सुवासको निर्देशनमा “भेडीगोठ”

bhedi gothaaकाठमाडौं, ३१ वैशाख । आदिवासी चलचित्र निर्देशक सुवास गुरुङले युवा पलायनले पारेको भेडापालन व्यवसायलाई टिपेर चलचित्र भेडिगोठको निर्देशन गरेका छन् । उनले पश्चिम नेपालमा रहेको भेडापालन व्यवसाय बिस्तारै लोप हुन लागेकाले यसका संरक्षण तथा संवद्र्धन गर्न तथा युवाहरूमा बढ्दो विदेश पलायनले पारेको असरका बारेमा चलचित्रमा केही कथाहरू उठान भएको बताएका छन् ।

छायांकनको काम सकिएर हाल धमाधम सम्पादनको क्रममा रहेको चलचित्र भेडिगोठको सम्पूर्ण दृष्यहरू ग्रामीण भेगमा तथा लेकाली भागमा रहेको उनले जानकारी दिएका छन् । उनले भने, ‘ग्रामीण भेगमा युवा छैनन् । विदेश नगएका युवा सहरिया भए । भेडीगोठमा बस्ने कोही भएन । यो परम्परा लोप हुँदै गएको छ । विदेश जानुभन्दा यहीँ भेडा पाल्ने हो भने प्रशस्त आम्दानी हुने र काम पनि खास गारो छैन ।’

उनले लोपोन्मुख तथा बहुआयामिक व्यवसाय भेडापालन रहेको भन्दै यसबाट फाइदैफाइदा भएकोसमेत बताए । भेडाको ऊन, दूध, तथा मासुलगायतको बिक्रीबाट प्रशस्तै आम्दानी हुने उनले जनाए । यस्तो राम्रो पेसा लोप हुँदै गएकोमा चिन्ता व्यक्त गर्दै उनले चलचित्र ‘भेडीगोठ’ले यो विषयको उठान गरेको बताए । गुरुङ समुदायको इतिहास र परम्परासँग जोडिएको भेडीगोठलाई बचाउन सुवासले भेडीगोठसम्बन्धी कथा लेख्ने तथा यसलाई निर्देशन गर्ने काम गरेका हुन् ।

उक्त चलचित्र लमजुङका इलम पोखरी, भारते ढिनगाउँ, तनहुँको भानु खहरेलगायत ठाउँमा छायांकन गरिएको हो । ‘यसमा भेडी गोठ र गोठालाको जीवन छ,’ भारतेकै सुवासले भने, ‘भेडीगोठलाई जोगाउनुपर्ने सन्देश दिन खोजिएको छ फिल्म । प्राकृतिक मनमोहक दृश्य, गोठालाका मायाप्रेम, अन्य सामाजिक कथावस्तु छँदै छन् ।’

हङकङमा बसोबासरत दुर्ग गुरुङ (मिलन) ले यस चलचित्रमा लगानी गरेका छन् । ‘गुरुङ फिल्ममा लगानी गर्न बिदेसिएका दाजुभाइ, दिदीबहिनी धेरै छन् । उनीहरूलाई जन्मभूमि र गाउँघरको औधि माया हुन्छ,’ उनले भने, ‘तिनै दाजुभाइ दिदीबहिनीको सहयोगमा अर्को फिल्म पनि निर्देशन गर्दै छु ।’ ‘भेडीगोठ’ मा राजेश गुरुङ, अश्मी गुरुङ, ध्वज गुरुङ, गौरी गुरुङ, सनम गुरुङ, मेखराज गुरुङ, खुसी गुरुङलगायतले अभिनय गरेका छन् । प्रकाश गुरुङ (काश) को छायांकन रहेको फिल्मका सबै गीत समेत सुवासले नै लेखेका छन् ।

नृत्य निर्देशन सुवास र ध्वज गुरुङले गरेका छन् । आरके गुरुङ, वसन्त सापकोटा र सूर्य घलेले संगीतबद्ध गरेको गीतमा आरके, सुवास, वसन्त, मेलिना राई र शान्ति गुरुङको स्वर रहेको छ ।

प्रतिक्रिया