दक्षिण कोरियाको राजधानी सहर सिओलको एक कार्यालयका श्रमिक ४६ वर्षीय सिओ कू–बोन आजभोलि गाउँतिर बसाईं सरेर नयाँ जीवन आरम्भ गर्ने सपना बुन्न थालेका छन् । गाउँमा आजीवन रोजगारी पाइने र बालबच्चालाई पनि स्वस्थ्य वातावरण प्राप्त हुने विश्वास उनको छ ।
‘मेरा स–साना २ जना केटाकेटी छन् । उनीहरूका लागि पनि मैले गाउँमा कृषि क्षेत्रमा रोजगारी पाउने आशा गरेको छु जसले दीर्घकालसम्म रोजगारी दिन सक्छ,’ सिओ भन्छन्, ‘हुन त मैले विस्तृत योजना बनाइसकेको छैन, तर म यसको तयारीमा लागिसकेको छु ।’
सिओ समेतका सयौँ व्यक्तिहरू हालै सिओलमा कोरियाली समाचार संस्था योन्हाप र कृषि मन्त्रालयले आयोजना गरेको ‘वाई–फार्म एक्स्पो २०१६’ मा अवलोकनका लागि आइपुगेका थिए । ‘भविष्यका लागि कृषि, खुसीयालीका लागि गाउँ फर्कौं’ विषय राखेर आयोजित सो प्रदर्शनीमा ७५ वटा प्रान्तीय र स्थानीय सरकारका अधिकारी र कृषकहरूले गाउँको कृषि व्यवसायका फाइदाका बारेमा सिओसमेत सिओलका अन्य निवासीहरूलाई जानकारी गराएका थिए ।
मुलुकभरका स्थानीय निकायहरू नगर क्षेत्रबाट अवकाश हुनलागेका व्यक्तिहरूलाई आकर्षित गर्न प्रदर्शनीमा विभिन्न नीति र सहुलियतसहित भेला भएका थिए । कोरियाको ग्रामीण क्षेत्रको जनसंख्यामा निरन्तर कमी आएर समस्या उत्पन्न हुँदै छ । जति बढी संख्यामा कृषक बुढ्यौलीमा प्रवेश गर्दछन् प्रान्तीय अर्थतन्त्रको वृद्धिमा त्यही अनुपातमा असर परिरहेको छ । कृषि, खाद्य तथा ग्रामीण मामिला मन्त्रालयको अध्ययनअनुसार, ग्रामीण क्षेत्रको १४ वर्षमुनिको जनसंख्या सन् १९७० मा ६२ लाख ७० हजार थियो तर त्यो घटेर सन् २०१३ मा १ लाख ९७ हजारमा आइपुगेको छ ।
दक्षिण कोरियाली फर्ममा कार्यरत जनसंख्या पनि २८ लाख ४० हजारमा खुम्चिएको छ जबकी सन् १९७० मा त्यो जनसंख्या १ करोड ४४ लाख थियो ।
विगत दशकदेखि नै एसियाकै चौथो सबैभन्दा ठूलो अर्थतन्त्र रहेको दक्षिण कोरियाको औद्योगिक विकाससँगै ठूलो संख्यामा गाउँवस्तीमा रहेबसेका मानिसहरू रोजगारीको खोजीमा सहरमा आइपुगेका हुन् । तर, केही वर्षदेखि कतिपय मानिसहरू गाउँ फर्कन थालेका छन् र यो क्रम बढ्दो छ । यसले क्षेत्रीय अर्थतन्त्रको महत्वलाई स्थापित गर्न थालेको बुझ्न सकिन्छ ।
दक्षिण कोरियाको ठूलो जनसंख्या अहिले गाउँमा खुलेका फर्ममा काम गर्न थालेका छन् । कोरिया तथ्यांक ब्युरोका अनुसार, सहरबाट गाउँतर्फ बसाइँ सर्ने घरपरिवारको संख्या सन् २०१४ मा ४४ हजार ५ सय ८६ थियो, जुन अघिल्लो वर्षको तुलनामा ३७ दशमलव ५ प्रतिशतले बढी हो । औद्योगिक क्षेत्रका विज्ञहरूको भनाइमा यो क्रम सन् १९९० को दशकबाट आरम्भ भएको हो । त्यसपछि, एसियाली आर्थिक संकटसँगै सहरी जनसंख्या गाउँतर्फ जान थालेको हो ।
