काठमाडौं, २८ वैशाख । चलचित्र निर्मात्री कृषा चौलागार्इंले चलचित्र ‘पलाँस’ निर्माण गर्ने भएकी छन् । निर्माण गर्न लागेको चलचित्रमा चर्चित अभिनेत्री तथा नायिका रेखा थापा र एउटै चलचित्रबाट उदाएका कलाकार कामेश्वर चौरासियालाई लिएर चलचित्र बन्न लागेको हो ।
सिंगल थिएटरमा सर्वाधिक रुचाइएकी नायिका रेखासँग मल्टिप्लेक्समा एउटै चलचित्रबाट उदाएका कलाकार कामेश्वरको टिमअप हुने भएपछि निकैलाई यो रहस्यमयी हुने जनाइएको छ । १ जेठबाट नै छायांकनमा जान तयारी रहेको चलचित्रको ‘पलाँस’ मा दुवैको कलाकारको उपस्थितिले निकै राम्र हुन सक्ने चलचित्र वृत्तमा चर्चा रहेको छ ।
‘पलाँस’ एउटा फूल हो जुन देख्दा सुन्दर हुन्छ तर सुगन्ध दिँदैन । निर्मात्री चौलागाईंले चलचित्रको विषयवस्तु अहिले नै खुलाउन नमिल्ने बताइन् । चलचित्र ‘रेसम फिलिली’ चलेपछि कलाकार कामेश्वर चौरासियाको चर्चा खुबै भएको थियो । रेखा र उनको केमेस्ट्री कस्तो रहने भन्ने पनि खुलाइएको छैन । चलचित्रमा नायक अयुव केसी पनि मुख्य भूमिकामा देखिनेछन् । सुवास कोइरालाले निर्देशन गर्ने यो चलचित्रलाई केपी फिल्मस्को ब्यानरमा निर्माण गर्न लागिएको हो । यो ब्यानरले यसअगाडि ४ वटा चलचित्र निर्माण गरिसकेको छ ।
चलचित्रमा सुसन प्रजापतिको छायांकन, अर्जुन पोख्रेलको संगीत, सानुकुमार श्रेष्ठको एक्सन हुनेछ । चलचित्रको छायांकन वीरगञ्जमा गरिने निर्मात्री चौलागाईंले बताइन् । कृषाले भनिन् ‘नायिका रेखा थापाले अहिलेसम्म नगरेको भूमिका यो चलचित्रमा हुनेछ । अहिले हामीले कथावस्तुलाई सस्पेन्स राखेका छौँ ।’ चलचित्रका लागि कामेश्वरले पनि आफूलाई फरक गेटअपमा ढालेका छन् । चलचित्रलाई लिएर नायिका रेखा थापा पनि उत्साहित छिन् । आफ्नो ब्यानरको मात्र चलचित्र गर्दै आएकी रेखाले बाहिरी ब्यानरमा काम गर्न उत्सुकता जनाउनुको पछाडि पक्कै कथावस्तु उत्कृष्ट भएकाले हुनसक्ने अनुमान गर्न सकिन्छ ।
प्रतिक्रिया