कथा : पुतली दिदी

indra copyपुतलीदिदी राती नै मरिछन् भन्ने कुराले साह्रै नरमाइलो लाग्यो त्यस दिन ।

उज्यालो भइसकेको थियो । पँधेरा हिँडेकी ठूलीभाउजूले बाटैमा रित्तो गाग्री बिसाएर बाटोमुनिको झुप्रोमा बोलाउँदा दिदी नबोलेपछि, उनैले गाउँमा हल्लाखल्ला गरेकी रहिछन् । अनि बल्ल मैले पनि सुनेँ ।

खलपत्री सेती, हेर्दै विधवाजस्ती । कपाल पनि पूरै सेता । मसिना दाँत । पातली । कुप्रिएकी । हिँड्दा पैतालाको बीच भागले भुइँ नै नछुने । मैले थाहा पाएर देख्दादेखिकै पुतली दिदीको हुलिया यही नै हो । पछिल्लो समयमा बुढ्यौलीले निकै कमजोर भएकी थिइन् । कहिले सुर्ती बेच्ने, कहिले गाउँघरका छोरीबुहारीहरूलाई भटमास बेच्ने । तिहारछेक ओखर पनि बेच्न्ने । अन्यत्रबाट ठेगेर ल्याएको तिनै सामान बेचेर दुई÷चार रुपियाँ नाफा गर्थिन् । त्यसबाट चिनी, चाउचाउ, साबुन, बिस्कुट, मसला किन्थिन्, मासु खाएको पैसा तिर्न थपथाप हुन्थ्यो । गाउँघरमा काटेको खसीको मासु, आठपोल भए पनि ल्याउनै मन हुन्थ्यो उनलाई । ग्लुकोज बिस्कुट र वाइवाई चाउचाउ उनलाई खुब मन पथ्र्यो । यी कुराहरूमा हुने खर्च जुटाउन उनलाई निकै गाह्रो थियो । गाउँमा धेरैले दिदी भन्ने गरेकाले, दशैंको टीका लाउन निकै घरहरूमा जाने गर्थिन् । त्यो पनि रित्तो हात होइन, आफूलाई मन पर्ने ग्लुकोज बिस्कुटको एकपुरिया भए पनि लिएरै जान्थिन् तर कतिपय घरले दक्षिणामा, बिस्कुटको पैसा पनि दिएनन् भन्ने गुनासो गरिरहन्थिन् ।

वृद्धभत्ता आउन थालेपछि भने उनको जीवन केही सहज बनेको थियो ।

उनले कसैको एकपैसा खाइनन् । गाउँमा उनको श्रम नखाने भने कोही पनि भएनन् । कोदो रोप्न, धान रोप्न, बीउ गोड्न, कोदो टिप्न, धान काट्न—सबैले उनैलाई बोलाउँथे । उनले रोपेको कोदो जस्तै खडेरीमा पनि मर्दैनथ्यो । उनले रोपेका धानका बेर्ना हार लाएजस्ता देखिन्थे । बीउ गोड्नुपर्दा उनी ज्यादै सफा र राम्रोसँग गोड्थिन् । कोदो टिप्दा पात नहालिकन फेदैमा । धान काट्दा धान नझारिकन बिस्तारै । सबै काममा ज्यादै पक्का, नठग्ने र राम्रोसँग गर्ने उनको बानी नै हो । कसैकसैको मेलामा बाहेक, उनी खाजाचाहिँ नखाने । उनको विचारमा के पुरुष, के महिला, प्रायः सबै गाउँका सबैजना बोक्साबोक्सी थिए । जसतसका घरमा सफासुग्घर हुँदैन, केटाकेटीले छोएको हुन्छ भन्ने पनि उनको शंका हुन्थ्यो । हाम्रो घरमा भने सफासुग्घर हुन्छ भन्ने कुरामा उनी ढुक्क थिइन् । तर, एकदिन आमाले दिनुभएको गहुँको रोटी खाएदेखि साह्रो गरी पेट दुखेकोले, हाम्री आमालाई पनि उनले, गाउँभरि नै बोक्सी भन्दै हिँडिछिन् । भन्थिन् रे ! ‘फलानीलाई त मैले त्यस्ती होलिन् भन्ने ठानेकै थिएन तर मान्छेहरू नपत्याउँदा गरी बोक्सी हुँदा रहेछन् । फलानो बिजुवाले देखेभैंm गरेरै जोखाना ल्यायो ।’

