पर्वत, ३० वैशाख । ठूलीपोखरी–३ की सुनिता परियारका घरमा परिवारका ५ जना सदस्य र २ वटा गाईभैँसी रहेका छन् । ५ जनाको परिवार र २ वटा गाईभैँसीलाई गरी दैनिक ६ गाग्रीसम्म पानी आवश्यक पर्छ, तर उनले १ गाग्री पानी घरसम्म ल्याइपु¥याउन २ घन्टा लाग्ने गर्छ ।
६ गाग्री पानी ल्याउँदा उनको पुरै दिन त्यसै सकिन्छ । अहिले स्थानीयस्तरमा महिलाको ज्याला ५ सय ५० भएकाले १ गाग्री पानीको करिब १ सय रूपैयाँ पर्न जान्छ । १ गाग्रीमा १० देखि १५ लिटर जाने हुँदा १ लिटर पानीको १० रूपैयाँ पर्छ । परियार मात्रै होइन, ठूलीपोखरी गाविसका ३ वटा वडाका करिब ३ सय परिवारले यसरी नै १० रूपैयाँ लिटर पर्ने पानी खाने गरेका छन् । उनीहरूलाई २ घन्टामा १ गाग्री पानी ल्याउनभन्दा किनेर खान सस्तो पर्न जान्छ ।
ठूलीपोखरी गाविसका चोरकाटे, भन्ज्याङ, घोराचौर, ठूलीपोखरी, पैयुँस्वाँरा, रोहोटेलगायतका टोलमा पानीको हाहाकार हुँदा हिउँदका अधिकांश समय पानी ल्याउनमै बित्ने गरेको छ । घरमा केटाकेटी र बुढाबुढी भएकाले पानी बोक्नमा कमाउने उमेर समूहका महिला र पुरुष नै खट्ने गरेका छन् । ‘घरको अरू कुनै काम गर्न भ्याइँदैन’, सुनिता परियारले भनिन्, ‘मंसिरदेखि जेठको अन्तिमसम्म यसैगरी दिन जान्छ ।’ उनले अन्य महिनामा पनि खानेपानी ल्याउन भने १ घन्टा लगाएर खोरियापानीमै जानुपर्ने बाध्यता भएको बताउँछिन् । ‘पानी मात्रै ओसार्दा दिन जान्छ’, स्थानीयवासी नीलकण्ठ लामिछानेले भने, ‘अरू कुनै काम गर्ने समय नै हुँदैन ।’ अहिले गाउँका अधिकांश घरमा केटाकेटी, महिला र बुढाबूढी मात्रै छन् । ‘केटाकेटी र बुढाबूढीले पानी ल्याउन सक्दैनन्’, लामिछानेले भने ‘आकाशे पानी आयो भने आकाशको भर, नत्र वर्षामा प्लास्टिक ट्यांकीमा राखेको पानी खानुपर्ने बाध्यता रहेको छ ।’
पानीको अभावका कारण घर वरिपरि रहेका ठूलाठूला बारीका गह्रासमेत बाँझै पल्टिएका छन् । ‘खानेपानी नहुँदा मुख भिजाउनसमेत समस्या हुन्छ’, स्थानीय युगनाथ पौडेलले भने ‘बारीमा हरियाली देख्न त असार साउन नै कुर्नुपर्छ ।’ पानीको चरम समस्या भएपछि ०५१ सालमा १४ किलोमिटर टाढा रहेको आर्थर गाविसको टुनीखोलाबाट पानी ल्याएको भए पनि १ महिना पानी नआई योजना अलपत्र भएको पौडेलले बताए । करिब डेढ करोड खर्च गरेर ल्याएको पानी गाउँसम्म आइपुग्दा हराएपछि स्थानीयवासी पानी खाने आश नै मारेर बसेका छन् ।
अहिले टुनिखोला आयोजनाका पाइप आर्थर र खौला गाविसका विभिन्न ठाउँमा बेवारिसे फालिएको छ । टुनीखोलामा भएको पानीभन्दा ठूलो पाइप राखेपछि यस्तो समस्या आएको प्राविधिक बताउँछन् । पछिल्लो समयमा जिल्लामा पश्चिम नेपाल ग्रामीण खानेपानी तथा सरसफाइ परियोजनाले गाविसलाई पानी र सरसफाइयुक्त गाविस बनाउने भनेर काम गरेको भए पनि नाउँ मात्रैको ‘खुला दिसामुक्त गाविस’ घोषणा ग¥यो तर पानी नै नभएपछि बनाएका शौचालयसमेत प्रयोगविहीन बनेका छन् । पश्चिम नेपाल परियोजनासमेत ठूला आयोजना गर्न नसकिने भन्दै गाविसबाट उम्किने प्रयासमा रहेको छ । ‘६ वर्षदेखि पानी खुवाउने आशामा हामीलाई बेबकुफ बनायो’, स्थानीयवासी शिवलाल परियारले भने, ‘आशै–आशमा स्वर्गेवास भने जस्तो भयो ।’
पछिल्लो समयमा सबैतिरबाट पानी आउने आशा सकिएपछि स्थानीयवासी जिल्ला खानेपानी तथा सरसफाइ सब–डिभिजन कार्यालय पर्वतमा पुगेपछि अहिले २ करोडको लागतमा लिफ्ट प्रणालीमा खानेपानी आयोजना सुरु गरिएको छ । ३ वडाका १ सय २ घरलाई लिफ्ट प्रणालीमा खानेपानी वितरण गर्नेगरी योजना सुरु गरिएको हो । आयोजनाको पर्वतका सिडिओ झंक ढकालले हालै निरीक्षण पनि गरेका छन् ।
प्रतिक्रिया