गुठी जग्गामा महन्तको रजाइ

काठमाडौं, ३० वैशाख । जनकपुरधामको गुठी तैनाथी जग्गा जिल्लाका प्रशासन, सुरक्षाका प्रमुखका लागि प्रसाद र महन्तका लागि बेच्ने निजी सम्पत्ति झैँ भएको तथ्य खुलेको छ ।

जिल्लाका हाकिमले अनियमितता रोक्ने नाममा गुठीका जग्गालाई महन्तमार्फत प्रसादका रूपमा आफ्नो सम्पत्ति बनाउने र महन्तले हाकिमको सहयोगमा भूमाफियामार्फत हाकाहाकी बेच्ने गरेको तथ्य खुलेको हो । गुठी संस्थानद्वारा आयोजित गुठीको जग्गा अतिक्रमण विषयक अन्तक्र्रिया कार्यक्रममा उक्त तथ्यको खुलासा गर्दै सहभागीले गुठीका तैनाथी जग्गाको अतिक्रमणदेखि बेच्ने कार्यमा महन्त, प्रशासन र सुरक्षाका प्रमुख दोषी भएको प्रमाण प्रस्तुत गरे ।

गुठी संस्थानको तथ्यांकअनुसार जनकपुर नगर क्षेत्रभित्र गुठीको ३ सय ५१ बिघा ६ कट्ठा १३ धुर जग्गा रहेको छ । सोमध्ये लक्ष्मण मन्दिरको ४२ बिघा १ कट्ठा १६ धुर, रत्न सागरको ४३ बिघा ३ कट्ठा ६ धुर, अग्निकुण्डको २ बिघा १३ कट्ठा, बराही कुटीको ७ बिघा १६ कट्ठा, जानकी मन्दिरको ५० बिघा ९ कट्ठा ८ धुर, कुवा मठ २७ बिघा ९ कट्ठा, हनुमान नगरको २६ बिघा ६ का ५ धुर, सीताकुण्डको ५ बिघा ११ कठ्ठा १२ धुर, विरख कुटीको ६ बिघा ३ कठ्ठा १० धुर , राम मन्दिरको १ सय ३४ बिघा १४ कट्ठा ५ धुर, तीताद्री मठको १ कट्ठा १ धुर र कपिलेश्वरको ४ बिघा १६ कट्ठा १३ धुर रहेको छ ।

यी जग्गालाई केही महन्तले प्लटिङ गरी बेच्ने कार्य गर्दा पनि प्रशासनले कुनै कारबाही नगरेको देखिएको छ । गुठी संस्थानको ०६२÷६३ सालको अभिलेखमा १२ वटा कुटीका ४० बिघा एवं जानकी मन्दिर, राम मन्दिर, रत्नसागर, दुलहा दुलही, बेलाकुटी मन्दिरका २३ बिघा १ धुर तैनाथी जग्गा ८ सय ९६ व्यक्तिले अतिक्रमण गरेको उल्लेख छ ।

सोमध्ये छिमेकीले मिचेको, च्यापेको २३, घर बनाएको ७ सय ४१, घेरबेर गरेको ६५, शौचालय बनाएका ६, नर्सरी सञ्चालन २, मन्दिर मूर्तिसमेत १२, धर्मशाला निर्माण ३, चौतारा निर्माण १, विद्यालयले १ र अन्य ४२ ले अतिक्रमण गरेका छन् ।

अतिक्रमण गर्ने कार्य नरोकिएका कारण हाल यसको अवस्था भयावह भई जग्गाको मूल्य अप्रत्यासितरूपमा वृद्धि भएको छ । कार्यक्रममा कतिपय सहभागीले अतिक्रमित जग्गालाई वैधता दिन माग गरे पनि यसलाई वैधता दिएमा भूमाफिया र महन्तलाई रजाइ गर्ने अवसर प्राप्त हुनसक्ने चिन्तासमेत व्यक्त गरिएको थियो ।

गुठी संस्थानका अध्यक्ष लक्ष्मण ज्ञवालीले सबै पक्षबीच छलफल गरी साझा सहमति कायम गरी निकासको कार्य गरिने बताए । प्रमुख जिल्ला अधिकारी दिलीप चापागाईंले जनकपुरको अस्तित्व बचाउन सबैको सहयोग आवश्यक छ भने ।

बृहत्तर जनकपुर क्षेत्र परिषद्का अध्यक्ष रामकुमार शर्माले जनकपुरको जग्गाको सन्दर्भमा कुम्भकर्णको निद्रामा रहेको गुठी ब्युँझनुलाई राम्रो संकेतका रूपमा लिनुपर्छ भने ।

वरिष्ठ पत्रकार राजेश्वर नेपालीले जानकी मन्दिरको गरगहनाको अवस्था प्रस्ट गरी गरगहनालाई राष्ट्र बैंकमा राख्ने र विशेष पर्वमा राष्ट्र प्रमुखको रोहवरमा प्रदर्शनको व्यवस्था गर्नुपर्नेमा जोड दिए ।

प्रतिक्रिया