उनी आएको बेला उनीसँग बोलिदिनैपथ्र्यो । नत्र उनी रिसाउँथिन् । ‘मलाई कसैले पनि नटेर्ने …।’ प्रायः उनको गुनासो यही नै हुन्थ्यो । त्यसैले, पढ्दापढ्दैको किताब वा लेख्दालेख्दैको कलमकापी थन्कयाएर भए पनि, म उनको कुरा सुनिदिन्थेँ ।

‘नानी, यो बोक्साबोक्सीले पनि मलाई नै कति खेदो गरेका होलान् ! रातदिन तिनीहरूको निसन्तान होस् भनेर सराप्छु र पनि मलाई नै लाग्छन् । एउटाले लागो पारेको पन्छाउन नपाई अर्को लागिहाल्छ, त्यसको पन्छाइ नसत्तैm फेरि अर्को लाग्छ । यसरी खापैमाथि खाप भएर खाप्रे भएपछि धामीले पनि सक्दा रहेनछन् । यस्तै पुरानो भएर दुइटै भाइहरू खुरुखुरु गए । मलाई पनि यिनले खाने नै भए । आमाछोरी दुवैलाई रातैपिच्छे ऐंठन हुन्छ ।”

उनलाई सबैले पुतली भन्थे, आफ्नो नाम कसैकसैलाई आपैmँलाई मन नपर्ने हुन्छ । उनलाई पनि पुतली नाम पर्दैनथ्यो । कोही अल्लारे उमेरको उल्याहा केटाकेटीले बाटोमा हिँड्दै गर्दा जम्काभेट भयो भने, आफ्नो बाख्रोलाई ‘पुतली ला… ला… ’ भनेर बोलाएभैmँ गरिदिँदा, उनी रिसले भुतुक्क भएर भुतभुताउँदै हिँड्थिन् । त्योसँग कति महिनासम्म बोलचालै हुँदैनथ्यो उनको । यो थाहा पाएकोले म पनि कुरो अर्कैतिर लगेर सोध्थेँ, ‘दिदी, अनि तपाइँलाई पुतलीचाहिँ किन भनेको ? तपाईंको नामै त्यही हो कि के हो ?’ वास्तवमा मलाई उनको असली नाम थाहा पनि थिएन ।

एक्कासि उनको अनुहार बिग्रन्थ्यो । भन्थिन् ,‘मेरो नाम काँ त्यस्तो हुनु नि ! मेरो नाम त बिर्खमाया खत्री हो । सानीमा म पहेँली र धेरै राम्री थिएँ रे ! कोक्रोमा सुताइरहेको बेला बाले ए पुतली…ई ! भन्दिनुभएछ । त्यहाँदेखि अरूहरूले पनि माया गरेर पुतली पुतली भन्न थालेछन् । अहिले त सबैले मलाई पुतली भन्छन् । मलाई भने त्यसो भन्नेलाई रिसले टोकू्ँजस्तो लाग्छ ।’

उनी हाम्रोमा आउँदा खोक्तै खोक्तै आउँथिन् । सायद त्यो उनको संकेत थियो होला । आमा, ‘पुतली आई है अब’ भन्दै बसाउन ठिक्क पारेको चियामा पानी थप्नुहुन्थ्यो । हामी घरमा नभएको बेलामा पनि कक्षा ४ मा पढ्ने हाम्रो छोरो, उनीसँग निकै गफगाफ गथ्र्यो । कोही मानिस आए भने जे भएका किताबहरू फिँजाएर देखाउने र सुनाउने छोराको बानी नै थियो । त्यहीअनुसार दिदी आउँदा पनि, उनैको आज्ञा मान्दै कथाहरू सुनाउँथ्यो । उनी पालैपालो किताबका चित्रहरू हेर्थिन् । उसलाई हामीले, दिदीका अगाडि पुतली भन्ने शब्द नै नभन्नू है भन्दै सम्झाएर सचेत गराएका थियौँ । उसकी आमासँग एकदिन भन्दै थियो रे, ‘दिदीलाई कथा सुनाउँदै जाँदा पुतली लेखिएको आयो भने नि हजूरआमा, म त्यहाँनेर पढ्दिनँ, फेरि दिदीलाई मन पर्दैन नि !’