दक्षिण कोरियालीको गाउँफर्क अभियान भने भिन्न किसिमको छ, किनभने उनीहरू उद्योगले उपलब्ध गराउने रकमभन्दा गाउँघरको स्वच्छ वातावरणबाट बढी नै लोभिएका हुन् । प्रान्तीय सरकारहरूले गाउँघरमा बस्न रुचाउनेहरूका लागि अनेक किसिमका सहुलियत र सुविधाहरू पनि घोषणा गरिरहेका छन् । उदाहरणका लागि, साउथ गियोङसाङ प्रोभिन्सका नगर क्षेत्रहरूले घर निर्माण र मर्मतका लागि प्रत्येक परिवारलाई ३० लाख वनदेखि ५० लाख वन (दक्षिण कारियाली मुद्रा) उपलब्ध गराइआएको छ ।
कोरियाको दक्षिणी सहर जेजुले पनि उपकरण खरिदका लागि ३० लाख वनका अतिरिक्त घर मर्मतका लागि ५० लाख वनसम्म उपलब्ध गराउँछ । कृषि मन्त्रालयका अनुसार, स्मार्ट फर्म प्रविधिको प्रयोगकर्ता स्थानीय फर्महरूको उत्पादन र नाफा क्रमशः २५ दशमलव २ प्रतिशत र ३० दशमलव ६ प्रतिशतसम्म हुने गरेको छ, जबकी कर्मचारीमा हुने खर्च ९ दशमलव ५ प्रतिशतले कमी आएको छ ।
ग्रामीण विकास प्रशासनमा कार्यरत अनुसन्धाता होङ योङ–की भन्छन्, प्रविधिमा भएका पछिल्ला विकासले खेती किसानीको कार्यमा विगतमा भन्दा कयौँ गुणा सहज बनाइदिएको छ । उनी भन्छन्, ‘हामीसँग भएको एउटा प्रविधिले नयाँ किसानलाई फर्ममा पानी, सूर्यको प्रकाश र आद्र्रताको उपयुक्त मात्रा निर्धारण गर्नेगरी तथ्यांकहरू उपलब्ध गराउँछ । हामी स्थानीय किसानबाट राम्रो उत्पादन कसरी सम्भव छ भनी तथ्यांक संकलन गर्दछौँ, र अरू किसानलाई पनि त्यही कुरा सिकाउँछौँ ।’
‘पहिलोपटक फर्ममा काम गर्न उत्सुक मानिसहरूलाई ज्ञान र सीपको अभाव हुन्छ । तर, हामीसँग भएको प्रविधिको मद्दतले उनीहरूले पानी र मलखादको उपयोगका बारेमा राम्रोसँग जानकारी प्राप्त गर्न सक्छन्’, होङ भन्छन् । स्थानीय सुपरमार्केटले पनि यो प्रदर्शनीमा भाग लिएका थिए, र उनीहरूले नयाँ किसानका उत्पादन खरिद गर्ने तत्परता देखाएर नयाँ उत्साह थपेका थिए ।
‘सम्भाव्य किसानहरूले आफूले उत्पादन गर्न चाहेका फसलका बारेमा गहिरो अध्ययन गर्नु पनि आवश्यक छ’, आलु उत्पादक कृषक महिला काङ बोराम भन्छिन् । जिओला प्रान्तकी उनले ३ वर्षदेखि निजी फर्म सञ्चालन गरिआएकी छ्न् ि।
‘मानिसहरूको सोचाई छ कि कृषि निकै सजिलो पेसा हो । अरूहरूको विचारमा कृषिमा देखापरेका समस्यालाई शारीरिक कार्यबाट समाधान गर्न सकिन्छ । यही गलत सोचाइका कारण कयौँ नयाँ किसानले नयाँ जीवन आरम्भ गर्न नसकेका हुन्,’ काङ भन्छिन्, ‘खेती किसानीको कामका लागि अझ बढी शिक्षा अपरिहार्य छ ।’ (एजेन्सी)
प्रतिक्रिया