‘सल्लीपिर’मा हिमाली संस्कृति

nayanraj pandey (11)काठमाडौं, १८ वैशाख । आख्यानकार नयनराज पाण्डेको सातौँ उपन्यास ‘सल्लीपिर’ भर्खरै बजारमा आएको छ । ‘लू’, ‘उलार’, ‘घामकिरी’जस्ता उपन्यासबाट तराईको जनजीवन देखाएका पाण्डेको यो उपन्यास भने हिमाली संस्कृतीसँग जोडिएर आएको हो ।

कवि तथा निबन्धकार श्यामल र लेखक पाण्डेले नेपाल पर्यटन बोर्डमा शनिबार आयोजित कार्यक्रममा अनावरण गरेको कृतिमा ‘सल्लीपिर’मार्फत् लेखक पाण्डेले भित्री तहसम्म पुगेर हिमाली संस्कृति लेखेका छन् । विमोचनपछि कवि श्यामलले भने, ‘आउन त शेर्पाहरूको कथा नेपाली साहित्यमा आइसकेको थियो तर हिमाली सँस्कृति र जनजीवन यति गहिरोगरी आएको थिएन ।’ उनले उलारमार्फत् नेपालगञ्ज परिवेश लेख्ने लेखकले हिमाली भेकको कथा ल्याएकोमा आभारी जनाउँदै शेर्पा नेपालको गौरवको विषय भएको बताए । ‘सल्लीपिरमा फुर्वा, पेमा, दावाजस्ता चरित्रको जुन लोकविश्वास छ, त्यो लोकविश्वासमा बाँचेको जीवन नेपाली जीवन हो’, उनले भने ।

बजारमा सल्लीपिरको चर्चासँगै ‘तराईको जनजीवन लेखिरहेको लेखकले हिमाली भेकको कथा कसरी लख्यो ?’ प्रश्न सामना गरिरहनु परिरहेको बताउँदै लेखक पाण्डेले आफूले बेलायत या अमेरिकाको कुरा लेखेको नभई आफ्नै परिवारको कथा लेखेको जवाफ दिए । ‘मैले सल्लीपिरमा जुन ठाउँको कथा लेखेँ, त्यो ठाउँ मेरै छेउमा छ’, उनले भने ।

हिमाली संस्कृति उजागर गर्न मात्र सल्लीपिर नलेखेको बताउँदै पाण्डेले संस्कृतिसँगै हिमाली भेकको मुद्दालाई पनि बाहिर ल्याउनु पुस्तकको अभिप्राय भएको बताए । उनले सामाजिक मुद्दामाथि लेखिएका पुस्तक मन पराइनुलाई पाठकको स्तरबृद्धि मान्दै त्यसले लेखकमाथि दवाब बढ्दै गएको बताए ।

आफूमा पाठकबाट आएको आलोचनालाई स्विकार्ने शक्ति भएको बताउँदै उनले भने, ‘म आफू आलोचनाबाट विचलित हुन्छुजस्तो लाग्दैन । म साथीहरूसँग पनि भन्ने गर्छु, आलोचना मापसे चेक गर्ने ट्राफिकजस्तै हो । सुरुमा अप्रिय लागे पनि हितकारी नै हुन्छ । पाठक आत्मनिर्णय गर्न सक्षम हुनुहुन्छ, गहकिला सुझाव पाउँछु भन्ने अपेक्षा छ ।’ पुस्तकलाई फाइनप्रिन्टले बजारमा ल्याएको हो । पोखरा र चितवनबाट पनि पुस्तक विमोचन गर्ने कार्यक्रम राखिएको छ ।

प्रतिक्रिया