सिटिइभिटीले पाँच सय विधार्थीलाई निःशुल्क पढाउने

CTEVTकाठमाडौं, २९ वैशाख । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी)ले भूकम्प प्रभावित १४ जिल्लाका ५ सय छात्रछात्रालाई निःशुल्क पढाउने भएको छ ।

बुधाबार पत्रकार सम्मलेनमार्फत परिषद्ले विशेष प्राविधिक शिक्षाअन्तर्गत छनोट भएका ५ सय जना छात्रछात्राका लागि आगामी २ जेठबाट निःशुल्क कक्षा सञ्चालन गर्न लागिएको जानकारी दिएको हो । सिटिइभिटीका प्रवक्ता एवं सूचना तथा अनुसन्धान महाशाखाका निर्देशक शिवशंकर घिमिरेले चालु आवको बजेट तथा कार्यक्रममा व्यवस्था भए बमोजिम भूकम्प प्रभावित मध्येबाट छनोट भएका विद्यार्थीका लागि कक्षा सञ्चालन गर्न लागेको बताए ।

काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, रसुवा, धादिङ, नुवाकोट, गोरखा, मकवानपुर, रामेछाप, दोलखा, सिन्धुली, र ओखलढुंगाका भूकम्प प्रभावित ‘क’ वर्गको परिचयपत्र प्राप्त गरेका परिवारबाट छनोट भएका छात्रछात्राले निःशुल्क प्राविधिक शिक्षा लिन पाउने भएका हुन् ।

निःशुल्क पढ्न पाउने छात्राले निर्वाह भत्तावापत् प्रतिमहिना ३ हजार ५ सय, बर्सेनि यातायात खर्च १ हजार ५ सय, पोसाक खर्च २ हजार ५ सय रुपैयाँ पाउनुका साथै निःशुल्क अध्ययन एवं छात्रावासको पनि सुविधा प्राप्त गर्नेछन् । परिषद्का सदस्यसचिव रामहरि लामिछानेले ६५ करोड रुपैयाँ बराबरको रकम विपन्नलाई छात्रवृत्तिका लागि खर्च हुने जानकारी दिए ।

‘वार्षिक १ अर्ब २ करोड रुपैयाँको छात्रवृत्ति ८८ छात्रछात्राका लागि खर्च हुनेछ’ उनले भने । शारीरिक अपांगता भएका बहिरा व्यक्तिका लागि पनि प्राविधिक शिक्षामा समावेश गर्ने हेतुले धवलागिरि बहिरा आवासीय माध्यमिक विद्यालय वागलुङलाई परिषद्को आंगिक शिक्षालयको रूपमा सञ्चालन गरी स्नातकतहको कम्प्युटर इन्जिनियरिङ कार्यक्रमसमेत आव ०७३÷७४ बाट सुरु गर्न लागिएको लामिछानेले बताए ।

परिषद्बाट सम्बन्धन लिन प्रमाणपत्र तहको कार्यक्रम सञ्चालनका लागि आफ्नै अस्पताल, मेडिकल कलेज, सहकारी गुठी र ट्रस्ट्रले जुनसुकै बेला प्रस्ताव पेस गर्न पाउने निर्णय खारेज गरेको परिषद्ले जनाएको छ । अब यस्ता प्रस्ताव पेस गर्न परिषद्ले विज्ञापन गरेपछि मात्र पाइनेछ ।

प्रतिक्रिया