन अनेक षडयन्त्र भएको बताए ।

उनले स्थानीय, प्रादेशिक र संसदीय निर्वाचन हुन नदिनसमेत कोशिस भएको उल्लेख गर्दै चुनावलाई टार्ने र पर सार्ने कोशिस भएको छ, त्यसविरुद्ध विद्यार्थी एकजुट हुन आवश्यक रहेको बताए । महासचिव पोखरेलले मत र मन मिल्ने हिसाबले कार्यविभाजन गर्न आग्रह गर्दै परिवर्तित परिस्थितिमा शैक्षिक मुद्दाको पुनःसंरचना गरेर अघि बढ्नुपर्नेमा जोड दिए ।

उनले संविधानको पक्षपोषण गर्ने सन्दर्भमा पनि संगठनभित्र पृथक विचार हुन नहुने कुरामा जोड दिँदै राष्ट्रिय राजनीतिलाई हेक्का राखेर अनेरास्ववियुको कार्ययोजना बनाइनुपर्ने बताएका छन् । अनेरास्ववियुका अध्यक्ष नवीना लामाले एकमना एकताको पक्षमा बैठक केन्द्रित हुने उल्लेख गर्दै विगतमा भएका कमीकमजोरीको समीक्षा गरेर कार्ययोजना तय हुने बताए ।

उनले शैक्षिक प्रमाणपत्रका आधारमा सरकारले ऋण प्रवाह गर्ने विषय स्वागतयोग्य भएको उल्लेख गर्दै शिक्षामा भएको व्यापारीकरण वा सरकारी विद्यालयमा शैक्षिक गुणस्तर सुधार्न संगठन खरो ढंगले अघि बढ्ने बताए । ३ दिनसम्म चल्ने बैठक अखिलको २२औँ महाधिवेसनपछि पहिलोपटक बस्न लागेको हो ।

प्रतिक्रिया