लघुकथा : स्वप्निल प्रेम

.kiswor kc copy….स्वर्गीय आनन्द बोकेर आइन् उनी ।
कामुक भावभंगीमा प्रस्तुत नगरिकनै नामूद नायिकाहरूलाई माथ गर्ने किसिमले सुस्त बतासे चालमा आइन् उनी ।
एउटा सडकछाप केटो म । झुत्रे झामे्र पहिरनमा धन्नधन्न लाज बचाइरहेको । के थियो त्यस्तो ममा र उनी आकर्षित भइन् ?
असमञ्जस, आश्चर्यचकित र सम्मोहित भइ रहेँ म, उनको चालमा ।
मलाई नै ताकेर आइ रहेकी थिइन् उनी ।
… जीवनमा भोग्नै नपाएको एउटा अनुपम अंकमाल दिइन् उनले मलाई ।
तरंग मनमा मात्र सीमित भएन । शरीरमा पनि उठ्यो ।
अकल्पनीय त्यो घटना, अविश्वसनीय त्यो घटना आखिर घटेरै छाड्यो ।
मैले मेरो हाल बताउन चाहेँ ।
नौनी जस्ता नरम हातले मेरो मुख थुनिन् उनले । भनिन्, कोइलीको जस्तो मधुर वाणीमा, ‘कष्ट नउठाउनुस् प्रिय, म जान्दछु सबै कुरा । मैले यो सबै अन्जानमा गरेकी होइन । तपाईंले भन्न खोज्नुभएको आफ्नो अवस्था हो । मलाई थाहा छ –अवस्था स्वचालित बनेर आउँदैन ,यो त बनाइन्छ । बनाउँदा बन्ने चिजलाई तपाईं किन फिक्री लिनु हुन्छ ? त्यो त हामी अब मिलेर बनाउने हो ।’
म जस्तो अनपढले पनि छ्यांगै बुझ्ने गरी कति मीठो कुरा गरिन् उनले ।
यही कुरा भन्न चाहेँ ।
दिइनन् भन्न, थिचेर ओठ सिलिक्क परेका औँलाले ।
बुझिहालिछन् । सम्झाइन्, ‘स्कुल, कलेज र विश्वविद्यालयबाट लिइएको प्रमाणपत्र मात्र होइन शिक्षा । जिन्दगीको पाठशालामा भोगाइका कक्षाहरू चढ्दै जाँदा प्राप्त हुँदै जान्छ , असली शिक्षा ।’
आखिर यी सब कुरा स्वीकारे पनि यिनले मेरो जात स्वीकार्दिनन् । यसमा म लगभग पक्का थिएँ । समाजका अंगअंगमा गाडिएको र मै हूँ भन्नेहरूले पनि डग्मगाउन नसकेको यो जब्बर कुरीति चानचुने छँदै थिएन ।
मैले भन्नै नपाई उनले यसलाई ‘तथाकथित्’ भनिन् ।
थपिन्, ‘रंग हुन्छ , नश्ल हुन्छ , वंश हुन्छ, लिंग हुन्छ तर जात हुँदैन । यो थिएन, बीचमा बनाइएकाले यो तथाकथित् हो । मान्छे जंगलमा हुँदा जात थिएन । श्रमको विभाजन गर्दा दिइएको पहिचानलाई टाठा बाठाले जात बनाए, बढाए, बाँडे, चढाए, झारे … ।’
अरू पनि के के भनिन् । मैले यति नै बुझेँ ।
बसौँ भन्न सकिरहेको थिइनँ । कहाँ बसौँ भन्ने ? खै र मेरो घर ?
भन्नै परेन । कति छिटो बुझेर भनिन्, देखाउँदै वरिपरिका महलहरूलाई, ‘घर सधैँलाई कसैको हुँदैन । यी आवासहरूमा जो थिए हिजो ती छैनन् आज । आज जो छन् यहाँ ती हुने छैनन् भोलि । यही क्रम चलिरहन्छ, निरन्तर । घर भनेको बास हो, आश्रय । यो यात्रामा अडिनलाई चाहिन्छ , क्षणिक विश्रामका लागि । घर बसिरहनका लागि होइन, आहाल जमि रहे झैँ । हामी त नदी हुनुपर्छ , गन्तव्यतर्फ उन्मुख, बगिरहने अविरल जिन्दगी यस्तै हुनुपर्छ, बगिरहने– घुम्दै, फिर्दै र विचरण गर्दै ।’
सुरुआती पलको यति छोटो संगतमा जीवनलाई उनले कसरी चिनाइन् , छर्लंग । मलाई लाग्यो म अब मान्छे हुनेछु । आखिर मान्छेले नै मान्छेलाई साँचो अर्थमा मान्छे बनाउँदो रहेछ । म हर्षविभोर भइरहेँ ।
…तर मेरा कोपिला रहरहरू माथि तुषारापात गर्दै र धावा बोल्दै मेरा मनोकांक्षाहरू माथि, विभिन्न दिशाबाट शंकालु आवाजहरू सल्बलाउन थाले अहँ, यो त सब सपना हो । तपाईं के भन्नुहुन्छ कुन्नि, मलाई थाहा छैन । अधिकांश लालबुझक्कडहरू यसै भन्छन् ।
… तर यी कुराहरूलाई मान्न तयार नभएर, बसिरहेछु म, विपनाको पर्खाइमा ।
डुम्रेधारापानी २ खोटाङस्वप्निल प्रेम

प्रतिक्रिया