नेपथ्य भर्सेज सोनाक्षी र मलाइका

gurung_sonakshiकाठमाडौं, २९ वैशाख । राजधानीमा रहेका संगीतप्रेमी दर्शकहरूले आगामी १ जेठमा रोजीरोजी लाइभ कन्र्सट हेर्न पाउने भएका छन् । एकातिर नेपाली चर्चित नेपथ्य ब्यान्डको प्रस्तुति ‘फेरि उठ्नेछ नेपाल’ अभियानअन्तर्गतको भव्य प्रस्तुति रहेको छ भने अर्को तिर बलिउडकी अभिनेत्रीद्वय मलाइका र सोनाक्षी सम्मिलित नेपाली अभिनेत्रीहरूको बेजोड प्रस्तुति रहने ‘अमरपंक्षी’ लाइभ कन्सर्ट हुनेछ ।

दुवै कार्यक्रमका आयोजकहरूले भूकम्पपीडितहरूको सहयोगार्थ कार्यक्रमको आयोजना गरेको बताएका छन् । फरकफरक स्थानमा कार्यक्रमको आयोजना भएको छ । नेपाली दर्शकहरूले भने आफ्नो रोजाइको कार्यक्रम हेर्न पाइने भएकामा दंग नै देखिएका छन् । आयोजक पक्षमा भने कुन कार्यक्रम सफल हुने भन्ने बारेमा चिन्तित रहेका छन् । दुवै कार्यक्रम आयोजकहरूले आफ्नो कार्यक्रमको प्रचारप्रसारलाई व्यापक बनाइरहेका छन् ।

नेपथ्य व्यान्डले जाउलाखेल ग्राउन्डमा प्रत्यक्ष प्रस्तुति प्रस्तुत गर्नेछ । यो ‘ब्यान्डवागन वाई पोजेटिब भाइव’ नामक कार्यक्रम व्यवस्थापक कम्पनीद्वारा व्यवस्थापन गरिएको उक्त लाइभ कन्सर्ट, बाल संरक्षण नेपाल, वर्क फर अ कज नेपाल, सानो पाइला, व्हिल, ऐश्वर्या बाल गृह तथा रेजअफ होप नेपाल जस्ता गैर सरकारी संस्थाको समष्ठीगत सहभागिता रहेको छ । आयोजकले नेपालमा अत्यधिक संख्यामा जनधनको क्षति गराउने गरी आएकोे विनासकारी भूकम्पबाट प्रताडित बनेका र सहयोगबाट वञ्चित रहेका जनसमूहलाई सहयोग गर्ने र सन्त्वना दिने उद्देश्यले यस लाइभ कन्सर्टको आयोजना गरिएको जनाएको छ ।

अघिल्लो वर्ष सुरु भएको कोकाकोला फेरि उठ्नेछ नेपाल अभियान कै निरन्तरताका रूपमा रहेको यस सांगीतिक कार्यक्रमले विगत १ वर्षदेखि दुःखमा रहेका जनतालाई खुसी र उत्साहले भरिपूर्ण वातावरण प्रदान गर्नेछ । अन्योलपूर्ण स्थितिमा पनि नेपालीले देखाएको अदम्य साहस र सकारात्मक विचारबाट प्रभावित भएर कोकाकोलाले जनतालाई राष्ट्रको पुनर्निमार्णमा एकजुट हुन हौसला दिने उद्देश्यका साथ यस अभियान र यससँग सम्बन्धित नेमोनिक, गीत र म्युजिक भिडियो लन्च गरेको थियो । कन्सर्टमा बोल्दै बोटलर्स नेपाल लिमिटेडका कन्ट्री च्यानल र मार्केटिङ मेनेजर आनन्द रत्नपार्खीले जानकारी दिएका छन् ।

कार्यक्रममा अमृत गुरुङ नेपथ्य ब्यान्डको अभिभावक, अगुवा र वर्तमान अवस्थामा लिड भोकलिस्ट रहेका छन् । अहिलेसम्म ८ एल्बम निकालिसकेको नेपथ्यले ९० दशकको सुरुआती ‘छेक्यो छेक्यो…’ देखि ९० को मध्यतिरको ‘जोमसोमै बजार…’ २००१ को ‘रेशम…’ र २००३ को ‘भेँडाको ऊनजस्तो…’सम्म आइपुग्दा बजारमा आफ्नो वर्चश्व कायमै गरेको छ ।

