दोलखामा आवासीय कार्यशाला

Artudio_Dolakha Album_Homestayदोलखा, १ जेठ । दोलखाको गैरमुदीमा ‘दोलखा एल्बम’ शीर्षकमा दश दिने आवासीय कार्यशाला सम्पन्न भएको छ । आर्टुडियोको आयोजनामा समुदायमा केन्द्रित रही कला सिर्जना गर्ने उद्देश्यले कार्यशाला गरिएको हो ।

२१ देखि ३० वैशाखसम्म आयोजित कार्यशालामा कलाकारहरू सुजन डंगोल, सन्ध्या सिलवाल, सुरेन्द्र मर्हजन, राजन श्रेष्ठ र अभिमन्यू दीक्षित सहभागी थिए । कार्यशालामा समुदायमा सामाजिक सशक्तीकरण र सिर्जनशील पक्ष कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा बहससमेत भएको थियो ।

गत वर्षको भूकम्पको त्रासदीमा परेको जिल्ला दोलखामा कलाकारलाई समुदायमा लगेर त्यसको प्रभावसँगै समाजमा कला र यसको सिर्जनशील महत्वलाई बुझाउने अभियानको नेतृत्व युवा कलाकार कैलाशकुमार श्रेष्ठले लिएका थिए । उनकै पहलमा गत वर्षदेखि नै त्यहाँ समुदायलाई नै कलामा सहभागी गराई भूकम्पका पीडालाई बिर्सने अभियानसँग जोडियो । श्रेष्ठ आफैँ पनि भूकम्पपीडित हुन् । उनको पहलले दोलखा जिल्लालाई कम्युनिटी आर्टको रूपमा अन्तर्राष्ट्रिय रूपमै चिनायो ।

‘दोलखा एल्बम’ कार्यशालमा सहभागी कलाकार सुजन डंगोलले मानिसले प्रयोग गर्ने विभिन्न सामग्रीलाई कलाका रूपमा प्रस्तुत गरेका थिए । उनले बाँसको सुप्लामा बनाएको स्थानीय जेष्ठ नागरिकका मुहार आकृति धेरैले आकर्षक माने । सुरेन्द्र महर्जनले ‘परिधि’ शीर्षकमा बाँसघारीमा आवास र मानिसको दैनिकीको परिकल्पनालाई कलामा प्रस्तुत गरेका थिए भने राजन श्रेष्ठले सहनाई र ट्याम्कोको धुनलाई संगीतका रूपमा प्रयोग गरी स्थानीयका पीडाभित्रका हाँसोलाई कलात्मक रूपमा भिडियोमा उतारेका थिए ।

त्यस्तै फिल्म अभिनेता तथा निर्देशक अभिमन्यू दीक्षितले ‘सपना’ शीर्षकमा स्थानीयवासीलाई नै कलाकार बनाएर २० मिनेटको फिल्म बनाएका छन् । कलाकारहरूले गत वर्षको भूकम्पपछि गैरिमुदीको सांस्कृतिक, भौगोलिक, आर्थिक तथा भावनालगायत सामाजिक परिवेशका बारेमा सोही समुदायमा एक हप्तासम्म बसी कला रचना गरेका थिए । आर्टुडियोले भूकम्पपश्चात्को तेस्रो दिनदेखि नै ‘हिलिङ थ्रु आर्ट’ अभियानअन्तर्गत भूकम्पपीडित बालबालिका तथा अन्यलाई कलाको माध्यमद्वारा मानसिक तनाव हटाउने काम समेत गरेको थियो ।

जुन कला अभियान भूकम्प प्रभावित विभिन्न जिल्ला हुँदै गैरिमुदीमा पनि सञ्चालन भयो र सोही कला अभियानमार्फत समुदायमा परेको सकारात्मक परिवर्तनका कारण आर्टुडियोले सामुदायिक कला केन्द्रको स्थापना गर्नेसम्म काम गरिसकेको यसका संस्थापक कैलाशले बताए ।

गैरिमुदीमा तयार पारी प्रदर्शन गरिएका ती कलालाई काठमाडौंमा पनि प्रदर्शनी गर्ने तयारी भइरहेको आर्टुडियोका संस्थापक कैलाशले जानकारी दिएका छन् ।

प्रतिक्रिया