काठमाडौं, ३० वैशाख । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले अकूत सम्पत्ति कमाएको आरोपमा निलम्बित सांसद ल्ह्यारक्याल लामाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता कृष्णहरि पुष्करका अनुसार सांसद लामाले अवैधरूपमा ९ करोड ४४ लाख ७२ हजार १ सय ७९ कमाएको देखिएकाले बिहीबार मुद्दा दायर गरिएको हो । आयोगले बिगो असुल गरी हदैसम्मको कारबाहीको मागसमेत गरेको छ ।
आर्थिक वर्ष ०५८÷५९ देखि आव ०७२÷७३ सम्मको अवधिको आय हेर्दा तलब भत्ता, जग्गा बिक्री, ऋण तथा सापटीसमेत गरी लामाको कुल सम्पत्ति २० करोड ३४ लाख ४१ हजार ८ सय २१ हुने देखिन्छ ।
तर, घर निर्माण, जग्गा खरिद, सवारीसाधन खरिद, ऋण सापटी, साँवा ब्याजलगायत पेस गरेको सम्पत्ति विवरण समेतबाट लामाको आयआर्जन गरेको रकम २९ करोड ७९ करोड १४ लाख देखिएको छ । निलम्बित सांसद लामाको आयव्यय विवरणमा फरक परेको ९ करोड ४४ लाख ७२ हजार १ सय ७९ को स्रोत नखुलेको पाइएकाले पदीय जिम्मेवारीको दुरूपयोग एवं भ्रष्टाचार गरी गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको जिकिर आयोगको छ ।
आयोगको टोलीले गत १४ फागुनमा दरबारमार्गमा रहेको नेपाल इन्भेस्टमेन्ट बैंकको लकरबाट १४ थान गोलीसहित लामालाई पक्राउ गरेको थियो । सो प्रकरणसँगै लामालाई ठगी मुद्दा पनि लागेको थियो । त्यतिखेर लामा धरौटीमा छुटेका थिए ।
प्रतिक्रिया