आफूलाई बोक्सी भनेको कुरा आमाले पनि कताबाट सुन्नुभएछ र दिदी आएको बेला चिया खुवाउँदै गुनासो गर्नुभएछ । त्यस दिनदेखि उल्टो उनै रिसाएर, हाम्री आमासँग दुई वर्षजति बोलिनन् । दिनको दुईपटक जति आउने मान्छे हाम्रोमा आउँदा पनि आइनन् ।

कहिलकाहीँ रुघाखोकी लाग्यो वा ज्वरो आयो भने पनि, पुतली दिदी धामीकहाँ पुगिहाल्थिन् । धामीले बेफुर्सद भएर वा झर्को मानेर धेरै बेर लाएर फुकफाक गरिदिएन भने, ‘मलाई टेरेन’ भन्थिन् । ‘फलानाकहाँ खाजा खाएदेखि पेट दुखेको दुखेकै छ… फलानाको घरबाट ल्याएको मोही खाएपछि टाउको दुखेको …। भात खाएको बेला फलानो आएको थियो, त्यहाँदेखि यो पाता सोला हानेको हानेकै छ…।’ तिनका कुराहरू यस्तै हुन्थे ।

उनको विगत मलाई पछि थाहा भएको हो, पुरेत्नीआमै र हाम्री आमाबाट । केही कुरा उनैबाट पनि ।

बिहा उनको पाँच ठाउँजति भएको रहेछ । पहिला तलुवा भएछ , त्यो लोग्ने मरेपछि सेर्ना । सेर्नाको मरेपछि च्यानडाँडा । च्यानडाँडाको पनि मरेपछि भोटेछाप । भोटेछापको भने मरेको होइन । ऊसँग झगडा परेर माइतै बसेको बेला, अकाशे मुखियाकी मुखिनीलाई माइत पु¥याइदिन जाँदा काँगेलमा उनलाई, एकजना अर्धोका लागि फकाएछन् । उनी नमानेपछि मान्छे लगाएर जबर्जस्ती गरी घरको कोठाभित्र थुनेछन् । तर, उनको त्यो पछिल्लो विवाह पनि सफल भएनछ । लोग्ने रक्सी र तासमा मस्तराम हुन थालेको धेरै सहेर पछि सहनै नसकेपछि उनी माइत आइछिन् । माइतीमा ठूली भाइबुहारी मुखाले थिइन्, सासू र आमाजूलाई देख्नै नसक्ने । कान्छा देवरभाइ अविवाहित नै थिए । आमा सुर्ती खाएर खोकिरहनुपर्ने । बूढी भएकी चेली माइतीमा बसेको, गाउँघरकाले मन नपराए पनि, उनी त्यस्तै जीवन जिउन वाध्य थिइन्—दशजनाका दशथरी कुरा सुनेर÷सहेर भए पनि । भोटेछापको लोग्नेले, पछि ल्याइएकी स्वास्नी मरेपछि, दिदीलाई कतिपटक लिन पनि आएको थियो । उता काँगेलवालाले पनि यौटी आइमाईलाई खबर भनेर बोलाइल्याउँन पठाएको थियो । तर खै, उनलाई केले रोकेर हो, अलि अलि मन भएर पनि कसैको बोलावटलाई पनि वास्ता गरिनछिन् । तिनताक भन्थिन् रे, ‘म त्यत्तिकै लुरुलुरु जान्छु र ! मलाई लिनका लागि अर्कै हिसाबले आउनुपर्छ ।’

दिदीको दुर्भाग्य, तलुवाको तर्फबाट जन्मिएकी छोरी, दश वर्षकी भइसकेर नास्पातीको रुखबाट लडेर स्वर्गवास भएकी । सेर्नाबाट बच्चाबच्ची नभएका रे । च्यानडाँडामा जन्मेको छोरो, न्वारान नै नगरी खसेको रे । भोटेछापवालाको तर्फबाट जन्मिएको छोरो पनि, पाँच वर्षको हुँदा भीरबाट लडेर मरेको रहेछ । काँगेलको तर्फबाट जन्मिएकी छोरीलाई माइतीमा सँगै लिएर आएकीमा त्यो पनि एकलगनी काम सघाउने भइसकेपछि, १२ वर्षको उमेरमा त्यत्तिकै रोगाएर खसेकी रे ! सबैतिरबाट निराश र दैवपीडित बनेपछि र माइतीमा बस्दाबस्दै, एकपछि अर्को गरी उनका दुवै भाइहरूको मृत्यु भएपछि, दुर्मुखा ठूली भाइबुहारीले ‘भाइटोकुवी’ भनेर देख्न नसकेको कुरादेखि त, पुतलीदिदीका बारेमा मलाई थाहै छ ।

