अलपत्रमध्ये चारजना अस्पताल भर्ना

काठमाडौं, १ जेठ । मनाङ र मुस्ताङको सीमा क्षेत्र सारेबुङमा अलपत्र परी उद्धार गरिएका १८ नेपालीसहित २ जर्मन नागरिकमध्ये चारजनालाई काठमाडौं ल्याइएको छ । सिम्रिक एयरबाट काठमाडौं ल्याइएका २ जर्मन र २ नेपालीलाई बल्खुस्थित वयोधा अस्पतालमा भर्ना गरिएको छ ।

५ हजार ९ सय ४० मिटर उचाइमा रहेको सारेबुङ पुगेको सो टोली हावाहुरीका कारण फसेको थियो । अलपत्र परेका सबैलाई सुरक्षित रूपमा मनाङको फू गाविसमा सुरक्षित राखिएको छ ।

फ्रेन्ड एड्भेन्चरका प्रबन्ध निर्देशक राजेन्द्रबहादुर लामाका अनुसार ४४ वर्षीय टोबास गोरीनेम र ४८ वर्षीय गुडरम इनग्रिड जिरमानलाई वयोधा अस्पतालमा भर्ना गरिएको छ । यस्तै आइतमान तामाङ र श्यामबहादुर तामाङलाई पनि सोही अस्पताल भर्ना गरिएको छ ।

लामाका अनुसार अलपत्र सबैलाई ‘लङ रोप रेस्क्यू टिम’ ले उद्धार गरेको हो । ‘अलपत्र सबैलाई सुरक्षित स्थानमा ल्याइएको छ’ लामाले भने । उद्धार गरेका सबैलाई सिम्रिक एयरमार्फत मनाङको फू गाविसमा ल्याउने तयारी भइरहेको छ । सो टोली सारेबुङ हिमाल आरोहण गर्न गएको थियो । सो हिमालको उचाइ ६ हजार ३ सय ४६ मि रहेको छ । हावाहुरीका कारण सबै सामान उडाएपछि आरोहणमा गएको सो टोली अलपत्र परेको थियो ।

शुक्रबार नै उनीहरूको उद्धार गर्ने तयारी गरिएको भए पनि प्रतिकूल मौसमका कारण सम्भव हुन सकेको थिएन । लामाअनुसार क्याम्प शेर्पा विवेक लिम्बू, आरोहण पथप्रदर्शक मिङ्मार तामाङ, बेस क्याम्प स्टाफहरू भक्तमान तामाङ, जगतबहादुर तामाङ, सहयोगी श्यामबहादुर तामाङ, जिल्के तामाङ, कैले तामाङ, मोहन तामाङ, होमबहादु घलान, रोवी तामाङ, से¥याप तामाङ, बुद्धीबहादुर तामाङ, ज्ञानबहादुर तामाङ, दुर्गासिंह तामाङ, दावासाङ तामाङ, आइतमान तामाङ, रामबहादुर तामाङ सारेबुङमा फसेका थिए ।

प्रतिक्रिया