२९ वैशाखमा श्यामप्रसादलाई अभिनन्दन

काठमाडौं, १७ वैशाख । श्यामप्रसाद राष्ट्रिय अभिनन्दन मूल समितिले प्रगतिशील लेखक संघ(प्रलेस)का संस्थापक अध्यक्ष श्यामप्रसादको राष्ट्रिय अभिनन्दनका लागि सम्पूर्ण प्रगतिशील, जनपक्षीय तथा प्रजातान्त्रिक संघसंस्थालाई आह्वान गरेको छ ।

उनको नागरिक अभिनन्दन यही २९ वैशाखमा नेपाल प्रज्ञा–प्रतिष्ठानमा हुने भएको छ । उनी प्रज्ञा–प्रतिष्ठानका आजीवन सदस्य पनि हुन् । पशुपक्षी विकासमन्त्री शान्ता मानवी र पूर्वमन्त्री वाचस्पति देवकोटाको उपस्थितिमा श्यामप्रसाद राष्ट्रिय अभिनन्दन मूल समितिका सहअध्यक्ष हेमनाथ पौडेलका अध्यक्षतामा शुक्रबार काठमाडौंमा बसेको समितिको तेस्रो बैठकले उनको अभिनन्दनका साथै उनीबारे प्रकाशन हुने अभिनन्दन ग्रन्थका लागि लेखरचना उपलब्ध गराउन आग्रह पनि गरेको छ ।

अभिनन्दनपत्र चढाउन र समारोहमा सहभागी हुन समितिले विभिन्न संघसंस्थालाई पत्राचार गरिसकेको समितिका सदस्य सचिव डा देवी नेपालले जानकारी दिए । अभिनन्दनका लागि अर्थ संकलन, प्रचारप्रसार, ग्रन्थ प्रकाशन र स्वास्थ्योपचार उपसमितिमा क्रमशः वासुदेव अधिकारी, श्रीओम रोदन, जगत् प्रेक्षित र वाचस्पति देवकोटा रहेका छन् । ०९ सालमा श्यामप्रसाद र केही साथीहरुको पहलमा वीरगन्जमा प्रगतिशील लेखक संघको गठन गरिएको थियो ।

उनका निबन्ध, दैनिकी, गीत, कविता, बालसाहित्य तथा धर्म, अर्थ, अनुवाद आदि गरी ५७ कृति प्रकाशित छन् । उनका ‘तँ, तिमी, तपाईँ, हजुर’ निबन्ध संग्रह, ‘बहिनीलाई चिट्ठी’, ‘थुनुवाको डायरी’, ‘मेरी आमा’ कृति प्रसिद्ध छन् । अहिले हात्तीसारमा बस्दैआएका उनी नसासम्बन्धी रोगबाट पीडित छन् । उनको जन्म १९८६ साल ६ असारमा मकवानपुर, मन्थली, सोलीथुममा भएको हो ।

श्यामप्रसादमाथि प्रा धर्मराज अधिकारीले विद्यावारिधि तथा डिल्ली पाण्डेलगायतले शोध गरिसेका छन् भने नरनाथ लुइँटेलले विशेष अध्ययन अनुसन्धान र प्रकाशन तथा ‘नागार्जुन’ साहित्यिक पत्रिकाले विशेषांक निकालिसकेको छ ।

प्रतिक्रिया