भारतीय लोकसभामा नेपाल चर्चा : कमजोर नेपालले चुनौती दियो

काठमाडौं, २९ वैशाख । भारतको सत्तारूढ दल भारतीय जनता पार्टी (भाजपा)का लोकसभा सदस्य निसिकान्त दुबेले नेपालले भारतलाई चुनौती दिएको बताएका छन् । भारतीय दैनिक पत्रिका ‘द इन्डियन एक्सप्रेस’का अनुसार लोकसभाको शून्य समयमा बोल्दै दुबेले यस्तो गुनासो गरेका हुन् । नेपाल ‘कमजोर’ हुँदाहुँदै पनि उसले भारतलाई चुनौती दिएको बताउँदै उनले भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका दिवंगत नेताहरूको ‘गलत’ नीतिका कारण यस्तो अवस्था आएको आरोप लगाए । सञ्चार माध्यममा आएका अपुष्ट र अप्रमाणिक विषयमाथि आधारित रहेर उनले भाषण गरेका थिए । भारतीय राष्ट्रिय कांग्रेसका तर्फबाट सरकारको नेतृत्व गरी नेपाल नीति निर्माण गर्ने भारतीय पूर्वप्रधानमन्त्रीत्रय जवाहरलाल नेहरू, इन्दिरा गान्धी र राजीव गान्धीको ‘गलत’ नीतिका कारण नेपालले भारतलाई चुनौती दिने हैसियत बनाउन पुगेको दुबेले भाषणका क्रममा बताएका थिए ।

भारतमा बिजेपीका नेता तथा कार्यकर्ताले नेपाललाई स्वतन्त्र राज्यका रूपमा रहिरहन दिएर नेहरू र गान्धी परिवारले गल्ती गरेको बताउने गरेका छन् । उत्तरमा हिमालयदेखि दक्षिणमा समुद्रसम्मको दक्षिण एसियाको समग्र भूखण्डलाई भारतअन्तर्गत मान्ने चाणक्यकालीन मान्यताबाट निर्देशित भएर उनीहरूले यस्तो धारणा राख्ने गरेका छन् । बिजेपीको ‘माउ संगठन’ राष्ट्रिय स्वयंसेवक संघले आफ्ना मुखपत्रमा दक्षिण एसियाका सबै राष्ट्रलाई भारतमा बलपूर्वक गाभ्नुपर्ने जनाउँदै आएको छ । नेहरू र गान्धी परिवार यस दिशामा उन्मुख नभएको भन्दै उसले आलोचना गर्दै आएको छ ।

यद्यपि, कांग्रेसका यी पूर्वप्रधानमन्त्रीले नेपाललाई भारतको अंश बनाउन नखोजेका भने होइनन् । प्रधानमन्त्री हुँदाका बखत नेहरूले हिमालयलाई भारतको उत्तरी सीमा बताए पनि नेपालले कडा प्रतिवाद गरेपछि नेहरूले अभिव्यक्ति फिर्ता लिएका थिए । उनको निधनपछि प्रधानमन्त्री बनेकी इन्दिरा गान्धीले नेपालको तराईलाई भारतमा गाभ्ने योजना बनाउन भारतीय गुप्तचर एजेन्सी ‘रअ’लाई निर्देशन दिए पनि त्यसलाई नेपालले विफल बनाएको थियो । इन्दिरा गान्धीको हत्यापछि प्रधानमन्त्री बनेका राजीव गान्धीले मोदीकै शैलीमा नेपालमाथि १९ महिना लामो नाकाबन्दी लगाएर नेपालको परराष्ट्र र प्रतिरक्षा मामिलाको लगाम आफ्नो हातमा लिन खोजेका थिए । उनी पनि यसमा असफल भएका थिए ।

भारतका यी ३ प्रधानमन्त्रीको यीनै असफलतातर्फ संकेत गर्दै कांग्रेसका पूर्वप्रधान्त्रीहरूकै कारण अहिले आएर नेपालले भारतलाई चुनौती दिने हैसियत बनाएको दुबेले संकेत गरेका थिए ।

छिमेकी मुलुक चीनको आड पाएर नेपालले भारतलाई चुनौती दिन खोजेको दुबेले बताए । साथै भारतसँगको नेपालको खुला तथा अव्यवस्थित सीमालाई ‘भारतविरोधी शक्ति’ले उपयोग गरेको उल्लेख गर्दै उनले पाकिस्तानले समेत नेपालमार्फत भारतमाथि जोखिम उत्पन्न गराएको संकेत गरे । अहिले नेपाल चीनतिर ढल्किएको र यसले गर्दा पशुपतिदेखि तिरुपतिसम्म रेड कोरिडोर विस्तारित हुने जोखिम बढेको दुबेले बताए ।

कतिपय भारतीय सञ्चारमाध्यमले नेपालका लागि भारतीय राजदूत रञ्जित रेलाई नेपालले ‘पर्सोना नन ग्राटा’ घोषित गर्दै निकाला गर्ने चर्चा चलाइरहेका बेला दुबेले समेत यस्तो जोखिम रहेको स्वीकार गरे । ‘नेपालका लागि भारतीय राजदूत रञ्जित रेलाई निकाल्ने षडयन्त्रअन्तर्गत नै नेपाल सरकारले भारतस्थित नेपाली राजदूतलाई फिर्ता बोलाउने काम गरेको हो,’ उनले भने । भाषणका क्रममा दुबेले नेपाललाई ‘कमजोर राष्ट्र’ भनेकोप्रति भारतको प्रमुख प्रतिपक्षी दल भारतीय राष्ट्रिय कांग्रेसका लोकसभा सदस्यहरूले आपत्ति जनाएका थिए ।

प्रतिक्रिया