पहिला दिदीका ठूलाभाइ नै खसे । खै के रोग थियो कुन्नि । पेट दुख्ने रोग भन्थे । म १३ वर्षको भइसकेको भए पनि स्कूल जाने व्यस्तताको कारण, त्यतातिर जाने आउजाउ गर्ने अनुकूल नै पर्दैनथ्यो । फेरि उनीहरूको घर पनि हाम्रो घर नजिकै थिएन, १० मिनेटजति पर, गाउँको छेउमा थियो । एकैवर्षपछि कान्छा भाइ पनि खसे, उनको पनि व्यथा पेट दुख्ने र सुन्निने भन्थे । उनलाई भने उपचारमा काठमाडौं पनि लगेर ल्याइएको थियो । त्यसपछि दिदीकी भाइबुहारीले सासू र आमाजूलाई झन् देखिसहिनन् । सासूलाई ‘छोराटोकुवी’ र आमाजुलाई ‘भाइटोकुवी’ भनेर बोलीपिच्छे नै वचन लाउने गर्थिन् । भाइको बर्खान्तपछि भाइबुहारी पनि दुई छोरा लिएर माइतीतिर लागिन् । त्यो अभागी घरमा अब, आमाछोरी मात्रै रहे ।

घर बाटोमुनि थियो । आमा सिकुवामा सुतेर, खोकेर र सुर्ती खाएर बसिरहन्थिन् । छोरीचाहिँ मौसमअनुसार कसै न कसैको मेलामा गइरहन्थिन् । बदमास केटाकेटीहरूले कहिले मक्किइसकेको छानामा ढुंगा हान्थे, कहिले आँगनतिर ढुंगा फ्याँकेर तर्साउने प्रयास गर्थे । बिचरी सुतिरहेकी बूढीआमैले के गरून् ! तान्दातान्दैको सुर्ती निभाएर नराम्रो गरी सराप्न थाल्थिन् । एकपटक दिदी अलि टाढै बनी गर्न गएकी, ५ दिनपछि मात्र फर्किन् । यता आमालाई बिमारले साह्रो पारिसकेको थियो । गाउँमा हल्लाखल्ला भए पनि कोही पनि गएनछन् रुङ्न पनि । सचिवदाइ र हाम्रा बुआ मात्रै । उज्यालो हुने बेलामा दिदीकी आमाको मृत्यु भएछ । नातिलाई काजकिरिया गर्न कर लाग्यो । आमाको १३ दिने काम सकिएपछि दिदीलाई भाइबुहारीले घर छोड्न लाएकी थिइन् । धेरैतिर पोइल गएकीले, गाउँका बुद्धिजीवीहरूले पनि उनको पक्षमा केही बोलिदिन सकेनन् ।

यसपछि भने दिदीका साँच्चैका दुःखका दिन सुरु भए । उनी जसतसले पकाएको त के, छोएको पनि नखाने । अत्यन्तै स्वाभिमानी र नाकनिके भएर पनि, उनले कसै न कसैको दयामायामा रहनैपर्ने वाध्यता भयो अब । कहिले कसकोमा कहिले कसकोमा रात बिताउने काम उनलाई चित्त नबुझ्ने भए पनि तत्काल कुनै व्यवस्था हुनै सकेन । उनी चाहन्थिन् यौटा पातीले नै बारेको भए पनि आफ्नै झुप्रो होस् । यसका लागि उनले धेरै जनासँग बिन्तीभाउ गरिन् । तर, आधाआना जग्गा दिन पनि कोही तयार भएनन् । ‘बिमारी हुँदा कसले स्याहार गर्ने ? मरेपछि त्यहाँनेर तर्साउँछ ।’ गाउँलेका कुराहरू यस्तै थिए । फेरि उनलाई बाटोमुनि होइन, बाटोमाथि नै चाहिने । पहिला बाटोमुनि घर हुँदा, छानोमा ढुंगा हानेको बिर्सेकी थिइनन् । भर्सक कसैको घरको कोठा नै, नभए पनि घरसँगै जोडेर झुप्रो बनाउने उनको चाहना थियो । बल्लतल्ल जेठी पुरेत्नीले गल्लीमुनि गिनेरीको रुखको आडैमा दिएको जग्गामा हाम्रा बुबा र काकाहरू र केही गाउँलेहरू भएर तयार गरिदिएको दिएको झुप्रोमा उनको बास हुन थाल्यो । पुरेत्नीले त्यसरी दिएको जग्गामा पनि कतिलाई त मनै परेको थिएन ।

‘पुतली त्यहाँ मरेपछि रातसाँझ यो बाटो कसरी हिँड्नु ? डर भइहाल्छ नि !’ ठूलीकान्छीको चिन्ता ।