रञ्जीत आचार्यद्वारा लिखित र जेम्स प्रधानद्वारा संगीतबद्ध गरिएको फेरि उठ्नेछ नेपाल गीतमा आनि छोइङ डोल्मा, सुगम पोखरेल, जेम्स प्रधान, इन्दिरा जोशी, एड्रिएन प्रधान, निर्णय दा एनएसके, दीपक बज्राचार्यका साथै युवा गायकहरू रोहित जोन क्षेत्री, सोमिआ बराइली, कमल खत्री, एड्रेका साथै माइती नेपालका ८ जना युवा गायकगायिका समूहले स्वर दिएका थिए ।

यता अमरपंक्षीका लागि बलिउडका २ सफल कलाकार तथा नृत्यांगना सोनाक्षी सिन्हा र मलाइका अरोरा खान आउने पक्का भइसकेको छ । राजधानीको टुँडिखेलमा हुने कार्यक्रममा उनीहरूलाई नेपालका चर्चित नायिकाहरूले साथ दिने भएका छन् । ‘अमरपंक्षी’ कार्यक्रमका लागि नेपालका चर्चित नायिका तथा गायिकाले आफ्नो प्रस्तुति दिन लागेका बताउँदै नायिकाहरू रेखा थापा, निशा अधिकारी, सुष्मा कार्की, प्रियंका कार्की, ऋचा शर्मा र केकी अधिकारीले आफ्नो धमकेदार नृत्यले दर्शकलाई मनोरञ्जन दिनेछन् । यस्तै, मोडल साहाना बज्राचार्यले कार्यक्रम सञ्चालन गर्नेछिन् भने गायिका इन्दिरा जोशीले सुरुआतको २५ मिनेटसम्म दर्शकलाई नचाउँनेछिन् । इन्दिराले आफ्नो चर्चित गीतबाट दर्शक झुमाउने आयोजक सैनिक श्रीमती संघले जनाएको छ । यस कार्यक्रमको पनि उद्देश्य भूकम्पपीडितहरूको सहयोगार्थ भनिएको छ । जसबाट २÷३ करोड आम्दानी गर्ने र त्यो रकम भूकम्पपीडितका लागि खर्चिने आयोजकको योजना छ ।

नायिका निशा अधिकारीले टुँडिखेल मैदानमा आफ्ना लभ नम्बरमा नृत्य गर्ने बताइन् । सुष्मा कार्कीले भने आइटम नम्बरमा नृत्य गर्ने जानकारी दिइन् । नायिका रेखा थापाले भने आफूले पहिलोपटक स्टेजमा प्रस्तुति दिन लागेको भन्दै महिला सशक्तीकरणको कुरा गर्ने बताइन् । तर, यसका लागि विशेष क्यानभास तयार पारिएको र त्यसअनुसार आफूले प्रस्तुति दिने रेखाको भनाइ छ । यसपटक, नेपाली नायिकासँग ५० जना कोरस डान्सर पनि हुनेछन् । आयोजकले करिब १ करोडको खर्चमा यो कार्यक्रम गर्न लागेको बताएको छ । यस्तै, च्यारेटी कार्यक्रम भए पनि नेपाली र भारतीय कलाकारलाई टोकन रकम दिइएको आयोजकले पत्रकार सम्मेलनमा जानकारी दियो । मलाइका र सोनाक्षी ३१ वैशाख शुक्रबार नेपाल आउनेछन् । उनीहरूको १८ जनाको टिम नेपाल आउने बताइएको छ । १ जेठ दिउँसो ३ बजे टुँडिखेलको गेट खुला गरिनेछ । करिब ३ घन्टा अवधीसम्म कार्यक्रम चल्ने बताइएको छ । दर्शकले कार्यक्रम हेर्नका लागि ५ सय, १ हजार, २ हजार ५ सय, ५ हजार र ७ हजारसम्मको टिकट खरिद गर्न सक्नेछन् । करिब ६० हजार दर्शकले यो कार्यक्रम हेर्ने अनुमान आयोजकले गरेको छ । नेपाली कलाकारलाई कोरियोग्राफर रेनशा राईले कोरियोग्राफी गरिरहेकी छिन् ।

प्रतिक्रिया