पाँच वर्षभित्र नेपाल रेलमय : प्रधानमन्त्री

oliकाठमाडौं, १ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले ५ वर्षमा नेपाललाई रेलमय बनाउने दाबी गरेका छन् । यसअघि प्रधानमन्त्री ओलीले घरघरमा खाना पकाउने ग्यासको पाइप पु¥याउने घोषणा गरेका थिए ।

युवा संघ नेपालले २६औँ स्थापना दिवसका अवसरमा शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले मुलुकलाई रेलमय बनाउन आफूलाई कसैले रोक्न नसक्ने बताए । ‘अन्त रेल चलाउन हुने, नेपालमा रेल ल्याउनै नहुने हो कि क्या हो ?’ प्रधानमन्त्री ओलीले प्रश्न गर्दै भने, ‘यसको पनि विरोध गरिरहेका छन् । तर, म भनिरहेको छु हामी रेल ल्याउँछौँ ।’

चीनबाट काठमाडौंसम्म रेल ल्याउनका लागि अब लिक बनाउन मात्र बाँकी रहेको उनले दाबी गरे । ‘विदेशमा रेल चल्छ भने नेपालमा किन नहुने ?’ प्रश्न प्रधानमन्त्री ओलीले भने, ‘पाँच वर्षभित्र चीनको केरुङदेखि काठमाडौं तथा काठमाडौंदेखि पोखरा र लुम्बिनीसम्म रेलमार्ग बनान्छ ।’

‘काठमाडौंबाट केरुङसम्म हामी बनाउँछौँ, काठमाडौं पोखरासम्म हामी बनाउँछौं, काठमाडौं–पोखरा–लुम्बिनी हामी बनाउँछौं,’ प्रधानमन्त्री ओलीले भने, ‘अलिकति बाटो खन्न बाँकी छ, लिक ओछ्याउन बाँकी छ । त्यो गरेपछि रेल गुड्यो ।’

प्रधानमन्त्री ओलीले केही वर्षभित्र नेपाललाई पूर्णरुपमा डिजिटलयुक्त बनाउने दाबीसमेत गरे । सरकारी कार्यालयहरुलाई कागजमुक्त बनाइ कम्प्युटरबाट मात्र काम हुने निकायका रुपमा विकास उनको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले मधेसी मोर्चा समस्यामा परेपछि नेपाली कांग्रेसको साथ खोज्दै हिँडेको भनेर घुमाउरो पारामा व्यंग्य गरे । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको सिंहदरबार घेराउ आन्दोलनलाई गर्मीका बेला रुखको छहारी खोजेर हिंडेजस्तै भएको उनले टिप्पणी गरे । ‘आन्दोलनमा मधेसी जनताले साथ नदिएपछि मोर्चाको आन्दोलन र गर्मीका बेला रुखको छहारी खोजेर हिंड्ने प्रवृत्ति उस्तै हो,’ उनले भने । प्रधानमन्त्री ओलीले जायज माग सम्बोधनका लागि सरकार सदैव तयार रहेको भन्दै आन्दोलन छोडेर वार्तामा सहभागी हुन मोर्चाका नेताहरुलाई आग्रह गरे ।

सरकारले नेपाललाई एउटा सार्वभौमसत्तासम्पन्न देशका हिसाबले सबै छिमेकीसँग खासगरी भारत र चीन दुवै छिमेकीसँग राम्रो सम्बन्ध अगाडि बढाएको उनको दाबी थियो । प्रधानमन्त्रीले बरु पहिला भ्रम परेकामा अहिले हामीले सच्याइएको बताए । आफू दुवै देशमा भ्रमणमा जाँदा निकै राम्रो मित्रता भएको बताउँदै प्रधानमन्त्रीले भने, ‘नयाँ सहमति बनेका छन् । अब ती कार्यान्वयन हुन्छन् ।’

हामीले हाम्रो देशको राजदूत फिर्ता बोलाउँदा कतिपयले यसलाई नेपाल भारत सम्बन्धमा जोडेर हरेको बताउँदै उनले ‘यसलाई भारतविरुद्धको कदम हो’ भन्दै भड्किने र भड्काउन खोज्नेखालका प्रयास भएको बताए । उनले भने, ‘यो नितान्त हाम्रो कुरा हो । यसमा अन्यथा सोच्नु र गलत अथ्र्याउनु कसैको हितमा हुँदैन । अनेक भ्रम फिँजाउने कोसिस पनि भएका छन् । यसमा खन्डन गरिरहन म आवश्यक ठान्दिनँ ।’ उनले प्रतिपक्षी कांग्रेसको आलोचना र विरोधबाट आफू पछाडि नहट्ने दृढतासमेत व्यक्त गरे ।

प्रतिक्रिया