तीन दिनमा १० जना नक्कली इन्जिनियर पक्राउ

काठमाडौं, १७ वैशाख । महानगरीय अपराध महाशाखाले ३ दिनमा १० जना नक्कली इन्जिनियर पक्राउ गरेको छ । प्रहरीले इन्जिनियरिङ पढेका तर फेल भएकालाई नक्कली सर्टिफिकेट बनाइदिने २ जनालाई पनि पक्राउ गरेको छ ।

पक्राउ परेका सबैले परीक्षामा फेल भएपछि नक्कली सर्टिफिकेट बनाएको स्वीकारेको महाशाखा प्रमुख एसएसपी सर्वेन्द्र खनालले बताए । ‘ब्याक लागेपछि घरकाले पनि तनाव दिन्थे, आफूलाई पनि नराम्रो लाग्थ्यो, पैसा तिरेर सर्टिफिकेट लिन पाइने भएपछि लिएका हौँ,’ उनीहरूले प्रहरीलाई दिएको बयानमा भनेका छन् । पास भएको सर्टीफिकेट लिन ५ लाख रुपैयाँ लाग्ने गरेको पक्राउ परेकालाई उदृत गदै खनालले बताए । त्यति रकममा उनीहरूले नोटरीलगायतका काम गरी इन्जिनिरिङ काउन्सिलमा दर्ता पनि गरिदिन्थे ।

पक्राउ परेकामध्ये अधिकांश चाँगुनारायणमा रहेको नेपाल इन्जिनियरिङ कलेजमा पढेका विद्यार्थी रहेको खनालले जानकारी दिए । एसएसपी खनालका अनुसार नेपाल इञ्जिनियरिङ परिषद्मा नक्कली सर्टिफिकेट लिएर इन्जिनियर बनेको गुनासो सुनिने गरिएको थियो । यसपालि प्रहरीले ‘चासो’ राखेपछि खोजी थालियो । परिषद्कै सहयोगमा प्रहरी गाबाहलसम्म पुग्यो । ‘गाबाहलमा सर्टिफिकेट प्रिन्ट हुने गरेको पत्तासँगै नक्कली प्रमाणपत्रधारी पक्राउ परे,’ खनालले भने, ‘उनीहरूको बयानमा एकपछि अर्को गर्दै फेला पर्न थाले ।’

अपराध महाशाखाका प्रहरी प्रवक्ता एसपी सहकुल थापाका अनुसार १४ वैशाखमा पक्राउ परेकामध्ये अंकित खड्का ललितपुर उपमहागनरपालिका–१८ स्थित गाबाहलमा कम्प्युटर इन्स्टिच्युट सञ्चालन गरेर नक्कली सर्टिफिकेटको प्रतिलिपि तयार गर्थे ।

सोही स्थानमा घर भएका खड्का विगत ७ वर्षदेखि इन्स्टिच्युट सञ्चालन गरिरहेका थिए । उनी कम्प्युटर डिजाइनर हुन् । उनीका सहयोगी सुबित खड्का इन्जिनियरिङ परिषद्मा सर्टिफिकेट दर्ता गर्ने काम गर्थे । एसएसपी खनालका अनुसार यी २ ले सर्टिफिकेट तयार गर्दा ५ लाख रुपैयाँसम्म लिने गरेका थिए । ‘फेल भएकाहरू यिनीहरूकहाँ ठोक्किने गरेका रहेछन् नक्कली सर्टिफिकेट बनाउन,’ खनालले भने ।

सुबित महालेखा नियन्त्रण कार्यालय अनामनगरमा कार्यालय सहयोग भएर काम गरिसकेका व्यक्ति हुन् । महाशाखाका अनुसार ०६४ सालमा उनी त्यहाँबाट निलम्बनमा परेका थिए ।

एसएसपी खनालका अनुसार यिनीहरूकहाँ आइपुग्ने व्यक्तिहरू जसले नक्कली सर्टिफिकेट पाए, उनीहरूमार्फत त्यस्तै फेल भएकाहरूको ‘कनेक्सन’ जोडियो र पढेका तर फेल भएकाहरू छ्याप्छ्याप्ती नक्कली इन्जिनियर बन्न थाले ।