‘मरेपछि कसरी पो त्यहाँबाट निकालेर घाट लाने होला !’ पीपलबोटे भाउजूको पीर ।

‘आ, मरेपछि त्यही घरमा आगो लाइदियो, पुतली पनि डढ्छे । घर पनि सकियो, भूत पनि भाग्यो, भइगयो नि !’ चिप्लीपुरेत्नीको समाधानपूर्ण तर्क ।

दिदी थला परेपछि हेरचाह गर्ने कोही भएनन् । खाना बनाएर खान पनि सकिनन् । गाउँलेहरूलाई मंसिरे हतार थियो । स्कूल जाने केटाकेटीलाई बोलाएर बिस्कुट र चाउचाउ ल्याइमाग्थिन् । त्यही पनि कसैकसैले मात्रै टेर्ने । नत्र जोगिएर भाग्न खोज्ने । बिहानै पँधेरा जाँदा वा बेलुका मेलाबाट फर्कंदा, कोही कोही उनलाई बोलाउँथे, ‘दिदी, तपाइँलाई कस्तो छ ?’

कसैकसैले  चिया पकाएर ल्याइदिन्थे, दिदी खानचाहिँ सक्थिन् । तर, खाएको तह लाउन नसकेर आफू सुत्ने गोडामुनि जाँतोनेर थुपारेकी थिइन् एउटा ग्यालेनको बिर्कोमा । हाम्री आमा गएर बारीको खाल्डोमा हालिदिनुभएछ । थला परेको ४ दिनपछि दिदीको खानपिन बन्द भयो । धेरैजनाले लगिदिएको बिस्कुट र चाउचाउ एक कार्टनजति भएको रहेछ । म पनि कुद्दै दिदीकहाँ पुगेँ । मान्छेहरू केही जम्मा भएका थिए । अरूलाई पनि बोलाएँ र आजको रात दिदीलाई छोड्नुहुँदैन भनेँ । साँझ पर्दै थियो । दिदीको बोली भासिइसकेको थियो । आज त यिनलाई छोड्नै हुँदैन भन्ने भनाइ धेरैको रहे पनि ८ बजेतिर सबैजना फात्तफुत्त हिँडे । हामी बाबुछोरा र पट्मेरे ठूल्दाइ मात्र रह्यौँ । दिदीको सिरानी अप्ठ्यारो थियो । बुआ र पट्मेरे दाइ भएर सिरानी तथा ओछ्यान मिलाइदिनुभयो । मैले यतैपट्टि मुख फर्काइदिनू भन्दाभन्दै भित्तापट्टि मुख फर्काइदिुभएथ्यो उहाँहरूले ।

हल्लाखल्ला सुन्नासाथ म पनि दिदीको झुप्रोतिर हानिएँ । मानिसहरू २५–३० जनाजति थिए । लास ओछ्यानैसहित बाहिर निकालेर बारीमा राखिएको थियो । चिसो मौसम भएकोले मानिसहरू भर्खर लागेको घामतिर सरिरहेका थिए । दिदीकी भाइबुहारी अघि नै सखारै आइसकेकी रहिछिन् । उनी भन्दै थिइन् ‘त्यो बाकसचाहिँ मैले खोल्न पाउनुपर्छ ।’

एकैछिनमा दिदीलाई घाटतिर चलाइयो । म पनि मलामी जाने भएँ । ‘पहिला त यो घरमा आगो लाउनुपर्छ’ चिप्लीपुरेत्नीले परिपाठ लगाइन् ।

मेरो मन भक्कानियो । कठैबरी दिदी ! सास जाने बेलामा तिमीलाई कति कष्ट भयो होला ? पानी पानी भन्यौ होली ! तिमीलाई एक तुर्को पानी चुहाइदिने मानिस पनि भएन । खरो भएको बेला हम्किदिने मान्छे पनि कोही पनि भएनन् ।

दिदीलाई बाँसमा बाँधबुँध गरेर उठाउँदै गर्दा कसैले झुप्रोमा आगो लाइदियो ।

ठ्याक्कै ८ महिना भएछ । दिदीको झुप्रोनेर तर्साउँछ भन्छन् कोही कोही भाउजूहरू । घाम अस्ताउने बेलामा, के मन लागेर आज म पनि त्यतातिर गएको थिएँ । पुतली दिदीको झुप्रोमा फर्सीको बोट लहरिइसकेछ । तर त्यो लहरा फस्टाएको पाइनँ । ती फुस्रा फुस्रा पातहरूमा मैले दिदीकै अनुहार देखेजस्तो लाग्यो ।

प्रतिक्रिया