पुनर्निर्माणका लागि गाउँगाउँमा तालिम

गोरखा, ३० वैशाख । जिल्लामा पुनर्निर्माणका लागि गाउँगाउँका युवालाई सिकर्मी र डकर्मी तालिम दिइएको छ । पुनर्निर्माण प्राधिकरणले लाभग्राहीलाई अनुदान रकम वितरण गरेपछि धमाधम घर बनाउन सुरु गर्ने भन्दै विभिन्न संस्थाले सिकर्मी, डकर्मी उत्पादन गर्न ११ वटा भूकम्प प्रभावित गाविसका युवालाई ७ दिने तालिम दिएको हो ।

जिल्लास्थित भवन डिभिजन कार्यालयसँग समन्वय गरी केयर नेपाल नामक संस्थाले तालिम दिएको हो । छोप्राक, खोप्लाङ, हर्मी, गाँखु, मुच्चोक, बारपाक, लाप्राक, गुम्दा, उहिया, केरौँजा र कासीगाउँका भूकम्प प्रभावितलाई तालिम दिएर दक्ष कामदार उत्पादन गरिएको केयर नेपाल गोरखाका प्रमुख माधव ढकालले बताए ।

‘भूकम्पले सबैको घर भत्किएको छ, गाउँमा काम नै काम छ तर कामदार छैनन्,’ उनले भने, ‘वैदेशिक रोजगारीमा जानुभन्दा सीप सिकेर गाउँमा बस्नेले धेरै कमाउँछ ।’ फुर्सदमा रहेका गाउँका युवालाई तालिम दिई दक्ष बनाएको भन्दै उनले पुनर्निर्माणका लागि सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् ।

गोरखाको ६० गाविस र २ नगरपालिकामा तालिम सञ्चालन गरी कामदार उत्पादन गर्ने तयारी गरिएको छ । वैदेशिक रोजगारीलाई निरुत्साहित गर्ने र गाउँमा बसेर नयाँ घर निर्माण गर्ने कामलाई प्रोत्साहन दिन सरकारी तथा गैरसरकारी संघसंस्थाले विभिन्नखालका तालिम सुरु गरेका हुन् । प्रत्येक गाविसमा कम्तीमा ३० जनाको दरले कामदार उत्पादन भएका छन् ।

गोरखा पुनर्निर्माणमा ३० अर्ब रुपैयाँ खर्च हुने जिल्ला दैवीप्रकोप उद्धार समितिले बताएको छ । गतवर्ष १२ वैशाखमा गोरखाको बारपाक केन्द्रविन्दु रहेर गएको भूकम्पले ४ सय ७२ जनाको मृत्यु हुनाका साथै ६५ हजार ९ सय ३७ वटा घर पूर्णरूपमा ध्वस्त भएका थिए ।

यसैबीच, पुनर्निर्माण प्राधिकरण उपक्षेत्रीय कार्यालयले भूकम्पप्रभावित ६ वटा गाविस र गोरखा नगरपालिकाको १४÷१५ वडा नारेश्वर क्षेत्रमा सूची सार्वजनिक गरेर लाभग्राहीलाई अनुदान दिने प्रक्रिया सुरु गरेको प्राधिकरणका कर्मचारी गुणराज भट्टराईले बताए । सूची सार्वजनिक गरिएका गाविसका भूकम्पपीडितले आफ्नो नाम छुटेको भन्दै जिल्ला प्रशासन कार्यालय, जिल्ला विकास समिति र पुनर्निर्माण प्राधिकरणमा निवेदन दर्ता गरेका छन् ।

इञ्जिनियरले आफ्नो घरको विवरण छुटाएको आरोप लगाउँदै जिल्लाको धुवाँकोट गाविसका भूकम्पपीडित गाडी रिजर्भ गरेरै जिल्ला प्रशासन कार्यालय आएका थिए । घर भत्किएको नाम सूचीमा नपरेकामा भूकम्पपीडितले आपत्ति जनाएका छन् ।

प्रतिक्रिया