महाशाखाको प्रारम्भिक अनुसन्धान अनुसार उनीहरूको इस्टिच्युटमा नेपाल आर्मीको मेडिकल रिपोर्टदेखि नाता प्रमाणीकरणसम्म हुने गरेको पाइएको छ । विभिन्न विधामा अध्ययन गरेको सर्टिफिकेट, चारित्रिक प्रमाणपत्र, माइग्रेसन, प्रहरी रिपोर्ट, वैदेशिक रोजगारीमा जाँदा प्रहरी रिपोर्ट, द्वन्द्वपीडित प्रमाणपत्रलगायत बनाउने गरेको पाइएको छ ।

महाशाखाका अनुसार पक्राउ परेका धेरैजसो भक्तपुर इन्जिनियरिङ कलेजमा अध्ययन गरेका विद्यार्थी हुन् । तिनीहरू फेल भएपछि यो धन्दामा लागेको खुल्न आएको छ । कतिपयले विभिन्न ठाउँमा करारमा जागिरसमेत खाएका छन् । लहान–१ सिरहाका मनिषकुमार यादव नक्कली सर्टिफिकेटमार्फत राष्ट्रिय खेलकुद परिषद्का जागिरे हुन् । उनी राखेपमा २ वर्षे करार अवधिमा २४ हजार रुपैयाँ तलब बुझिरहेका थिए । सीतापाइलास्थित खेलकुद भवनको डिजाइनमा पनि उनी संलग्न भएको देखिएको प्रहरी जनाएको छ ।

दीपायल–३ डोटीका हितेश सिंह विद्यार्थी हुन् । उनी २०१०–२०१४ का ब्याची हुन् । पुजनकुमार खत्री खोटाङ वाकसिला गाविस–८ का हुन् । काठमाडौं बुढानीलकण्ठ घर भएका सनत श्रेष्ठ त्यही ब्याचका विद्यार्थी हुन् । सर्लाही गडौता गाविस–२ का कृष्णकुमार झा र सप्तरी बैरवा गाविस–१ का पुष्पराज शर्मा २०१०–२०१४ का ब्याची विद्यार्थी हुन् ।

१५ गते पक्राउ परेका जनकपुर नगरपालिका– ७ का शेखर पंजियार सुबिसु केवल नेटवर्कमा जागिरे भइसकेका थिए । २००७–२०११ का विद्यार्थी उनी नक्कली सर्टीफिकेटका इन्जिनियर भएर महिनाको १५ हजार रुपैयाँ तलब बुझ्थे । काठमाडौं–६ बौद्धका सन्तोष लामा पनि जागिरे हुन् । २००६–२०१० का विद्यार्थी उनी हाज्मा प्रोजेक्टमा २८ हजार रुपैयाँ तलब खान्थे । गोरखा नगरपालिका–९ का सन्देश घिमिरे सिएमएटी कन्सल्टेन्सी कुपन्डोलमा रोड सर्भेयर भएर काम गर्थे । ०७–११ का विद्यार्थी उनी नक्कली सर्टिफिकेट बोकेर मासिक ३० हजार रुपैयाँ जागिर खान्थे । खोप्लाङ–२ गोरखाका श्रीराम आचार्य ०७–११ कै विद्यार्थी हुन् । फेल भएपछि उनले पनि नक्कली सर्टिफिकेट बनाए ।

एसएसपी खनालका अनुसार उनीहरूमाथि अनुसन्धान जारी छ । उनीहरूकै बयानका आधारमा अन्य केही नक्कली इन्जिनियरको पहिचान भइसकेको छ । ‘कनेक्सन जोडिने सबै व्यक्ति भए ठाउँ पुग्ने हाम्रो प्रयास हो,’ खनालले भने, ‘धेरै नक्कली इन्जिनियर पक्राउ पर्न सक्छन् ।’

यस्ता धेरै नक्कली इन्जिनियर भएकाले महाशाखाले मात्र नभई सम्बन्धित निकायले नै यसलाई रोक्न पहल गर्नुपर्ने एसएसपी खनालले बताउँछन् ।

प्रतिक्रिया