‘कविता कन्सर्ट’मा नवराज

kabita kolajकाठमाडौं, १ जेठ । कविता वाचन र वाद्य वादनको ‘फ्युजन’ विशेषता बोकेको ‘कोलाज इभिनिङ’ को चौंथो श्रृंखलामा पछिल्लो समयका चर्चित तन्नेरी कवि नवराज पराजुलीका कवितामाथि ‘कविता कन्सर्ट’ आयोजना गरिएको छ । सम्यक महर्जनको लाइभ बाँसुरीसँग प्रस्तुत भएका कवि पराजुलीले आधा दर्जन नयाँ तथा पुराना कविता प्रस्तुत गरेका थिए ।

हरेक महिनाको अन्तिम शुक्रबार ‘गार्डन थिएटर’को आयोजनामा स्वयम्भूस्थित ह्वाइट ¥याबिट रेस्टुराँमा आयोजना हुने कोलाज इभिनिङमा ‘सगरमाथाको गहिराई’, ‘सतीदेवीको गाण्डिव’, ‘च्याऊ’, ‘पिर ती’, ‘ब्रम्हाजीको रजस्वला’ र ‘हेब्बी बड्डे’ शीर्षकका कविता सुनाएका थिए । हेब्बी बड्डे शीर्षकको कविता हालसम्म कतै नसुनाएको र प्रकाशित नभएको उनले बताए । कविताबाट उनले मधेसको दाइजो समस्यादेखि रजस्वलासँग जोडिएको अन्धविश्वासमाथि प्रहार गरे भने खाडी जान बाध्य नेपालीको मनोभावका साथै बृद्धा आमाको सहरमा बसेको छोराप्रतिको प्रेमभाव व्यक्त गरे ।

पराजुलीले कविता वाचन गर्दै गर्दा पृष्ठभूमिमा बाँसुरीवादक महर्जनले कविताको भावअनुसारको धुन प्रस्तुत गर्थेे । कविता कन्सर्टका लागि पराजुली र महर्जनले एक हप्तादेखि रिहर्सल गर्दै आएका थिए । कन्सर्टपछि कवि पराजुलीले पृष्ठभूमिमा बाँसुरीसँग कविता वाचन गर्ने लामो समयदेखिको सपना पूरा भएको बताए ।

प्रतिक्रिया