बस दुर्घटनामा आठ घाइते

धनकुटा १७ वैशाख । धनकुटा नगरपालिका–३ पात्लेखोला नजिक शुक्रबार दिउँसो शैक्षिक भ्रमण गएर फर्कंदै गरेको बस दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । इटहरीस्थित पाथीभरा टेक्निकल कलेजबाट पाख्रीवासमा शैक्षिक अवलोकन भ्रमण सकेर इटहरी फर्कंदै गरेको ना ४ ख ७४२७ नम्बरको बस दुर्घटना भएको हो । प्रहरीका अनुसार सोही कलेजमा अध्ययनरत सीता तामाङ, पार्वती उराउ, बेन्जना खड्का, दीपिका ढुंगाना, दुलारी सदा, निर्मला भट्टराई, शशिकला सुनुवार र मनमाया तामाङ घाइते भएका हुन् । घाइतेहरूको धनकुटा जिल्ला अस्पतालमा उपचार गरिएको छ ।

ओरालो बाटोमा ब्रेक फेल भई पर्खालमा ठोकिएर बस दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरीप्रमुख सुरेन्द्र खड्काले बताए । बसमा २५ जना सवार थिए । २ दिनअघि पनि सोही स्थान नजिक जन्ती बोकेको बस दुर्घटनाहुँदा चालकको मृत्यु भएको थियो भने ९ जना घाइते भएका थिए ।

प्रतिक्रिया